अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्दा मनोवैज्ञानिक असर परेको, पठनपाठनमा समस्या भएको र व्यक्तिगत आचरण तथा व्यवहारमा अस्वभाविक परिवर्तन देखा परेको भन्दै सामाजिक सञ्जाल प्रतिबन्ध लगाइएको हो ।
अस्ट्रेलियाले लिएको निर्णय ठिक छ, अहिले सामाजिक सञ्जालका कारण बालबालिकाको समय पठनपाठनमा न्यून जान थालेको छ । श्रृजनशिलता घटेको छ । सानै उमेरदेखि सामाजिक सञ्जाल प्रयोगको लत बस्दाका बहुआयामिक असर देखिएपछि अस्ट्रेलियाले प्रतिबन्धको निर्णय लिएको हो । नेपालमा पनि सामाजिक सञ्जालका कारण बालबालिका किताबमा होइन्, मोबाइलमा समय खर्च गरिरहेका छन्, किताबमा जानुपर्ने ध्यान मोबाइलमा जाँदा उनीहरुको सिकाइ प्रक्रिया कमजोर बनेको छ ।
परिवारप्रतिको स्नेह, समाजप्रतिको जिम्मेवारीका बारेमा उनीहरुलाई चासो कम हुन थालेको छ । आत्मकेन्द्रित र एकलकाटे स्वभाव बढ्दै गएको छ । नेपालमा पनि दैनिक तीन÷चार घण्टा सामाजिक सञ्जालमा बिताउने बालबालिका अत्याधिक छन् । लामो समय सामाजिक सञ्जालमा समय बिताउने बालबालिका र न्यून समय बिताउने बालबालिकाको तुलना गरेर हे¥यौं भने लामो समय सामाजिक सञ्जालमा बिताउने बालबालिकाका आनीबानी र स्वभाव अस्वभाविक देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
नेपालसहित अरु मुलुकमा पनि सामाजिक सञ्जालको नियमन गर्न आवश्यक रहेको छ । यो बेला अस्ट्रेलियाको अनुभव हामीलाई काम लाग्न सक्छ । सामाजिक सञ्जाल बन्द वा नियन्त्रणभन्दा नियमन नगर्दा समाज छाडा बन्दै गएको छ । गलत र अतिरञ्जित सूचना प्रवाहले समाज भाँडिएको छ । व्यक्तिको प्रतिष्ठामा आँच पुगेको छ ।
अस्ट्रेलियामा धेरै मानिसले संघीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयले गरेको एक सर्वेक्षणअनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८-२४ वर्षका युवामा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बिच ८० प्रतिशत र ६५ वर्ष माथिका समूहमा ८७ प्रतिशत पुगेको छ । समर्थकले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पु¥याउने आरोप लगाएका छन् । नेपालमा सामाजिक सञ्जालमा कडाई गर्नुपर्ने मत बलियो छ, तर सामाजिक सञ्जाललाई नियमित गर्न खोज्दा बन्द गर्न खोज्यो भन्ने भाष्य खडा गरेर सरकार विरोधी क्रियाकलाप भए । भदौ २३ को जेनजी आन्दोलनको एउटा कारण सामाजिक सञ्जाल निर्वाध खोल्नुपर्छ भन्ने थियो । अब सामाजिक सञ्जाल निर्वाध खोल्ने होइन्, नियमनका लागि पहलकदमी लिनुपर्छ । समाजमा गलत सूचनाले निम्त्याउने जोखिमलाई बेलैमा हेक्का नराख्ने हो भने सामाजिक सञ्जालले समाजलाई झनै अराजक बनाउने छ ।




