बुटवल । लायन्स क्लब अफ बुटवल क्षितिज र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–स्थित बडिगाड आधारभूत अस्पतालमा यही मंसिर २७ गते बृहद् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल तथा मायादेवी ब्रेस्ट क्यान्सर सेन्टर, बुटवलका वरिष्ठ स्तन क्यान्सर शल्य चिकित्सक डा. सञ्जय पाण्डे, श्रीषा डेन्टल केयर, बुटवलका दन्त चिकित्सक डा. श्रीप्रसाद खरेल, देवदह मेडिकल कलेजका आवासीय मनोचिकित्सक डा. उज्जवल चौलागाई, पाल्पा जिल्ला अस्पतालका मेडिकल अफिसर डा. अरुण ज्ञवाली शर्मा, बडिगाड आधारभूत अस्पताल प्रमुख डा. एलिजा अर्याल लगायत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो।

शिविरमा ४४७ जना बिरामीले स्तन क्यान्सर परामर्श, मानसिक रोग तथा नसा सम्बन्धी उपचार, सामान्य स्वास्थ्य परीक्षण, फोक्सोको जाँच तथा दाँत सम्बन्धी चेकजाँच र परामर्श सेवा प्राप्त गरेका थिए। सो अवसरमा करिब १५ लाख रुपैयाँ बराबरका विभिन्न औषधि बिरामीहरूलाई निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
सेवाग्राहीमध्ये ८० जनाले स्तन क्यान्सर परामर्श सेवा लिएका थिए भने १०४ जनाको दाँत परीक्षण गर्दा ६० जनाको दाँत निकाल्ने कार्य गरिएको थियो।
कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष एमजेएफ लायन डा. प्रसाद खरेल, प्रमुख अतिथि बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, आधारभूत अस्पताल प्रमुख डा. एलिजा अर्याल तथा कार्यक्रम संयोजक एवं लायन्स क्लब अफ बुटवल क्षितिजका पूर्वअध्यक्ष लायन ध्रुव कुमार शर्माले शिविरको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भिमसेन बन, वडा नं. ५ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्य, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेल, रेडक्रस सोसाइटी ग्वालीचौर उपशाखा प्रमुख कृष्ण बहादुर घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीका डिस्ट्रिक्ट एडभाइजर लायन शंकर पाण्डे, रिजन चियरपर्सन लायन लोकेन्द्र लिम्बु, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्र प्रताप के.सी., रेडक्रस सोसाइटी ग्वालीचौर उपशाखा सचिव सागर खरेल, लायन्स क्लब अफ बुटवल क्षितिजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शिविरमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।




