नियमित मर्मत सम्भारका लागि केबलकार दुई दिन बन्द हुने कम्पनीका अप्रेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।
बुटवल । नियमित मर्मत सम्भारका लागि लुम्बिनी केबलकार पुस २ र ३ गते दुई दिन बन्द हुने भएको छ ।
केबलकार कम्पनीले एक सूचना जारी गर्दै पुस २ र ३ गते केबलकार सञ्चालन नहुने सर्वसाधारणमा जानकारी गराएको हो । हरेक ४–४ महिनामा मर्मत सम्भार गर्नुपर्ने तालिका अनुसार मर्मत सम्भारका लागि दुई दिन केबलकार बन्द रहने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।
‘‘केही समस्या भएर वा बिग्रेर नभई विश्वविख्यात अष्ट्रियन कम्पनी डुपलमायरको नियम अनुसार केबलकारलाई नियमित मर्मतसम्भार गरी पूर्णतया सुरक्षित बनाउन तालिकामा तलमाथि नगरी मर्मत गर्ने गरेका छौं’–अपरेसन म्याजेनर कायस्थले बताए । पुस ४ गते बिहान ९ बजेबाट केबलकार पुर्ववतरुपमा सुचारु हुने कम्पनीले जनाएको छ ।
आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको लगानीमा निर्माण भई २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केवलकार हो । सय वर्ष पुरानो इतिहास भएको विश्वविख्यात डुपलमायर कम्पनीबाट निर्मित अत्याधुनिक प्रविधिका केबलकार विश्वका विभिन्न देशमा १५ हजार बढी संख्यामा सञ्चालनमा छन् ।
डुपलमायरले यात्रुको सुरक्षालाई सधैं पहिलो प्राथमिकतामा राखेर आफ्ना केबलकार चलेका कम्पनीहरुलाई मर्मत सम्भारको समय तालिकामा कुनै सम्झौता नगर्न निरन्तर निगरानी र निर्देशन गर्दछ ।




