२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘रिब्दीकोटको पर्यटन, पूर्वाधार र कृषिमा राम्रो लगानी छ’

‘रिब्दीकोटको पर्यटन, पूर्वाधार र कृषिमा राम्रो लगानी छ’

‘रिब्दीकोटको पर्यटन, पूर्वाधार र कृषिमा राम्रो लगानी छ’

‘रिब्दीकोटको पर्यटन, पूर्वाधार र कृषिमा राम्रो लगानी छ’

‘रिब्दीकोटको पर्यटन, पूर्वाधार र कृषिमा राम्रो लगानी छ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • २०७९ बैशाख ३० गते भएको स्थानीयतह निर्वाचनमा निर्वाचित भएका पालिकाका अध्यक्षहरुको अब १६ महिना कार्यकाल बाँकी रहेको छ । पालिका अध्यक्षहरुले निर्वाचित भएको चार वर्षको सेरोफेरोमा कतै राम्रा गरेका छन्, त कतै आलोचित भएका छन् । रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायणबहादुर कार्कीसँग गाउँपालिकाको विकास निर्माणका विषयमा केन्द्रित रहेर लुम्बिनीकर्मी कृष्ण पोखरेलले कुराकानी गरेका छन् । 

    कार्यकाल ४ वर्ष पुग्न लाग्यो, घोषणपत्रका प्रतिबद्धताअनुसार काम भएका छन् ? 
    निर्वाचनमा  जनतासंग गरेको प्रतिबद्धताअनुसार नै काम गर्दै आएका छौँ । म निर्वाचित भएपछि कृषि, पर्यटन र यातायातको क्षेत्रमा प्राथमिकता दिएर, घोषणापत्र अनुसार काम गर्दै आएका छु ।  फेक, ख्याहा र ठिमुरे वडामा हामी निर्वाचित भएपछि १२ महिना यातायात सञ्चालन हुने गरी सडक स्तर उन्नति भएको छ ।  पालिकाको केन्द्रदेखि ८ वटै वडा कार्यालयसम्म १२ महिना यातायात सञ्चालन हुने गरी सडक स्तरउन्नति भएका छन् । वडा नं. ५ कुसुमखोला  वडा कार्यालय नयाँ निर्माण भएको छ ।  अन्य ७ वटै वडा कार्यालयहरु भौतिक रुपमा सम्पन्न रहेका छन् । हार्थाेकदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म  र  पालिका केन्द्रसम्म जाने सडक पिच गरिएको छ । 


    प्याराफिटसहितको  वडा नं. २ मा पालिकास्तरीय कोहल खेलमैदान निर्माण भएको छ ।  जलेश्वर क्षेत्र नयाँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । जलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा शिवरात्रिको अवसरमा शिव पुराणको आयोजना गरेका छौँ । नयाँ साहसिक पयर्टक गन्तव्यको रुपमा ख्याहाको लिस्ने भिर सेल्फी डाँडाको विकास भएको छ । बतासे हुँदै कचल जोड्ने नयाँ सडक निर्माण भएको छ । कालीकागढी गुराँसे डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेका छौँ । धुस्टुङ्ग, रिङसिङ डाँडालाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा  विकास भएको छ । 


    पालिकामा जनताको आयस्तर बढाउने गरी के काम गर्नुभएको छ ? 
    पालिकाले पर्यटन, पूर्वाधार र कृषि क्षेत्रमा राम्रो लगानी गरेको छ । लगानीअनुसारको  उपलब्धि हासिल भएको छ । अघिल्लो सरकारले बनाएको कृषि गोरेटोलाई हामीले राजमार्गको रुपमा विस्तार गरेका छौं । अकबरे खुर्सानी, सुन्तला तथा तरकारी खेती, बाँझो जग्गा प्रयोगले रिब्दीकोटवासीको आय आर्जनमा वृद्धि भएको छ । 


    चालु आर्थिक वर्षदेखि पालिका भरी नै आयआर्जन बढाउन एक बोट सयको नोट अभियान सुरु गरेका छाँै । पालिकाभरी नै फलफूल र जडीबुटीको बगैंचा बनाउने वृहत् अभियान थालेका छौँ । पालिकाभित्र साविकका ७२ वटा वडालाई टोलमा रुपान्तरण गरेर, जहाँ जे  उत्पादन हुन्छ, त्यसैको बगैंचा निर्माण गर्ने र जडीबुटी र फलफूल उत्पादन वृद्धि गर्ने अभियान  पालिकाले सुरु गरेको छ ।  जसले जति सुकै धेरै बिरुवा लगाए पनि हुन्छ, बिरुवा गनेर प्रति बिरुवा एक  सय रुपैयाँ पालिकाले अनुदान दिन्छ ।  बगैंचाको बिरुवाको लागि कृषकले ४ वर्ष निरन्तर पालिकाबाट अनुदान पाउने व्यवस्था गरेका छौं । जसले गर्दा पालिकाभित्र बाँझा रहेका खेतबारी, खरबारी, सार्वजनिक तथा सामुदायिक जग्गामा फलफूल र जडीबुटीको बगंैचा निर्माण गरेर रिब्दीकोटलाई समृद्ध बनाउने अभियानमा लागेका छांै । जसले गर्दा उत्पादन वृद्धि हुने र कृषकको आयआर्जनमा सुधार हुनेछ । यो कार्यक्रमको लागि पालिकाले चालु आ.व मा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले माटो परीक्षण गरेर कृषकहरुलाई बाली बिरुवाको बारेमा सुझाव समेत दिएको छ । माटो परीक्षणको आधारमा पालिकाले सबैभन्दा उपयुक्त भएको  बालीनाली फलफूल र जडीबुटीलाई  सिफारिस गर्ने व्यवस्था पालिकाले मिलाएको छ । 


    पालिकाभित्र  कृषि उत्पादनको अवस्था कस्तो छ ?
    हामी निर्वाचित भएर आएपछि पालिकाबाट बाहिरी क्षेत्रमा बिक्री हुँदै आएको परिणाम र मूल्यको तथ्याङ्क राख्ने व्यवस्था सुरु ग¥यौ । जसबाट पालिकाबाट के–कती मात्रामा कृषि उत्पादन बाहिर निर्यात हुने गरेको छ भन्ने विवरण नीति नियम तथा कार्यक्रम बनाउन सजिलो भएको छ । हामी  निर्वाचित भएर आएको अर्काे वर्ष २३ करोड ६० लाख रुपैयाँको कृषि उत्पादन बिक्री भएको थियो भने अर्काे वर्ष ३१ करोड ४ लाख र  गत वर्ष ४० करोड रुपैयाँको कृषि उत्पादन बिक्री भएको छ । यो रेकर्ड  ५० लाख  रुपैयाँभन्दा माथिको हो । गाउँपालिकाले कृषि उत्पादन बिक्री दर १ अर्ब पु¥याउने लक्ष्यका साथ काम गर्दै आएको छ । 


    रिब्दीकोट भित्र कृषि तथा पशुपालन क्षेत्रमा  ८ घण्टा काम गर्दा मासिक २५ हजार रुपैयाँ कमाउने वातावरण पालिकाले दिएको छ । कृषि उत्पादनमा महिला जनशक्तिको  ठुलो आकर्षण रहेको छ । महिलाहरु कृषि उत्पादन, पशुपालन तथा फलफूल क्षेत्रमा निरन्तर लागेका छन् । हाल २५ हजार मासिक आम्दानी गर्ने कृषकले एक बोट सयको नोट कार्यक्रममा सहभागी भएर काम गरेमा मासिक १ लाख रुपैयाँ कमाउने वातावरण पालिकाले मिलाउँदै गएको छ । वडा नं. ५ को सइटोला, वडा नं. ७ को मैनादीका अधिकांश नागरिका अधिकांश समय बुटवल क्षेत्रमा बसी कारोबार गर्ने गरेका छन,  तर वर्षमा तीन, चार पटक गाउँमा आएर सुन्तला लगाउँदा वार्षिक १८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्, त्यसैले पनि बगैंचा कार्यक्रम बनाउन खोजिएको हो । विभिन्न पालिकाबाट कृषि उत्पादनको सिको गर्न  रिब्दीकोटमा कृषि भ्रमण समेत आउने गरेका छन्, जसले गर्दा रिब्दीकोटमा कृषि पर्यटन विस्तार भएको छ  । कृषि क्षेत्रमा मैले घोषणपत्रमा गरेको प्रतिवद्धता अनुसार नै काम भएको छ । 


    घोषणपत्र अनुसार शिक्षा क्षेत्रमा  के–कस्तो काम गर्नुभयो ?
    शिक्षा क्षेत्रमा सोंचे अनुरुप काम गर्न निरन्तर लागेको छु, तर पूर्ण सफलता पाउन सकेको छैन ।  हामीले बुटवल, तानसेनलगायत बाहिरी क्षेत्र बाट समेत पढ्न आउने वातावरण सहितको विग स्कुलको कन्सेप्ट ल्याएका थियौं, बजेट पनि विनियोजन गरेका थियौं, तर जनतामा बुझाइको कमी, विभिन्न प्राविधिक कठिनाइ तथा अवरोधका कारण काम गर्न सकिएको छैन ।  गुणस्तरीय शिक्षाको नाममा भइरहेको बसाईसराइ रोक्न प्रयास गरेका छौं । हामी निर्वाचित भएर आउँदा शिक्षाको गुणस्तर सिकाइ उपलब्धि २० प्रतिशत मात्र थियो,  तर अहिले हामीले बढाएर ५८ प्रतिशतसम्म  पु¥याएका छौं ।  शिक्षामा गुणस्तर सुधारको लागि पालिकाले प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता समेत गरेको छ । 


    पालिकामा स्वास्थ्य क्षेत्रमा  के–कस्ता काम भएका छन् ?
    स्वास्थ्य क्षेत्रमा संघीय सरकार, प्रदेश सरकारले दिएका सबै प्रोटोकल पुरा गरेका छौं । जसको कारण पालिकाको स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको छ । समय–समयमा पालिकाभित्र विशेषज्ञ सेवा सञ्चालन गरेका छौं ।  पालिकामा निःशुल्क आँखा चेकजाँच कार्यक्रम सञ्चालन गरी सबै जनतालाई सेवा दियौ । जसमा रिब्दीकोटका ११ हजार जनाले निःशुल्क आँखा परीक्षण गरेका छन् । यो वर्ष निःशुल्क दाँत उपचार सेवा सञ्चालन गर्दैछौं । विगतमा महिलाको  पाठेघरमुखको क्यान्सर परीक्षण गरेका थियौं । यी सबै कार्यक्रम पालिकाले निःशुल्क रुपमा सञ्चालन गरेको हो । पालिकाको  ११ स्थानबाट दिएको स्वास्थ्य सेवा अहिले १५ स्थानबाट सञ्चालन हुँदै आएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र खस्यौलीलाई नेपाल भरीकै राम्रो प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा बनाउन सफल भएका छांै । 


    पालिकाले आन्तरिक रुपमा बजेट विनियोजन गरेर नेपाल सरकारको लिष्टमा नभएका  औषधि, ल्याव, थाइराइड सेवा,  भिडियो एक्सरे, सुगर, व्लड प्रेशर जाँच जस्ता कार्यक्रम नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । पालिकाको सबै स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध छ भने, प्राथमिक स्वास्थ्य केन्द खस्यौली, कुसुमखोला स्वास्थ्य चौकी र पालुङ मैनादी स्वास्थ्य चौकीमा  ल्यावसहित २४ घण्टे सेवा उपलब्ध छ । पालिकाभित्र ३ वटा एम्बुलेन्सबाट सुत्केरी महिला र वृद्ध वृद्धालाई निःशुल्क सेवा रहेको छ ।

     
    पालिकामा सुशासनको अवस्था कस्तो छ ?
    विगतमा एउटा गाउँसभा सम्पन्न गर्न १५ लाख रुपैयाँसम्म खर्च हुँदै आएकोमा अहिले ५ देखि ६ लाख रुपैयाँसम्म गाउँसभा सम्पन्न हुने गरेको छ । फजुल खर्च कटौती तथा सेवा प्रवाहमा प्राथमिकता दिएर काम भएको छ । नागरिकले पालिका तथा वडा कार्यालयमा आउने बित्तिकै सेवा पाउनु पर्ने, सेवा नपाएको खण्डमा के कारणले नभएको हो तत्काल जानकारी दिनुपर्ने व्यवस्था मिलाएको छ । उपभोक्ताहरुलाई विभिन्न तालिमहरु प्रदान गरी भएका योजना गुणस्तरीय बनाउन ध्यान दिएका छौं । डिजिटल सिफारिस, घरमै बसेर कर तथा राजस्व बुझाउन मिल्ने, गरी सेवा दिएका छौं । यस क्षेत्रमै पहिलो  आइएसओ सर्टिफाइड पालिका रिब्दीकोटलाई बनाएका छौं । अव हामीले घर–घर बाटै पालिका तथा वडाको सेवा लिन सकिन्छ भनेर प्रचार तथा जानकारी गराउने अभियान आइटी शेक्टरबाट सुरु गर्दैछौं । 


    निर्वाचित भएपछि म बनाउँछु मेरो रिब्दीकोट अभियान थाल्नु भएको थियो । अहिले अभियान त सेलाएको हो ?
    म बनाउँछु मेरो रिव्दीकोट अभियानले सुरु सुरुका समयमा पालिकाभित्र स्वतःस्फुर्त रुपमा मानिसहरु निकै सक्रिय भएर सहभागी भए । करीव दुई वर्षसम्म यो अभियानबाट राम्रै काम भए । बाटो, घाटो सरसफाइ देखि कार्यालयहरुको सरसफाइ यही अभियानअन्तरगत भए । मानिसमा निकै उत्साह पनि देखियो । हार्थाेक बतासे सडकमा खाल्टा खुल्टी पुर्नेदेखि बतासेमा विशेषज्ञसहितको स्वास्थ्य शिविर, नियमित रुपमा पालिकाभित्रका कार्यालयहरुको सरसफाइ जस्ता कार्यक्रम म बनाउँछु मेरो रिब्दीकोट व्यानरमै पालिकाको खर्च विना निःशुल्क रुपमा भए । पछिल्लो समय  निःशुल्क सामाजिक सेवामा जनताको पर्याप्त साथ पाउन सकिएको छैन  । खासगरी निर्वाचित जनप्रतिनिधिले काम गर्न चाहे पनि स्थानीय सत्ता, टोल टोलका सत्ताबाट पर्याप्त सहयोग नपाउँदा म बनाउँछु मेरो रिब्दीकोट अभियान आंशिक रुपमा मात्र सफल भयो । अहिले वडा र पालिकामा महिना एक पटक हुँदै आएको छ । यो अभियान पालिकालाई नै राम्रो बनाउने अभियान हो । यसमा सबैले साथ दिनु पर्दछ । मेरो रिब्दीकोट, मेरा गर्व, मेरो स्वर्ग, । खनौ आफ्नो माटो, छाडौ विदेशको बाटो जस्ता अभियान पालिका सञ्चालन हुँदै आएका छन् । यस्ता अभियानलाई सफल बनाउँदा, पालिका नै सफल हुन्छ । 


    यस्ता राम्रा अभियाना तपाईको कार्यकाल सकिएपछि  हराएर जान्छन् होला ?
    संस्था तथा सरकारमा व्यक्तिहरु आउने जाने भइरहन्छ, तर सरकार निरन्तर चलिरहन्छ, त्यसैले हामीले अघिल्लो सरकारले सञ्चालन गरेका राम्रा कामहरुलाई फ्लोअप गर्र्दै कार्यान्वयन गर्दै आएका छौं । यसैगरी मैले सञ्चालन गरेका राम्रा कामहरु आउने सरकारले निरन्तरता दिनुपर्दछ । तब मात्र जनताले दिगो विकास पाउने छन् । अकबरे खुर्सानी अघिल्लो सरकारले गरेको भए पनि हामीले निरन्तरता दियौ, तर हामीले पहल गरेर  गत वर्ष २२० रुपैयाँ मूल्य कायम गराएर किसानहरुमा उत्साह जगायांै ।  किसान उत्साहित भएर अहिले पालिका भरी अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दै आएका छन् । हामीले हेटौडा पुगेर गुणस्तरीय बिउ ल्याई खुर्सानी नर्सरी बनाएर ५० प्रतिशत अनुदानमा वितरण गरेका  थियौं । अकबरे खुर्सानीले कृषकको राम्रो आम्दानी बढेपछि अहिले स्वतःस्फूर्त रुपमा खुर्सानी खेती कृषकको उत्साह वृद्धि भएको छ । 


    पालिकाभित्र बाँझा जग्गाको व्यवस्थापन कसरी गर्नु भएको छ ?
    पालिका बाँझो जमिन व्यवस्थापनमा लागिपरेको छ । बाँझा रहेका जग्गा जमिन पालिकाले १५ वर्षे लिजमा लिने र उक्त स्थानमा कृषि तथा पशु फार्म सञ्चालन गर्ने योजना पालिकाको रहेको छ । त्यसको लागि बाँझो जग्गा जमिन अवस्था संकलनको काम भइरहेको छ । पालिकाले कार्यविधि बनाएर नीति गत निर्णय नै गरेर बाँझो जग्गा संकलन अभियानमा लागेको छ । हामी आएपछि ८ सय रोपनी बाँझो जग्गामा खेती गर्न सफल भएका छांै । बाँझो बारी प्रयोगमा आए पनि खरबारी, पुराना खरिया, खेतहरु अझै अधिकांश स्थानमा बाँझा रहेको ती जग्गा हरु अझैं पनि प्रयोगमा ल्याउन सकिएको छैन । एक बोट सयको नोट अभियानबाट बाँझो जमिन प्रयोगमा ल्याउन सकिनेमा पालिका विश्वस्त रहेको छ । 


    पालिकाले दिएको अनुदानले कृषि पशुपालनमा के–कस्तो प्रभाव परेको छ ?
    अहिले पालिकाले दूधमा प्रतिलिटर ३ रुपैयाँ, यान्त्रीकरणमा ५० प्रतिशत, घरयासी क्षेत्रमा प्रयोग हुने कुटानी पिसानीको लागि ५० प्रतिशत अनुदान, पालिकाभित्र गोरु पाल्ने किसानहरुलाई ५ हजारसम्मको अनुदान, ५० प्रतिशत रकममा आलु, गहँु, र धानको बिउ वितरण भएको छ । प्रशस्त अनुदान दिँदा पनि कृषि पशुपालनमा अझैं पनि युवाको आकर्षण बढेको छैन । मिनि टिलर, बंगुर, बाख्रा, भैंसीमा पनि अनुदान सहयोग गर्दै आएका छौं । पालिकाले बेमौसमी तरकारी खेतीको लागि टनेल निर्माण अभियान चलाएको छ । टनेल निर्माणमा पालिकाले ७० प्रतिशत अनुदान दिएको छ । १७८ वटा स्थायी प्रकतिका टनेल निर्माण गरेका छौं, एउटा टनेल बनाउँदा रु १ लाख रुपैयाँ खर्च हुने गरेको छ । २ सय वटा अस्थायी टनेल निर्माण भएको छ । कृषि क्षेत्रमा पालिकाले देखिने गरी नै परिवर्तन गरेको छ । टनेलभित्र टमाटर, लहरे तरकारी राम्रोसँग फल देखिएको छ । किसानले आवश्यकता अनुसार मागेकोमा पालिकाले सहयोग गर्दै आएको छ । कृषि अनुदानले कृषि उत्पादनमा उत्साह बढाएको छ भने उत्पादनको तथ्याङ्क संकलन गर्न सजिलो भएको छ । 


    अहिले जताततै रासायनिक मल र विषादीको बिगबिगी छ, जसको कारण नसर्ने रोगको वृद्धि भएको छ । यसको  व्यवस्थापन कसरी गर्नु भएको छ ? 
    पालिकाले अर्गानिक उत्पादनमा बढी ध्यान लगाएको छ भने हरेक क्षेत्रको उत्पादन  अर्गानिक बनाउन लागेको छ । पालिकाले वडा नं. ५  जलेश्वरमा जैविक मल उत्पादन कारखाना नै सञ्चालन गरेको छ । उत्पादित मललाई पालिकाभित्रका कृषकहरुलाई पहिलो प्राथमिकतामा राखेर बिक्री गर्दै आएका छौं । 


    के रिब्दीकोटवासीले खानेपानीको सहज सुविधा पाएका छन् ?
    पालिकामा ९६ प्रतिशत जनताले खानेपानीको सुविधा पाएका छन् । लिप्mट र ग्रावेटी फ्लोको आधारमा एक घर एक धारा कार्यक्रम अधिकांश गाउँबस्तीमा पुगेको छ ।  म निर्वाचित भएर आएपछि लिफ्टिङ् खानेपानी ८ वटा खानेपानी योजना सम्पन्न भएका छन् । 


    पालिकाभित्रका कृषकलाई सिँचाइको सुविधा कस्तो छ ?
    सिँचाइ पाइप  पालिकाले  कृषकको आवश्यकता, माग र चाहानाअनुसार वितरण गर्दै आएको छ । गाउँपालिकाको  अधिकांश क्षेत्र पखेरो क्षेत्र भएकोले सोंचेअनुसारको सिँचाइमा  परिवर्तन आएको छैन । पछिल्लो समय पानीका मुहान र श्रोतहरु सुक्दै गएका छन् । हाल वडा नंं. ७ मा ठुलो लगानीमा सिँचाइ योजना बनेको छ । किसानहरुलाई लिफ्ट प्रणालीलाई  सिँचाइ महँगो परेको छ । खेतबारीमा लाग्ने परम्परागत कुलालाई पक्की गर्ने काम भएका छन् । 


    पालिकाको आन्तरिक आम्दानीको अवस्था के छ ?
    पालिकामा नदीजन्य उत्पादनलगायतका संरचना नभएकोले करको दायरा फराकिलो बनाइएको छ । करको दायरा फराकिलो गरिएकोले विगतमा भन्दा राम्रो आम्दानी भएको छ । हामी आउँदा आन्तरिक आम्दानी ४९ लाख थियो भने हाल ९३ लाख रुपैयाँ संकलन गर्न सफल भएका छौं । संभाव्य अध्ययन गरेर कुन–कुन क्षेत्रबाट आम्दानी बढाउन सकिन्छ भनेर छलफल गरी नीति कार्यक्रम बनाएर कार्यान्वयन गरेका छौं ।  एक ट्याक्टर ढुंगाको आम्दानी रु ६ सय रुपैयाँ तोकिएको छ, जसबाट पनि राम्रो आम्दानी भएको छ । भैरवस्थान पार्किङ्बाट राम्रो आम्दानी गर्न सफल भएका छौं । संघ, प्रदेशसँग कानुन नहुने, हामीले  बनाएको राष्ट्रिय प्रकृतिको रिब्दीकोट उद्योग विकास प्राधिकरण सञ्चालन गर्न दिएको खण्डमा पालिकाको कायापलट हुने गरी  राम्रो आम्दानी हुने अवस्था रहेको छ । 


    रिब्दीकोटमा आएर लगानी गर्ने लगानीकर्ताको लागि पालिकाले कस्तो नीति लिएको छ ? 
    रिब्दीकोटमा कृषि, पर्यटन तथा पशुपालनमै लगानी गर्दा लगानीकर्ताले उचित प्रतिफल पाउन सक्ने वातावरण निर्माण भएको छ । हामीले कृपया नीति लिएर काम गरेका छौं । कृषि, पर्यटन र यातायात । लगानीकर्ताले पालिकाभित्र कुनै ठुलो होटल रिसोर्ट खोल्न चाहाना भए बाटो, खानेपानीको सुविधा उपलब्ध गराउने, कृषि फार्मको लागि १०० रोपनीसम्म एउटै प्लटको जग्गा व्यवस्थापन गरिदिने व्यवस्था रहेको छ  । 


    १६ महिनाको कार्यकाल बाँकी रहँदा सोंचेका कामहरु पूरा गर्न के के बाँकी छन् ? कस्तो अवस्थामा आउने जनप्रतिनिधिलाई रिब्दीकोट हस्तान्तरण गर्नुहुन्छ ?
    सबैभन्दा चुनौती भनेकै  पालिकाबाट बसाईसराइ रोक्नु नै रहेको छ । गाउँबस्तिमा कृषि पशुपालन क्षेत्रबाट राम्रो आम्दानी भए पनि बसाईसराइ रोक्न सकिएको छैन । बिग स्कुल कन्सेप्ट पूर्णरुपमा कार्यान्वयन गर्न सकिएको छैन ।  गाउँपालिकाभित्रको उत्पादन तथा खानपानलाई पूर्णरुपमा अर्गानिक बनाउन सकिएको छैन । अहिले रिब्दीकोटमा जग्गा किनबेच रोकिएको छ । तर स्थाई प्रकृतिको मानिसको बसाई रोक्न सकिएको छैन । बाँझो जग्गादेखि सार्वजनिक जग्गामा खेतीपातिको अभियानामा लागेको छौं । पालिकाभित्र धैरै स्थान पर्यटकीय स्थलहरु छन्, अधिकांश स्थानबाट हिमालहरु देखिन्छ । कम्तीमा पनि दुई÷तीन वटा फाइभ स्टार होटल सञ्चालन गर्नको लागि पहल गरेका छौं । पर्यटकको लागि  धुष्टुङ्ग, कालीकागढी, लघुवा, ख्याहा, खस्यौली, भैरवस्थान जस्ता स्थानमा निकै उपयुक्त रहेका छन् । बुटवलबाट ४५ मिनेटमा रिब्दीकोट आउने गरी सडक पूर्वाधार तयार हँुदै गएको छ । 


    तपार्इंको बुझाइमा विकास भनेको के हो ?
    विकास भनेकै सकारात्मक सोंच हो । जनता, नेता, कर्मचारी सबैको हरेक कामप्रति सकारात्म सोंच र चिन्तन भएमा विकास निर्माणमा नेपालले फ्डको मार्ने अवस्था देखिन्छ । 
    तपाईंले गर्न नसकेको काम के के छन् ?
    पालिकाले रिब्दीकोट उद्योग विकास प्राधिकरण ल्याएको थियो । प्राधिकरणलाई चाहिने ऐन, नियम कानुन बनाएर काम गर्न खोजिएको थियो ।  १० प्रतिशत पालिका र ९० प्रतिशत जनताको शेयर हालेर ।  जहाँ जे सम्भावना हुन्छ, त्यसैमा लगानी गर्ने पालिकामा भएको रकम पालिकामै प्रयोग गर्ने गरी पालिकाले कानुन बनाएर संघीय सरकारसँग अनुमती लिन जाँदा संघीय नियम नै बनेको छैन भनी कार्यान्वयन गर्न पाएनौ । पालिकाले ल्याएको यो नीति कार्यान्वयन गर्न पाएको भए संघीय सरकारको अनुदान  पालिकाले आश गर्नुपर्ने अवस्था रहने थिएन । निर्वाचनको समयमा सबै काम गर्न सकिन्छ, नमूना पालिका बनाउँछु भन्ने थियो, तर ऐन, नियम, कानुन, स्थानीय सत्ताको कारण केही महत्वपूर्ण योजनाहरु कार्यान्वयन गर्न कठिनाइ भयो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij