चालु आर्थिक वर्षको चार महिना साउनदेखि कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्समा भइरहेको वृद्धिबाट नेपालको अर्थतन्त्र टिक्ने वातावरण बनेकोले खुशी हुने प्रवृति छ । खासमा रेमिट्यान्समा आधारित अर्थतन्त्र दीगो नहुने र यसले गंभीर परिणाम ल्याउने चेतावनी विज्ञहरुले दिइरहेका छन् । नेपाल लामो समयदेखि रेमिट्यान्सबाट अर्थतन्त्र धानिएको छ । रेमिट्यान्समा धानिएको अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न नसक्दा मुलुक परनिर्भर भइरहेको र मुलुकमा बेरोजगारी बढिरहेको छ । बढ्दो बेरोजगारीलाई न्युनिकरण गर्न उत्पादनमुखी अर्थतन्त्रबाट मात्रै संभव छ । मुलुकमा बर्षेनी ५ लाख जनशक्तिलाई रोजगार आवश्यक छ । यो जनशक्तिलाई मुलुकमा रोजगार संभव नभएपछि विदेशिनु बाध्यता छ । अझ अहिले अध्ययनको नाउमा विदेशिने र त्यसपछि मुलुकमा फर्किने न्युन छन् । विदेश भएका युवाले पठाएको पैसाले मुलुकको अर्थतन्त्र चल्ने अवस्था सबल अर्थतन्त्र निर्माणका लागि स्वभाविक मानिदैन् ।
अहिले मुलुकलाई डेढ वर्षलाई चाहिने वस्तु किन्न पुग्ने अमेरिकी डलर सञ्चित छ । यो पैसा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले मात्रै संभव भएको हो । तत्काललाई सरकारलाई कुनै तनाव भएन् । मुलुक आर्थिक मन्दीमा फस्दा समेत श्रीलंकाको जस्तो अवस्था व्यहोर्नुपरेन् । आगामी दिनमा पनि त्यस्तो अवस्थाबाट मुक्त भयो तर रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई फेरबदल गर्न सकिएन् भने मुलुकले गंभीर संकट व्यहोर्ने निश्चित छ ।
उत्पादमुखी अर्थतन्त्रले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्छ, त्यस्तो अर्थतन्त्र निर्माणले रोजगारी श्रृजना गर्छ । रोजगारी श्रृजना गरी बेरोजगारी अन्त्य गर्न सक्दा र विदेश जाने प्रवृतिलाई न्युनिकरण गर्न सक्दा मुलुकले फड्को मार्न सक्छ ।
युवा पलायनले अहिले ग्रामीण वस्ती सुनसान हुन थालेका छन् । पहाडमा उत्पादन हुने खेतबारी बाँझै छन् । यस्तो कहाली लाग्दो अवस्था अन्त्य गरी उत्पादनमुखी बनाउन सक्दा मात्रै मुलुकले सही बाटो लिनसक्छ ।




