एच.के. श्रेष्ठ
नेपाली जनताको त्याग, तपस्या र बलिदान सहितको गौरवमय उपलब्धी लोकतन्त्र प्रश्नै प्रश्नको घेराबन्धीमा परेको छ । संघीय गणतन्त्रको पुरकमा यसो हुनु बिडम्बना हो । लोकतन्त्र सवै राजनीतिक विचार र वादहरूको साझा घर मानिन्छ । सवै राजनीतिक दलहरूलाई मान्य विकल्प तन्त्रको रूपमा पनि हो । शासन प्रणालीको दृष्टान्तबाट अवलोकन गर्दा यो कुनै वर्ग विशेषको शासन नभई जनताको शासन हो भन्ने ठानिन्छ । अझ अरू परिभाषागत हिसावले हेर्दा राजनीतिक नजरले लोकतन्त्र स्वतन्त्रताको संरक्षक, व्यक्तिको अधिकतम कल्याण तथा बहुसंख्यक श्रमजीवि जनताको सत्तामा हुने वोलबाला हो भन्ने मान्यता राख्दछ । अव्राहन लिंकनकै परिभाषालाई स्वीकार गर्ने हो भने पनि “प्रजातन्त्र जनताको जनताद्धारा जनताको लागि निर्मित जनताकै सरकार हो ।” तर यसै तथ्य अनुसार पनि हाम्रो लोकतन्त्र खोक्रो पाउँछौं । लोकतन्त्र संस्थागत हुन नपाउँदै यसको जराहरूमा धमिरा लाग्न थाल्नुले यसको प्राप्ति अर्थहिन हुँदै गइरहेको अवस्था छ ।
आज यहि परिभाषा अनुसारको राज्य र सरकार नहुदा लोकतन्त्रकै खिसी उडेको छ । लोकतान्त्रिक संविधान बनेर नि कार्यन्वयनमा बिवादले लोकतन्त्रनै धरापमा देखिन्छ । दलहरुका राजनीतिक होइन गैर राजनीतिक खेल मात्रै देखिन्छ । अझै पनि जनताको शासन नभएर वर्ग विशेषकै शासन छ भन्दा फरक नपर्ला । “प्रजातन्त्रमा अराजकता र विविधताको समावेश हुन्छ” भन्ने ग्रीक दार्शनिक प्लेटोको भनाईले सार्थकता पाएको छ । यो लोकतन्त्रले जन मानसमा वाक्क, दिक्क बनााएर आफैप्रति वितृष्णा पैदा गराउने नकरात्मक उपलब्धी हासिल गरेको छ । लोकतन्त्र वा प्रजातन्त्रलाई प्रजाले रूचाएको वा मनपराएको तन्त्र मानिन्छ । तर सिमित पहुँचवालाको मनपरी तन्त्र मात्रै चलेको छ ।
समानता, स्वतन्त्रता, वन्धुत्व र मानवता लोकतान्त्रिक शासन प्रणालीको प्रमुख आधार हुन् । तर हाम्रो लोकतन्त्रमा योे पाउँदैनौ । प्रोटोकल र नारामा सिमित छन् यी कुरा । व्यवहारमा उही हैकमवादी तथा एकतन्त्री पारा हावी छ । कुनै पनि दल भित्र समेत आन्तरिक लोकतन्त्र छैन । दलहरूको आन्तरिक अवस्था समेत चाकरी, चाप्लुसी, गुटवाद, व्यक्ति पुजा आदि मार्ग अवलम्बन गराइने परम्परा कायमै छन् । एउटा दल र अर्को दलको दुरी त छोटिएकै छैन ।
यो पनि लोकतान्त्रिक अभ्यास हुन सक्छ ? राजनीतिक तथा समाजशास्त्री म्याक्सले आलोचना गरे जस्तो, ‘उच्च वर्गले निम्न वर्गलाई डोमिनेसन गर्ने बाटो’ बनेको छ । उनैले भने जस्तै अझै यो नागरिकको होइन कुलीनहरूकै संरक्षक बन्दै छ र धनिकतन्त्रमा हावि छ । बेलायती समाजशास्त्री तथा विचारकको भनाइईमा पनि लोकतन्त्र नागरिक अधिकार र स्वतन्त्रताको रक्षा गर्ने दायित्व राख्दछ । तर यसको ठीक विपरित बरू ‘हनन’ का घट्नाहरु यसमा फस्टाएका छन् । एक आपसको घृणा, द्धेष, ईश्र्या, बेइमानी, फट्याई र धुत्याई जस्ता प्रवृत्ति र आचरण लोकतन्त्रको अवरोध मानिन्छ । तर यस्ता प्रवृत्तिको तीव्र विकास र वृद्धि चलखेल गर्ने खेल मैदान बनेको छ लोकतन्त्र । जसको सिकार संविधानमा बिवाद हुंदै समग्र मुलुक बनेको छ ।
लोकतन्त्रको अन्य खँदिलो अवयवहरूमा राष्ट्रियता, शुसासन, समावेशीकरण, राजनीतिक, साँस्कृतिक, आर्थिक स्वालम्बनता पर्दछन् । जुन पक्षहरू पनि खोक्रै छन् । जनताको समस्या र अभाव मेट्ने भन्दा वढी से वढी अभाव सिर्जना गर्ने लोकतन्त्रको नियति जस्तो भएको छ । फेरि पनि बजार भाउ आकाशिएको छ । भ्रष्टाचार बढेर मुलुकको कुन दुर्दशा भैइरहेको छ भन्नेत कुरै गरिराख्न उरेन । अन्याय अत्याचार झन उकासिदै गहिरहेको छ । आज पनि महंगीको विरूद्धमा, हर प्रकारका जनविरोधी क्रियाकलाप वा निर्णयको विरोधमा, बलत्कार, हत्या, हिँसाका घट्नाहरुका विरूद्धमा जनताले नारा जुलुस घन्काउँदै सडक तताउनु परिरहेको छ । लोकतन्त्रका आधारभूत सर्त र न्यूनतम मागहरू प्रति विरोधमा उत्रेर राज्यको ध्यानाकर्षण गर्न बाध्य बनाइएको छ । देशका सिमनाहरु मिचिएको छ । विसंगति, विकृति भ्रष्टचार स्वास्थ्य तथा शैक्षिक माफिया आदि जर्कटो ढंगले बढिरहेको देखिन्छ लोकतन्त्रमा । जेन जीको नाममा उर्लेको बिरोधको भेल त्यहि परिस्थितिको पराकाष्ठाको बदला हो ।
लोकतन्त्रप्रतिको भ्रमात्मक बुझाई के छ भने सामान्यतया खाली पेटले चिच्याउन पाउनु अथाव भोको पेटले भोक लाग्यो भन्ने स्वतन्त्रता पाउनु, अभावको पिडालिएर पीडा सुनाउने स्वतन्त्रता पाउनु र राज्य संयन्त्रको वदमासीलाई विरोध गर्न पाउनु मात्र लोकतन्त्र हो भने जस्तोे छ । तर लोकतन्त्र जवाफदेही हो र जिम्मेदार र जबाफदेहि बन्नुपर्छ भन्ने बुझाईको दुर्लभता भेटिन्छ । आजको युगमा भौतिक सुविधाहरूको परिपुर्ति अनिवार्य छ । यो दायित्व लोकतान्त्रिक राज्यको हो भन्ने चिन्तन अनिवार्य ठानिएको छैन । लोकतन्त्र सवै आवश्यकता परिपूर्तिको भरपर्दो माध्यम नठानिनु विडम्वना छ । एउटा राजाको गद्दी सामुहिक राजाहरूले लिनु, आधिकारिक रूपमा राज्यले हरक्षेत्रमा पुरानो नाम फेरेर नयाँ नाम राखी लोकतन्त्रको स्वाङ्ग पार्नु राजासँग जोडिएको बोर्ड हटाएर जनता जोडेर नयाँवोर्ड झुण्ड्याउनु आदि भित्ता, फाइल र अफिस दराजमा मात्र सिमित हुने नामको मात्रै यथास्थितिवादी अवस्था नै लोकतन्त्र भएको छ । हिजोका एकाध राज्य प्रमुखहरूले गरेका राष्ट्रघाति वैदेशिक पुरानो फाईलको हस्ताक्षरको पुनराबलोकन अझै हुन सकेन ।
सिंहदरवाबाट दिल्ली र बेइजिङ दरवार सम्मको चाकरी र चाप्लुसीको दलीय यात्राको पुल झन् मर्मत हुँदै गएको छ । लोकतन्त्रको सवै भन्दा कडी आधारशिला राष्ट्रियता हो । दिल्ली दरवारमा बन्दकी राखेरमात्र सिंहदरवार चल्ने परम्परा खारेजी हुन सकेको छैन । लोकतन्त्र व्यक्तिवादलाई प्राथमिक दिने साधन हो तर उन्नाइसौं शताब्दीको व्यक्तिगत व्यक्तिवाद, व्यक्तिलाई महत्व दिने नभएर आधुनिक लोकतन्त्रको सामूहिक व्यक्तिबाद हुनुपर्ने । तर उही उन्नाईसौं शताब्दीको व्यक्तिवादी लोकतन्त्र लागू छ ।
अर्काको ऋणमा नयाँ प्रयोग र उपभोग गर्ने व्यवस्था लोकतन्त्रको अरू खोक्रोपन अझ साँच्चैको लोक हसाउने बनेको छ लोकतन्त्र । डन देखि डाँका सम्म, भ्रष्टदेखि भड्याहा र जड्याँहासम्म, कुख्यात देखि विख्यात सम्म वदमास देखि बद्नामी सम्म सवैलाई सवै दलले पुलपुल्याएर उालेकै छन । विगतलाई केलाउदा सभासदहरू रातो पास्पोर्टको दोकान्दार बन्न मिल्ने, अम्बुलेन्स रातो चन्दन लगायतको तस्करी सामाग्री मालबाहक बन्न मिल्ने, मन्त्री ठेकेदार बन्न मिल्ने, जो जस्तो बन्न र जसले जे गर्न पनि मजाले मिल्ने गजवको लोकतन्त्र ! डन देखि ड्याङडुङ्गे सवै सभासदको योग्य क्यान्डिडेट बन्ने नाटकीय लोकतन्त्र ! राष्ट्रियता गुमाएको सिक्किम र प्रजातन्त्र गुमाएको भुटान जस्तो खोक्रो भएको छ, लोकतन्त्र । लोकतन्त्रले दलाल राष्ट्रवादको हैसियत लिएको छ । खँदिलो विषय वस्तु विनाको रंगिन कागजको बाह्य सुन्दरताले लेपिएकोे ‘रूप’ मात्रको खोक्रो लोकतन्त्र सकसमा छ !
लोकतान्त्रिक संविधान लोकतन्त्रको कडी हो भन्नेमा दुईमत छैन । संविधान राज्यको आत्मा नै हो । यसले मात्र लोकतन्त्र र गणतन्त्र दुवैलाई जमाउन सक्छ र राज्यको स्थाई रोड निर्माण गर्दछ । जहाँ शुसासन स्थायी शान्ति समावेशीकता, विकास र उन्नति तथा प्रगतिको गाडी गुड्न पाउँदछ ।
तर बनेको संविधान नै बिवादित हुदै आयो र विवादमै छ । कार्यन्वयनमा प्रश्नै प्रश्न खडा छ । जिम्मेवार दलहरु गैर जिम्मेवार ढंगले द्धुन्द सिर्जना गर्नमा पोैंठे जोरी खोजिरहेका छन् । जति असहमति कायम भयो उति नै लोकतन्त्र धरापमा पर्ने निश्चित छ । सम्पूर्ण दलहरुले हात्तेमालो गरेर अघि बढ्दैे सँघीय लोकतान्त्रिक अभ्यासमा जान सकेका छैनन् । बरु लोकतन्त्रलाई कमजोर बनाउने र भत्काउने काम भईरहेको छ । विवादित संविधानले मुलक चल्न सक्दैन । यो धेरै टिक्नेमा संका भइसक्यो । लोकतन्त्रको काम फगत चुनाव गर्ने बस्ने र यहि अबस्था बढाउने र मुलुक झन भन्दा झन बर्बाद गर्ने काम जस्तो भएको छ ।यस्तो चरम परिस्थितिलाई बुझ्दा बुझ्दै मुलुक आन्तरिक रुपमा कमजोर बनाउनु र बाह्य रुपमा विदेशी शक्तिलाई खेल्ने मैदान खाली गराउनु लोकतान्त्र धराप र धारासायी बनाउनु मात्र होइन लोकतन्त्रको भविस्यमा जोखिम पैदा हुँदै गएको छ ।




