पाल्पा
पाल्पाका आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमा उपचार गर्ने बिरामीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । आयुर्वेदिक स्वास्थ्य संस्थामा सबै किसिमका रोगका बिरामीहरुले निःशुल्क उपचार र औषधि सेवा पाएसँगै बिरामीको संख्या दिनहँु बढ्दै गएका छन् । अहिले पाल्पाका आयुर्वेदिक संस्थाहरुमा दैनिक दुई सयको हाराहारीमा बिरामीहरु उपचार गर्न पुग्ने गरेका छन् । आयुर्वेदिक स्वास्थ्य केन्द्र तानसेनमा नियमित रुपमा दुई जना आयुर्वेदिक चिकित्सकसहित ११ जना कर्मचारीहरुले सेवा प्रवाह गर्दै आएका छन् ।
यसैगरी पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्रको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले स्थलगत अनुगमन गरी चालु आर्थिक वर्षको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । तानसेनमा आयोजित कार्यक्रममा निर्देशनालयका आयुर्वेदिक विज्ञ डा. विभाकर ठाकुरले स्वास्थ्य केन्द्रले ५९.८२ अंक प्राप्त गरेको नतिजा सार्वजनिक गरेका हुन् । पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र गत वर्ष लुम्बिनी प्रदेशमा १४ जिल्लाको कार्यसम्पादनमा तेस्रो भई पुरस्कृत भएको थियो । पाल्पामा एक आयुर्वेदिक स्वास्थ्य केन्द्र, ७ वटा आयुर्वेदिक औषधालय , ३ वटा नागरिक आरोग्य केन्द्र गरी ११ वटा आयुर्वेदिक संस्थाले उपचार प्रदान गर्दै आएका छन् । गत वर्ष पाल्पामा ६० बिरामीहरुले आयुर्वेदिक उपचार सेवा लिएका थिए ।
निर्देशनालयले सुशासन तथा व्यवस्थापन, अस्पतालको सेवा प्रवाह, तथा सपोर्ट सर्भिस गरी तीन विषयअन्तर्गत ४४० वटा सूचकहरूको आधारमा मूल्याङ्कन गरेको जनाएको छ । सार्वजनिक नतिजाअनुसार केन्द्रले गत आर्थिक वर्ष ५५.८० अंक प्राप्त गरेको थियो भने अघिल्लो वर्ष ५३ अंक पाएको थियो । पछिल्ला तीन वर्षको नतिजा हेर्दा पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्रले क्रमिक रुपमा प्रगति गर्दै गएको देखिएको छ । डा. ठाकुरका अनुसार सेवा गुणस्तर, व्यवस्थापन प्रणाली र अभिलेखीकरणमा सुधार हुँदा अंकमा वृद्धि भएको हो ।
कार्यक्रममा पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख माधवप्रसाद बस्यालले केन्द्रले आयुर्वेद क्षेत्रमा गरेका काम तथा गतिविधिहरू सार्वजनिक गरे । उनले पछिल्लो समय आयुर्वेदिक उपचारप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको बताए । दैनिक रुपमा विभिन्न दीर्घरोग, जीवनशैलीसम्बन्धी समस्या तथा सामान्य उपचारका लागि सेवाग्राही आउने गरेको उल्लेख गर्दै उनले जनशक्ति र सीमित स्रोत साधनका बाबजुद पनि सेवा निरन्तर प्रवाह भइरहेको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले भवनको अभाव र पर्याप्त बजेट नहुँदा सेवा प्रवाहमा समस्या भइरहेकोमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले आयुर्वेदिक स्वास्थ्य सेवा नागरिकका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै केन्द्रको भौतिक पूर्वाधार कमजोर हुनु चिन्ताको विषय भएको बताए । सेवाको माग बढ्दै गएको छ, तर भवन र बजेटको अभावले केन्द्रले चाहेजति सेवा विस्तार गर्न नसकेको समन्वय प्रमुख खनालको भनाइ रहेको छ ।
जिल्ला समन्वय कार्यालय पाल्पाका समन्वय अधिकारी पुनाराम पौडेलले आयुर्वेदिक स्वास्थ्य केन्द्रको दीर्घकालीन विकासका लागि तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेको बताए । उनले न्यूनतम सेवा मापदण्डमा देखिएको प्रगति सकारात्मक भए पनि संरचना र बजेटको समस्या समाधान नगरेसम्म अपेक्षित नतिजा हासिल गर्न कठिन हुने बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आयुर्वेदिक स्वास्थ्य सेवाको महत्व र केन्द्रले भोग्दै आएका समस्याबारे सञ्चार माध्यममार्फत् निरन्तर आवाज उठाइने बताए ।
उनले आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई सबल बनाउन तानसेन नगरपालिकाले सहयोग गर्नुपर्ने र नसर्ने रोग अत्याधिक बढेकोले आयुर्वेदिक क्षेत्रमा बजेट विनियोजन गर्न तानसेन नगरपालिकाको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सहभागी वक्ताहरूले न्यूनतम सेवा मापदण्डमा सुधार देखिनु सकारात्मक भए पनि भवन अभाव र बजेट समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको निष्कर्ष निकालेका थिए । कार्यालयका सूचना अधिकारी यज्ञ गैरेको सञ्चालनमा कार्यक्रम चलेको थियो ।




