लुम्बिनी प्रदेशको आर्थिक, शैक्षिक र व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवल पछिल्ला वर्षहरूमा मेला–महोत्सवको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । कृषि, उद्योग, पर्यटन, व्यापार, संस्कृति र मनोरञ्जनलाई समेटेर आयोजना गरिने यस्ता मेला–महोत्सवले शहरको आर्थिक चलायमानता बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याइरहेका छन् ।
मेला–महोत्सवको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा देखिन्छ । मेला सञ्चालन अवधिमा होटल, रेष्टुरेण्ट, यातायात, खुद्रा व्यापार, हस्तकला, कृषि उत्पादन र साना व्यवसायहरूमा कारोबार उल्लेख्य रूपमा बढ्ने गरेको छ । स्थानीय किसान, उद्यमी र व्यवसायीले आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर पाउँदा आम्दानी बढ्ने मात्र होइन, बजार विस्तारको सम्भावनासमेत सिर्जना हुन्छ । यसले स्वरोजगारलाई प्रोत्साहन दिनुका साथै स्थानीय पूँजीलाई स्थानीयमै घुमाउने वातावरण बनाउँछ ।
यस्ता मेला–महोत्सव पर्यटन प्रवद्र्धनका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छन् । देशका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट आउने दर्शक र पर्यटकले बुटवलको पहिचान, संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाउँछन्। मेला अवधिमा हुने सांस्कृतिक कार्यक्रम, परम्परागत खानाको प्रदर्शनी र स्थानीय कला–संस्कृतिको प्रस्तुतिले बुटवललाई केवल व्यापारिक शहर मात्र नभई सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा चिनाउन मद्दत गर्छ । यसले दीर्घकालमा पर्यटकको बसाइ अवधि बढाउने र पुनः भ्रमणको सम्भावना बढाउँछ ।
मेला–महोत्सवले शहरको सामाजिक जीवनलाई पनि चलायमान बनाउँछन् । परिवार, युवा र व्यवसायीबीच भेटघाट र सहकार्यको वातावरण सिर्जना हुन्छ । नयाँ प्रविधि, नवीन सोच र उद्यमशीलताको आदान–प्रदानले बुटवललाई आधुनिक र प्रतिस्पर्धी शहरतर्फ अग्रसर गराउँछ । विशेषगरी स्टार्टअप र घरेलु उद्योगका लागि यस्ता मेला उत्कृष्ट प्लेटफर्म बन्न सक्छन् । यद्यपि, मेला–महोत्सवको प्रभावकारी व्यवस्थापनमा ध्यान दिनु अपरिहार्य छ । ट्राफिक व्यवस्थापन, सरसफाइ, सुरक्षाका साथै स्थानीय बासिन्दाको दैनिक जीवनमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न आयोजक र स्थानीय तहबिच समन्वय आवश्यक छ ।
समग्रमा, बुटवलमा आयोजना हुने मेला–महोत्सव केवल मनोरञ्जनका साधन मात्र होइनन्, यी आर्थिक चलायमानता, रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनका महत्वपूर्ण आधार हुन् । यस्ता गतिविधिलाई व्यवस्थित, समावेशी र दिगो बनाउँदै लैजान सके बुटवलले प्रदेशकै नमूना आर्थिक तथा पर्यटकीय शहरको रूपमा आफ्नो पहिचान अझ बलियो बनाउन सक्छ ।
रुपन्देही उद्योग संघले आयोजना गरेको १६औँ औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवलाई सफलताको शुभकामना !




