नेकपा (एमाले) को ११औं पार्टी महाधिवेशन सम्पन्न भएको छ । पूर्व एमाले अध्यक्ष केपी ओली नै पुनः अध्यक्षमा चुनिएका छन् । यो उनको तेस्रो पदाधिकारी अर्थात् हेट्रिक चयन भएको छ । पहिलो कार्यकालमा माधवकुमार नेपाललाई चुनावी परिणामबाट हराएर विजय भएका ओली दोस्रोमा भीम रावल र अहिले तेस्रोमा ईश्वर पोखरेललाई पराजय गरेर अध्यक्ष बनेका छन् । त्यही अनुरुप अन्य पदाधिकारीहरुको पनि चयन भएको छ । निर्वाचनमा गएपछि हारजित स्वाभाविक नै हुन्छ । यसलाई अन्यथा भन्न मिल्दैन तर केपी ओलीका लागि भने यी सबै निर्वाचन एउटा इगो र प्रतिष्ठाका विषय बन्दै आएका छन् । पहिलो निर्वाचन अर्थात् माधवकुमार नेपालविरुद्ध भएकाले स्वतः त्यो प्रतिष्ठाकै निर्वाचन थियो किनकि माधव एमालेका वर्षांैसम्मका महासचिव नेता थिए । तर पछिका यी हरेक पार्टी अध्यक्ष पदका लागि भएका निर्वाचन पनि उनको प्रतिष्ठाका विषय बन्ने गरेका छन् । प्रतिष्ठा यस अर्थमा कि त्यो पहिलो पार्टी अध्यक्षता पछि उनमा एउटा इगो जागेर आयो आफू सबैको सर्वमान्य एमाले नेता । यसरी उनको विरुद्ध पार्टी चुनावी प्रतिष्ठा गर्नु एमाले पार्टीविरुद्ध भएको उनको ठम्याई रह्यो ।
यही ठम्याई अनुरुप १०औैं महाधिवेशनमा उनीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रेका भीम रावललाई उनले देख्नै सकेनन् । प्रमुख दुष्मन जस्तै व्यवहार गरेर उनलाई जबर्जस्त पार्टीबाट नै हटाई छाडे । मानौं एमाले पार्टी उनको एकलौटी विर्ता हो । त्यसमा कसैले हक दाबी गरे त्यसको त्यहाँ कुनै खैरेत रहँदै रहन्न । हटी जानै पर्दछ । जस्तो एउटा जंगलमा दुई बाघ मिली नबसे जस्तै । ठीक यो प्रक्रिया अब यो एघारौं पार्टी महाधिवेशनमा पनि ईश्वर पोखरेलमाथि लागू हुने निश्चित जस्तै छ । जस्तो यो ११औं महाधिवेशन सम्पन्न नहुँदै एमाले महाधिवेशन प्रचार प्रसारका लागि केही टेलिभिजनहरुले ओली र ईश्वर पोखरेलबिचको प्रतिस्पर्धाको समाचार बनाउने क्रममा ओली र पोखरेलका भनाइको अंशमा ओलीले पार्टीमा यताउति तलमाथि गरे हातको अभियन गर्दै झाप्पु हानिन्छ भनेका छन् । त्यो अभिनय हो बाघ पंजाको झाप्पु । जसले जो कुनैलाई पनि ठहरै पार्न सक्छ । जुन ओलीको बाघ पञ्जे झाप्पु पहिले माधव–झलनाथलाई दोस्रो भीम रावल तेस्रो झाप्पु विधा भण्डारी र अबको अन्तिम झाप्पु ईश्वर पोखरेलमाथि बर्जर्दै छ ।
तर एमाले अध्यक्ष ओलीले यति छिट्टै बिर्सिसकेका छन् कि गत भाद्र २३–२४ आफूमाथि बर्सेको जेनजीहरुको झाप्पु । उनी आफैले त्यति बेला भनेका थिए पाँच मिनेट मात्रै सेनाले हेलिकोप्टरद्वारा उद्धार नगरेको भए जेनजीहरुले आफूलाई सिद्धाइदिने रहेछन् । हुन पनि देउवा दम्पत्तिको हालत के भयो ? अझ ओली दम्पत्तिको हालत त त्योभन्दा कयौं गुना बढी रोमानियाका तत्कालीन शासक चाउ चेस्को जस्तै अवस्था हुने निश्चित नै भइसकेको थियो । त्यही भएर लाटा गाउँको गाढा तन्नेरी हुनुभन्दा यथार्थ जुन हैसियत आफ्नो छ त्यसै मुताविक चल्दा राम्रो हुनेछ, क. ओलीलाई सुझाव । ओलीले मानुन् वा नमानुन् वर्तमान सुशीला कार्की नेतृत्वको सरकार नै अहिलेको प्रमुख राज्य सत्ता हो । त्यसलाई देशी तथा विदेशी प्रतिक्रियावादी तत्वको समर्थन र सहयोग अहिलेसम्म पनि छँदैछ । यो सरकारसँग सुरुदेखि नै ओलीले सिउरी खेल्दै अर्थात् मान्दिन हाईहुईको सरकार आदि इत्यादि भन्दै डुकिर्दै हिंडिरहेका छन् । अब छिट्टै भाद्र २३÷२४ गतेको लागि बयान दिन आयोगले उनलाई बोलाइसकेको छ । उक्त बयानमा उनी नजाने भन्दै डुर्कर्दै हिंडे पनि अन्ततः यो सबै हरुवा गोरुको छेरुवा दाउ मात्रैमा सीमित हुनेछ । उस्तै परे ओलीलाई गिरफ्तार गरी थुनिनेसम्म हुनेछ । त्यो बेला अहिले उनलाई बोक्दै हिंड्ने सबै तै चुप मै चुप भई बस्नुभन्दा अरु केही हुने छैन । भिरबाट लड्ने गाईलाई सबैले रामराम त भन्छन् तर काँध चाहिं कसैले पनि थाप्न सक्दैन । ठीक यस्तै हालत जस्तो हिजो देउवा दम्पत्तिको भयो त्यस्तै हालत क. ओलीको पनि हुन सक्छ ।
जुन फूर्ति हिजो ओलीको थियो त्यो अब घट्दै जान थालेको छ । हिजो भीम रावललाई जसरी खेदियो त्यस्तै अब ईश्वर पोखरेल र विद्या भण्डारीलाई खेद्ने स्थिति रहने देखिदैन । एमालेमा अब ओली विरुद्ध एउटा च्यानल बनिसक्यो । त्यसलाई भत्काउन अब ओलीबाट सम्भव छैन । दिनप्रतिदिन ओलीको शक्ति घट्दो र विद्या–ईश्वरको शक्ति बड्दो देखिन थालेको छ । अब कुनै दिन ओली एक्लै हुने दिन पनि नआउला भन्न सकिंदैन । जे होस् यो एमाले महाधिवेशनमा ओलीले बाजी मारे पनि खासमा हारेका छन् भने ईश्वरले अंक गणित हारेमा पनि सारमा जितेका छन् । पार्टीमा एकछत्र असनको साँडे जस्तै छाडा भई हिंडेका ओलीका लागि अब त्यति सजिलो छैन । ओलीकाविरुद्ध औला उठिसके । खुलम्खुला ओलीविरुद्ध एमाले पार्टीमा फरक मत देखा परिसक्यो । ओलीको एकमनावाद र निरंकुशताकाविरुद्ध आवाज मात्रै होइन सिंगो एउटा पंक्ति नै खडा भइसकेको छ । तै पनि अहिले यो महाधिवेशनमा त्यति धेरै ओलीविरुद्ध आवाज उठाइएन ।
पहिलो प्रश्न त ओलीलाई हिजो माओवादीसितको एकता अनि फुटको जिम्मेवारी कसले लिने ? त्यस्तै फेरि कहिले माओवादीसित भने कहिले कांग्रेससित सत्ता गठबन्धन गर्दा गर्दै अन्ततः जेनजी आन्दोलनलाई रोक्न नसक्नु र आफैँ भागी बाँच्नु पर्नेको जिम्मेवारी लिने कि नलिने ? राजनीतिक नैतिकता भए ओलीले अध्यक्षबाट नै राजीनामा दिई राजनीतिक सन्यास लिइसक्नु पर्ने हुन्थ्यो । पहिले नै यी प्रश्न उठाई आउन सकेको भए विद्या–ईश्वर पक्ष अहिले नै सफल भइसकेको हुन्थ्यो । हुन त मानवताका कारण पहिले नै यसो गरिहाल्नु त्यति राम्रो नभए पनि राजनीति र विचारमा यस्तो हुँदैन । बेलैमा खबरदारी गरी हाल्नुपर्ने हुन्छ । जसको फाइदा उल्टै अहिले केपी ओलीले लिइसकेका छन् । तैपनि अब एमाले पार्टीभित्र यी प्रश्न उठाइनु पर्दछ । नत्र भने फेरि पनि ओलीको एकमना र निरंकुशतावादी झाप्पु ईश्वर पोखरेल समूहले खाने निश्चित नै छ ।
हुन पनि एमाले पार्टीमा ओलीले जे गर्दा पनि छुट । कोही पनि बोल्नै नसक्ने । बोले भीम रावल–विद्या भइने डर । यतिसम्मकि आज एमाले पार्टीमा जबजको बडो तानातानी छ । तर हिजो माओवादी पार्टीसित एकता गर्दा जबज हापिओ । तर प्रश्न कसैले उठाएन । त्यस्तै हिजो ७० वर्षे पदाधिकारी हद म्याद, दुई कार्यकाल आदि राखियो । त्यो पनि हटाइयो । पटकपटक विद्यालाई पार्टीमा आउन सकिन्छ भनियो । तर पछि आउन दिइएन । विधान महाधिवेशनमा पदाधिकारी संख्या हटाउने निर्णय गरियो, तर फेरि अहिले पहिले जस्तै थप्ने निर्णय भयो । जंगे बोल्यो भने बोल्यो बोल्यो भने जस्तै एमालेमा ओली बोले जे पनि हुने, प्रश्न उठाउन कसैले नपाइने, यो कस्तो पार्टी जनवाद हो ? अब यसप्रति एमालेमा प्रश्न उठ्छ कि उठ्दैन ? हेर्न बाँकी छ । अहिले खाली पदका लाग मात्र हो कि पछिसम्म पनि यो विवाद उठाइने हो ? हुनतः निम्न पुँजीवादी बुर्जुवा पार्टीमा यस्तै हुन्छ । राजनीति, विचार र सिद्धान्तभन्दा बढी विवाद र हानथाप पद, प्रतिष्ठा र कुर्सीकै लागि हुन्छ । नाममा एमाले पार्टी कम्युनिष्ट भनिए पनि खासमा यो पार्टी बुर्जुवा नै हो । बुर्जुवा पार्टीको मूल विशेषता भनेकै पद, प्रतिष्ठा कुर्सी नै हो । त्यसैले एमाले पार्टीभित्र देखिएको यो पदीय विवादका पछाडि पनि यसैले काम गरेको हुन सक्छ । अन्त्यमा जे होस् एमालेभित्रको यो पदीय चुनावी विवादले ओलीको एकमनावाद र निरंकुशतामाथि केही अंकुस लाग्ने निश्चित नै छ । यस अर्थमा एमालेका अरु महाधिवेशनभन्दा यो अलि पृथक हुने चाहिं देखिन्छ ।




