२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चामलको महत्व

चामलको महत्व

चामलको महत्व

चामलको महत्व

चामलको महत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • तुल्सीराम पाण्डे

    चामललाई दहीमा मुछेर निधारमा टीका लगाएर गरेको साहित शुभ मानिन्छ । त्यसरी साहित गर्नाले आँटेको काम सम्पन्न हुन्छ । २०४५-५० सालपछि टीकालाई अविर मिसाएर रातो गराउने चलन आयो । केही जनजातिहरूले अहिले पनि सेतो टीका लाउँछन् । सेतो टीकामा कुनै रसायन हुँदैन । दही खाएर गरेको साहित पनि शुभ हुने र शरीर शितल रहने हुन्छ । नजिकैका मानिसहरू भेट हँुदा भात खानुभयो भनेर कुराको सुरुवात गर्दछन् । सबैले आफ्नो क्षेत्रमा उत्पादन हुने खाद्यान्नलाई नै प्रमुख खानाको रुपमा लिन्छन् । पञ्जावीहरूले रोटी खानुभयो भन्दछन् । मुस्ताङमा बस्ने मानिसहरुले र थकालीहरूले ढिंडो खानुभयो भन्दछन् । स्वीजरल्याण्डमा आलु खानुभयो भन्दछन् । 


    हाम्रो समाजमा भातलाई इज्जतको खाना मानिन्छ । खेतको काम गर्दा प्रत्येक पटकमा पूजा गर्ने र शुभ समयमा काम गर्ने गर्दछन् । धानको ब्याड राख्दा र रोपाइँ सुरु गर्दा सकेसम्म पण्डितलाई दिन हेराएर गरिन्छ । पण्डितलाई हेराउन सम्भव नभएमा पुर्खा वा अग्रजहरुले गरेको परम्परा र आफ्नो  विवेकले देखेको राम्रो दिनमा गर्दछन् । ब्याड बनाउन ढिलो हुने भएमा एउटा भाँडोमा धान भिजाएर माटो मिसाएर राख्छन् । छिटो बनाउनु परेमा ब्याडमा थोरै धान छरेर दिन गर्छन् । त्यसपछि रोपाइँ गर्न ठिक्क हुने दिन पारेर पुरै बिउ छर्छन् । धान काट्न सुरु पनि राम्रो दिनमा नै गर्नु पर्दछ । धान पाक्न ढिलो हुने ठाउँमा राम्रो दिनमा मुठी लिने र न्वागी खाने गर्दछन् । नयाँ चामल खाने दिनमा हली चेलीबेटी र बालिघरे काम गर्नेलाई पनि बोलाउँछन् ।

    चामललाई वैदिक विधिअनुसार अग्निमा होम गरेर तरेषुको टीका लाउँछन् । नयाँ चामललाई दहीमा भिजाएर केरा, चिनी, सिलाम र अरु बास्नादार चिज मिसाएर पहिले भगवानमा अर्पण गरेपछि सबैले खान्छन् । नयाँ चामलको टीका लाउँछन् । भात पकाएर खान्छन् । धान पाक्न ढिलो भएमा थोरै धान काटेर पुरानो  चामलमा मिसाएर कर्म गर्दछन् । होम नगरेको धान धर्म र कर्ममा काम लाग्दैन । मुठी काटेको धानलाई कतै गोरु गाईलाई खान दिन्छन् । कतै धुरीमा बाँधेर राख्दछन् । कतै कलात्मक फूल बुनेर ढोका माथि झुण्डाउँछन् । दाई गर्दा पनि म्याई (मियो) लाई पूजा गरेर गाड्दछन् । मियोको टुप्पोमा फूल र पराल बाँध्दछन् । रोपाइँ गर्दा धान काट्दा र दाई गर्दा फरक फरक गीत गाएर रमाइलो गर्छन् । दाईका गोरु फुकाउँदा पनि पहिले धुप सँुघाएर शिरदेखि जुरो र ढाड हुँदै पुच्छरसम्म परालले सह तानेर फुकाउँछन्  । दाई हेर्नेहरुले परालमा लडिबडि खेल्छन् ।  


    पहिले असारको १ गतेदेखि ९ गतेसम्मलाई पृथ्वीको रजस्वला हुने समय भनेर बार्दथे । त्यसपछि ७ गते ८ गते र ९ गते गरेर ३ दिन बार्न थाले । आजभोलि ८ गते मात्र बार्दछन् । कसैले त्यही पनि बार्न छाडिसके । रजस्वलालाई कुनै ठाउँमा रवी र कुनै ठाउँमा आलद्रा भन्दछन् ।  आलद्राको समयमा बेसरी पानी पर्ने विश्वास गरिन्छ । बार्ने अरु कुरामा खेतमा नपस्ने, छेउ कुनाको घाँस नकाट्ने, झार नउखेल्ने र खनजोत नगर्ने गर्दछन् । त्यसो गरेमा पृथ्वीलाई कष्ट हुन्छ । त्यसबाहेक रजस्वला भएका महिलाहरु पनि ३ दिनसम्म खेतमा पस्दैनन् ।

     
    धानहरु धेरै प्रकारका हुन्छन् र छुट्टा छृट्टै विशेषता हुन्छन् । पाखेधान, घैया, अनदी, कुलामाथिको धान, टाइटन र चैते सबै धानहरु अशुद्ध मानिन्छन् । खानाको रुपमा प्रयोग गरिए पनि धर्म र कर्ममा प्रयोग गरिंदैन । यी धानलाई दिन हेराउन र होम गर्नु पर्दैन । राम्रा धानहरुमा जर्नेली, मन्सरो, लाभे, आँपझाेंते, झिनुवा, कालो झिनुवा, मार्सी, गौरीया, छोटे, गुडुरा पर्दछन् । यी चामलहरु बास्नादार हुन्छन् र दूध घ्यू समात्छन् । सबैभन्दा राम्रो जर्नेली मानिन्छ । जर्नेलीमा औषधीय गुण पनि हुन्छ । पोखरामा जेठो बुढो र जुम्लामा रातो मार्सी त्यहाँका नामी धान हुन् । रोटी, खाजा, पिठो, खिर, कसार बनाउन आफ्नो क्षेत्रका यिनै चामलको बनाइन्छ । घ्यू राखेर खाजा पकाउन अनदी चामल प्रमुख रोजाइमा पर्दछ । सेलरोटी पकाउँदा पनि अनदी मिसाएमा फूल्ने र नरम हुने हुन्छ । झिनुवा र अनदीलाई धर्म र कर्ममा अशुद्ध मानेर प्रयोग गरिंदैन । लोप हुने अवस्थामा रहेको बाँस धानको भात बढ्छ । फर्र हुन्छ । दूध घ्यू समात्दैन । थापा चिनीलाई नयाँ धान मानिन्छ । यो धेरै फल्छ र भात मोटो हुन्छ । यी सबै पाहाडी धानहरु हुन् । गर्भे धानको बाला देखिंदैन बोटभित्रै पाक्छ । दाई गरेर निकाल्नु पर्दछ । धान कालो हुन्छ । यो धान लोप भइसकेको छ । लामो टुँडा हुनाले यसलाई जुँगे धान पनि भन्दछन् ।


    पहिले मन्सुलीलाई तराईको प्रमुख धान मानिन्थ्यो । कालानिमकलाई जमिन्दारको खाना भन्दथे । भतेर लाउँदा मकरकद्दुको भात पकाउँथे । आजभोलि अनेकथरी धेरै फल्ने र बास्नादार धानहरु आएका छन् । पाकेटको बिउको चलनले गर्दा यहाँका रैथाने बिउहरु लोपहुने अवस्थामा छन् । एकजनाले बिउ जोगाउन सम्भव हँुदैन । स्थानीय स्रोतको संरक्षण र विकास गर्न राज्यको सहयोग हुनु पर्दछ । तराईको चामल पहाडमा नलैजाँदासम्म लेकमा बस्नेहरू र गरिबहरूले दसैंको दिनमा मात्र भात खान्थे । त्यो पनि सम्भव नभएमा चामलको टीकामात्र लाउँथे । त्यहाँ जे उब्जन्छ त्यही खान्थे । २०७८ सालसम्म पनि कर्णाली क्षेत्रमा चामलको सधैँ अभाव हुन्थ्यो । 


    देशमा आधुनिकता भित्रिएपछि खेत पूजा गर्ने, बालि पूजा गर्ने, मन्दिरमा चढाउने, होम गर्ने र न्वागी खाने चलन हराइसकेको छ । मेसिनको प्रयोगले गर्दा माटोको सम्मान कम भएको छ । आधुनिक चलन आए पनि सबैले धर्म र कर्म गर्नु पर्दछ । धर्ममा, कर्ममा, साहितमा, खानामा र इज्जतमा चामलले मानिसको जीन्दगी चलेको छ । हामी सबैले चामलको महत्व बुझेर सम्मान र इज्जत गर्नु पर्दछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij