बुटवल । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको अनुगमन तथा अवलोकन गरेका छन्।
सिद्धार्थ राजमार्ग अन्तरगत रुपन्देही बुटवल पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा निर्माण हुँदै गरेको सुरुङ्गमार्गको अनुगमनका क्रममा मन्त्री घिसिङले सुरुङ मार्गको हालसम्मको प्रगति, निर्माण कार्यको गुणस्तर र समयमै सम्पन्न गर्ने विषयमा सरोकारवाला निकायसँग जानकारी लिएको आयोजनाका सुचना अधिकारी सबिता ज्ञवालीले जानकारी दिइन।
सो अवसरमा मन्त्री घिसिङले सिद्धबाबा क्षेत्र यात्रुका लागि जोखिमयुक्त भएकाले सुरुङ मार्गलाई निर्धारित समयभित्रै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउदै छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए।
मन्त्री घिसिङले निर्माण कार्यमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे ठेकेदार कम्पनी तथा आयोजनाका प्राविधिकसँग छलफल गर्दै सुरक्षा मापदण्डमा कुनै सम्झौता नगर्न निर्देशन दिए।
उनले कामको गति बढाएर यात्रुलाई छिट्टै सुरक्षित र सहज आवागमनको व्यवस्था मिलाउन आग्रह गरे।
२०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन संग निर्माण सम्झौता गरिएको यो परियोजनाको कुल लागत रु। ७ अर्ब ३४ करोड रहेको छ ।
परियोजना सम्झौता अनुसार सुरुङमार्ग निर्माण कार्य २०८३ साल फागुन भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।
अहिले सम्म ६५ प्रतिशत हाराहारीमा भौतिक प्रगति सम्पन्न भएको आयोजनाले जनाएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन यो सुरुङ मार्ग सम्पन्न भएपछि पहिरो, दुर्घटना र जामको समस्या न्यून हुने अपेक्षा गरिएको छ। स्थानीयवासी र यात्रुले लामो समयदेखि प्रतीक्षा गर्दै आएको यो आयोजना पूरा भएपछि लुम्बिनी प्रदेशको यातायात व्यवस्थापन थप सहज हुने विश्वास लिइएको छ।




