बुटवल । देशकै अब्बल सामुदायिक विद्यालय कालिका मानवज्ञान माविले ६५औँ वार्षिकोत्सवको अवसरमा ११ लाख रुपैयाँ बराबराको छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा स्थापना भएका ६५ वटा अक्षयकोष र आन्तरिक स्रोतबाट ११ लाख रुपैयाँभन्दा बढी छात्रवृत्तिको रुपमा विद्यार्थीलाई प्रदान गरेको छ ।
आइतबार सेक्टर १ रामनगरमा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरी ६५ शीर्षकका अक्षयकोषबाट १ सय १९ जना विद्यार्थी र नेपाल सरकारका विभिन्न निःशुल्क छात्रवृत्तिमा नाम निकालेका ८४ जना विद्यार्थीलाई पनि जनही २ हजारका दरले विद्यालय स्रोतबाट सम्मान तथा पुरस्कृत गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई रुपन्देहीका प्रमुख विष्णु पन्थी, विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार तथा पूर्व प्रधानाध्यापक बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा सल्लाहकार होम गलामी, विद्यालयका प्रधानाध्यापक दिनेश थापासहित अक्षयकोष दाता, अन्य अतिथिहरुले सम्मान गरेका हुन् ।
छात्रवृत्ति वितरण समितिका संयोजक शिक्षक शेरचन्द्र गिरीका अनुसार ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।
उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीसहित गरिब तथा जेहेन्दार विद्यार्थी, उत्कृष्ठ शिक्षक, पत्रकारसहितलाई सम्मान गरिएको संयोजक गिरीले जानकारी दिए । पत्रकारतर्फ बुटवल अनलाइनका ईन्द्र खत्रीलाई नगदसहित पुरस्कृत गरिएको हो ।
यसको साथै रामबहादुर मीनकुमारी २० लाख रुपैयाँको अक्षयकोषबाट कक्षा १० को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १ जना विद्यार्थी र कक्षा १२ को नतिजामा सर्वोच्च अंक ल्याउने एक जना विद्यार्थीलाई ५०-५० हजार नगदसहित सम्मान कार्यक्रम सोमबार प्रदान गरिने संयोजक गिरीले जानकारी दिए । सोमबार करिव १ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ ।
यसैबिच सोमबार अरुण पौडेल स्मृति अक्षयकोषअन्तर्गत आयोजना गरिएको ५ हजार मिटर विद्यालयस्तरीय खुल्ला दौड प्रतियोगिताको उपाधि पब्लिक मावि छपियाका विद्यार्थी उमेश बरैले जितेका छन् । उनले कुल १६ मिनेट ११ सेकेण्ड ६२ मिनि सेकेन्डमा उक्त दुरु पार गरी उपाधि जितेका हुन् । यस्तै कालिका मानवज्ञान माविका मिलन थापाले १८ मिनेट ५ सेकेण्ड ४९ मिनि सेकेण्डमा परा गर्दै द्वितीय भए ।
जितेश्वरी माविका मोहन गुरुङ्गले १९ मिनेट २८ सेकेण्ड ७७ मिनी सेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान प्राप्त गरेको विद्यालयका खेलकुद संयोजक ओमबहादुर सारुले जानकारी दिए ।




