२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चिसोमा दुई गुणा बढ्छ 'हार्ट–अट्याक' को खतरा, यी हुन् ७ कारण

चिसोमा दुई गुणा बढ्छ 'हार्ट–अट्याक' को खतरा, यी हुन् ७ कारण

चिसोमा दुई गुणा बढ्छ 'हार्ट–अट्याक' को खतरा, यी हुन् ७ कारण

चिसोमा दुई गुणा बढ्छ 'हार्ट–अट्याक' को खतरा, यी हुन् ७ कारण

चिसोमा दुई गुणा बढ्छ 'हार्ट–अट्याक' को खतरा, यी हुन् ७ कारण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • क्षणभरमै ज्यान जान सक्ने हृदयाघात आखिर किन हुन्छ? यसले कसरी मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ? यसबारे हामीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँग कुरा गरेका छौं।

    त्योभन्दा अगाडि हृदयाघातबारे बुझौं —

    हृदयाघात मुटुको मांसपेशी मर्ने वा खराब हुने अवस्था हो। मुटुले शरीरका अंगहरूमा रगत पुर्‍याउँछ। तर मुटु आफैलाई पनि रगत, अक्सिजन र ग्लुकोज चाहिन्छ। यी तीन चिज पुर्‍याउन मुटुमा तीनवटा रक्तनली हुन्छन्। तीमध्ये कुनै एउटा रक्तनलीमा अवरोध आयो भने मांसपेशीमा रगत पुग्दैन र मर्न थाल्छ।

    'मुटुको मांसपेशीले यस्तो अवस्था दुई-तीन घन्टासम्म त थेग्छ, तर लगातार ६ घन्टा रगत पुगेन भने मांसपेशी पूर्ण रूपमा काम नगर्ने हुन्छ,' डा. रेग्मीले भने, 'त्यसपछि मुटुले नै काम गर्न नसक्ने अवस्था आउँछ। यसलाई हृदयाघात भनिन्छ।'

    'हृदयाघात भएपछि जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ। यसमा एक घन्टाको समयलाई 'गोल्डेन आवर' भनिन्छ। समय जति बित्दै जान्छ, मुटुका मांसपेशी त्यति नै मर्दै जान्छन् र खतरा बढ्दै जान्छ,' उनले भने।

    डा. रेग्मीले भनेजस्तै हृदयाघातको मुख्य कारण रक्तनलीमा अवरोध आउनु नै हो। जाडोको समय यस्तो खतरा दुई गुणा बढ्ने उनी बताउँछन्।

    यसो हुनुका मुख्य ७ कारण छन् —

    पहिलो, रक्तचाप बढ्नाले।

    हाम्रो शरीरको सतहमा हुने नसाहरू जाडो मौसममा चिसोको प्रभावले खुम्चिन्छन्। नसा खुम्चिँदा त्यसमा भएको रगत भित्री अंगहरूमा जाने र त्यसले रक्तचाप अर्थात् ब्लड प्रेसर बढाउने डा. रेग्मी बताउँछन्।

    'ब्लड प्रेसर बढ्नेबित्तिकै मुटुलाई दबाब पर्छ। रगत पम्प गर्दा अरू बेलाभन्दा बढी जोडसँग खुम्चिनुपर्छ,' उनले भने, 'यसले हृदयाघातको खतरा बढाउँछ।'

    दोस्रो कारण, चिसोको प्रभावले रक्तचापसँगै मुटुको धड्कन बढाउने रसायनहरू सक्रिय हुन्छन्। खासगरी एड्रेनालिन, नरएड्रेनालिन जस्ता रसायनले मुटुको धड्कन बढाउँछ।

    डा. रेग्मीका अनुसार जाडोको समय मुटुको धड्कन अरू बेलाभन्दा बढी हुन्छ। न्यानोमा बसिरह्यो भने सामान्य हुन्छ, चिसोमा निस्किएपछि धड्कन बढ्छ। यसले जाडोको समय शरीरमा रक्तसञ्चार पनि बढी हुन्छ।

    'जाडोमा बढी शक्ति उत्पन्न गराउन हाम्रो शरीरको स्वचालित संयन्त्र हो यो,' उनले भने, 'यसले एकातिर मुटुको धड्कन बढाउँछ भने अर्कातर्फ मुटु धेरै धड्किँदा दबाब बढी पर्छ।'

    यस्तोमा मुटु कमजोर छ भने त्यसले बढी दबाब थेग्न सक्दैन र हृदयाघात हुन्छ।

    तेस्रो कारण हो, शरीरमा पानीको मात्रा कम हुनु।

    जाडो मौसममा मानिसहरू कम पानी पिउँछन्। शरीरमा पानीको मात्रा कम हुन्छ र रगत बाक्लो हुन्छ। रगत बाक्लो भएपछि नसाभित्रै जम्ने प्रक्रिया सुरू हुन्छ। रगतलाई जमाउने खालका रसायन पनि यो बेला बढी सक्रिय हुन्छन्।

    'चिसोले रगत बाक्लो र जम्ने प्रक्रियाले हृदयाघातको जोखिम बढाउँछ,' डा. रेग्मीले भने।

    चौथो कारण, मुटुको रक्तनलीमा बोसो जम्यो त्यसले रगत बग्ने बाटो साँघुरो बनाइदिन्छ। चिसोले बोसो जमेको भाग च्यात्तिन पनि सक्छ।

    'यसरी बोसो जमेको भाग च्यात्तिँदा घाउ बन्छ। घाउ बनेको ठाउँ पुर्न रगत जान्छ र त्यहाँ रगतको थेग्रो बस्छ। यसले रक्तनली अवरूद्ध पार्छ। मुटुमा रगत जान पाउँदैन। मुटुमा रगत नगएपछि हर्ट अट्याक हुन्छ,' डा. रेग्मीले भने।

    उनका अनुसार विभिन्न वैज्ञानिक अध्ययनले जाडो मौसममा कोलेस्टेरोल बढ्ने देखाएको छ। कोलेस्टेरोल बढ्दा पनि हृदयाघातको खतरा बढी नै हुन्छ।

    पाँचौं कारण हो, खानपान र जीवनशैली।

    जाडोमा धेरै भोक लाग्छ। मान्छेहरू धेरै खान्छन्। बढी क्यालोरी भएका खानेकुरा, जंक फुड, चिल्लो र माछामासु बढी सेवन गर्छन्। यसले पनि रक्तचाप बढाउन भूमिका खेल्छ।

    यति मात्र होइन, मान्छेहरू जिउ तताउन भनेर रक्सी, चुरोट बढी पिउँछन्। रक्सीले शरीर न्यानो बनाउँदैन, उल्टो चिसो बनाउँछ। रक्सीले शरीरमा भएको पानी सोस्छ र हृदयाघातको जोखिम बढाउँछ। चुरोट बढी पिउनाले त हृदयाघातको जोखिम यसै पनि बढ्ने नै भयो।

    नियमित व्यायाम गरिराख्ने र हिँड्नेहरू पनि जाडोको समय अल्छी गर्छन्। धेरै समय घरभित्रै बिताउँछन्। यसले शरीरमा बोसो र कोलेस्टेरोल बढाउन भूमिका खेल्छ।

    'जाडो याममा कतिपय मान्छेलाई डिप्रेसन हुनुको कारण यही हो,' डा. रेग्मीले भने, 'गर्मीमा मान्छेहरू यताउता गरिरहन्छन्। उनीहरू शारीरिक रूपमा बढी सक्रिय हुन्छन्। जाडोमा त्यस्तो हुँदैन। यी सबले मानसिक तनाव बढ्छ। तनाव बढ्दा स्वाभाविक रूपले रक्तचाप पनि बढ्छ।'

    छैठौं कारण हो, रोगले च्याप्नु।

    कोही मान्छे पहिल्यै मुटुको बिरामी छ भने चिसो मौसममा उसलाई अझै गाह्रो हुन सक्छ। उच्च रक्तचाप भएका वा मुटुका विभिन्न समस्या भएकालाई जाडो याममा यी समस्याले झन् बढी न्याक्न सक्छन्। निमोनिया भएकाहरूलाई पनि जाडोमा हृदयाघातको खतरा बढी हुन्छ।

    'वंशाणुगत, उमेर, मोटोपन, चुरोट धेरै खाने, उच्च रक्तचाप र मधुमेह हृदयाघातका मुख्य कारक हुन्,' उनले भने, 'पहिल्यै यी रोग भएका मान्छेले जाडोमा बढी सतर्क हुनुपर्छ। उनीहरूलाई हृदयाघात हुने जोखिम गर्मीमा भन्दा बढी हुन्छ।'

    सातौं, नियमित स्वास्थ्य परीक्षण नगर्नू।

    हृदयाघात स्वस्थ मान्छेलाई पनि हुन्छ। शारीरिक रूपले चुस्त मान्छे पनि एक्कासि हृदयाघातले ढलेका उदाहरण धेरै भएको डा. रेग्मी बताउँछन्।

    'नियमित स्वास्थ्य परीक्षण गराउनेलाई मात्र शरीरका अंग कस्तो अवस्थामा छन् भन्ने थाहा हुन्छ। नभए बाहिरबाट हेर्दा स्वस्थ देखिने मान्छेलाई पनि भित्रभित्र विभिन्न समस्या उत्पन्न भइरहेको हुन्छ। जाडो याम लागेपछि ती समस्याले एक्कासि च्याप्न सक्छन्। त्यसैले आफू जतिसुकै स्वस्थ लागे पनि हृदयाघातबाट बच्न नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ,' उनले भने।

    यी त भए जाडोमा हृदयाघात बढी हुनुका कारण। त्यसो भए के मान्छेको मृत्यु हुने सम्भावना पनि गर्मीको तुलनामा जाडोमा बढी हुन्छ?

    हाम्रो यो प्रश्नमा डा. रेग्मीले भने, 'गर्मीको समय हृदयाघात हुँदा बाह्य वातावरणले जति सपोर्ट गर्छ, जाडोमा त्यसको ठिक उल्टो हुन्छ। त्यसैले जाडोमा हृदयाघात भयो भने ज्यान जाने जोखिम उच्च रहन्छ।'

    'सामान्यतया हृदयाघात हुनासाथ ज्यान जाने होइन। असह्य पीडा चाहिँ हुन्छ। कहिलेकाहीँ हृदयाघातले मुटुको धड्कन एकदमै बिग्रन्छ,' उनले अगाडि भने, 'त्यस्तो अवस्थामा भने मान्छेले ऐया पनि भन्न पाउँदैन। उसको धड्कन झ्याप्पै रोकिन्छ। त्यसलाई 'कार्डियाक अरेस्ट' भनिन्छ। यस्तो हुँदा ठाउँको ठाउँ मान्छेको मृत्यु हुन्छ।'

    यस्तो अवस्था कति बेला आउँछ त?

    जबाफमा उनले भने, 'रक्तनली ब्लक भयो, मुटुको मांसपेशी मर्‍यो भने धड्कन झ्याप्पै रोकिन्छ वा छिटोछिटो चल्छ। मुटुले राम्ररी रगत पम्प गर्न नसक्ने अवस्था आउँछ। यसले पनि बिस्तारै मुटु थाक्छ र हर्ट अट्याक हुन्छ।'

    उनका अनुसार अत्यधिक चिसो हुने देशहरूमा सिरेटोले हिर्काएर मानिसहरू ठाउँको ठाउँ ढलेका कयौं घटना छन्। यसको कारण चिसोले रक्तनली ब्लक भएर मुटुका मांसपेशी च्यात्तिनुले हो। यस्तो अवस्थामा मस्तिष्कमा रगत जान पाउँदैन र तुरून्तै मान्छेको मृत्यु हुन्छ।

    'मस्तिष्कमा पाँच सेकेन्ड मात्र रगत पुगेन भने पनि मान्छे चक्कर लागेर ढल्छ। एक वा दुई मिनेटसम्म मस्तिष्कमा रगत प्रवाह भएन भने मृत्यु हुनसक्छ। पाँच मिनेटसम्म रगत प्रवाह रोकियो भने त उसलाई बचाउन धेरै गाह्रो हुन्छ,' उनले भने।

    डा. रेग्मीका अनुसार हृदयाघात पनि सानो (माइनर) र ठूलो (म्यासिभ) हुन्छ।

    मुटुका तीन रक्तनलीमध्ये एउटा मूल रक्तनली अवरूद्ध भयो भने त्यसले ठूलो हृदयाघात गराउँछ। त्यस्तो बेला मान्छेको धड्कन एकदम बिग्रिएर तत्कालै ढल्ने सम्भावना उच्च हुन्छ।

    अरू दुईथरी रक्तनलीको अवरोधले भने सानो हृदयाघात हुन्छ। सानो हृदयाघात हुँदा मुटुका मांसपेशीमा थोरै मात्र असर गर्छ। त्यसले हृदयाघातका लक्षण त देखिन्छन्, तर ज्यानै जाने सम्भावना कम हुन्छ।

    त्यसो भए कुन रक्तनली अवरूद्ध हुन्छ भन्ने कुरा हाम्रो जीवनशैलीमा निर्भर गर्छ कि गर्दैन?

    जबाफमा डा. रेग्मीले भने, 'कुन अवस्थामा कुन रक्तनली अवरूद्ध हुन्छ भन्ने कुनै आधार छैन। यो 'भाग्य' को कुरा हो। यति हुँदाहुँदै जसको जीवनशैलीमा हृदयाघात गराउने पक्षहरू धेरै छन्, जसले धेरै चुरोट खान्छ, धेरै रक्सी खान्छ, चिल्ला खानेकुरा धेरै खान्छ र जसको कोलेस्टेरोल धेरै बढी छ, उसको मुटुको मुख्य रक्तनली अवरूद्ध हुने सम्भावना बढी हुन्छ।'

    मधुमेह भएकाहरूको तीनवटै रक्तनलीमा अवरोध देखिने पनि उनी बताउँछन्। यसलाई डाक्टरी भाषामा 'ट्रिपल भेसल डिजिज्' भनिन्छ।

    'हृदयाघातको जोखिम गराउने पक्षहरू कम भएको मान्छेमा रक्तनलीको अवरोध पनि थोरै ठाउँमा हुन्छ। जसको जोखिम बढी छ, उसको धेरै ठाउँमा अवरोध हुनसक्छ,' डा. रेग्मीले भने।

    अब कुरा गरौं, हृदयाघातका लक्षणबारे —

    डा. रेग्मीका अनुसार हृदयाघातको मुख्य लक्षण छाती बेस्कन दुख्ने हो। कहिलेकाहीँ छातीको निश्चित ठाउँमा दुख्दा पनि मान्छेहरू मुटुमै समस्या भयो कि भनेर अत्तालिन्छन्। तर अरू दुखाइ र मुटुको समस्या हुँदा वा हृदयाघातको दुखाइ फरक हुन्छ।

    हृदयाघात हुँदा सामान्यतया छातीको मध्य भागमा ठूलो ढुंगाले थिचेजसरी दुख्छ। छुराले रोपेजस्तो अनुभव हुन्छ। आगोले पोलेजस्तो पनि हुन्छ।

    'पीडा एकदमै बढी हुन्छ। छातीको कुनै एउटा भागमा होइन, पूरै छातीमा असह्य पीडा हुन्छ। दुखाइ बायाँतिर सर्छ। त्यही बेला खलखली पसिना आउँछ। वाकवाकी लाग्ने हुन्छ। कतिले त उल्टी पनि गर्छन्,' उनले भने।

    महिलाहरूलाई हृदयाघात हुँदा दुखाइ बिस्तारै पेटतिर सर्ने पनि डा. रेग्मीले बताए।

    सबैलाई छाती मात्र दुख्छ भन्ने छैन। कतिलाई छाती दुख्नुको सट्टा एकाएक सास फेर्न गाह्रो हुन्छ। अकस्मात् निसास्सिएजस्तो अनुभव हुन्छ। सास पुग्दैन। सँगसँगै, चक्कर लाग्ने र वाकवाकी लाग्ने पनि हुन्छ।

    'त्यति बेला मान्छेलाई मरी पो हाल्छु कि भन्ने महसुस हुन्छ। मृत्युको त्रास उत्पन्न हुन्छ,' डा. रेग्मीले भने।

    जाडोको समय मुटु मात्र होइन, फोक्सोका बिरामीमा दम बढ्ने र संक्रमण फैलिने हुन्छ भने मिर्गौला रोगीहरूलाई पनि गाह्रो बनाउँछ। क्यान्सरकै बिरामीलाई पनि जाडोमा बढी च्याप्छ।

    'चिसोले हाम्रो शरीरको शक्ति घट्ने हुँदा सबै प्रकारका रोगले न्याक्छ। तर मान्छे मरिहाल्ने भनेको मुटुको रोगले नै हो,' उनले भने।

    यति घातक अवस्था आउन नदिन के-के गर्नुपर्छ त?

    डा. रेग्मीका अनुसार चिसोको समय बिरामीहरूले मात्र होइन, स्वस्थ मानिसले पनि खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। शारीरिक सक्रियता बढाउनुपर्छ। हरियो सागपात, फलफूल, गेडागुडी र झोलिलो पदार्थ अत्यन्तै धेरै खानुपर्छ। चुरोट, सुर्ती र रक्सी सेवन त बन्दै गर्नुपर्छ।

    'न्यानो हुन ३-४ कपसम्म ग्रीन टी खान मिल्छ। चिया पिउन सकिन्छ। तातो पानी, गेडागेडीको सुप खाए हुन्छ। अलि अलि घ्यू खाँदा पनि हुन्छ,' उनले भने।

    बिहान हिँड्ने बानी भएकाहरूलाई उनी चिसोमा नहिँड्न सुझाव दिन्छन्। जाडोमा घाम निस्किएपछि मात्र हिँड्नु राम्रो हुन्छ। चिसोमा निस्कनैपर्ने भए न्यानो कपडा लगाएर, हातखुट्टामा पनि चिसो पस्न नदिने गरी पन्जा र मोजा लगाएर हिँड्नुपर्ने उनी बताउँछन्।

    आफू स्वस्थ छु भनी लाग्नेहरूले पनि जाडो सुरू भएपछि एकपटक स्वास्थ्य जाँच गराउँदा राम्रो हुने डा. रेग्मीको सल्लाह छ।

    अरू रोगका बिरामीलाई जाडोमा औषधिको मात्रा पनि बढी चाहिने उनी बताउँछन्। उच्च रक्तचापको औषधि खाइरहेकाहरूलाई गर्मीमा खाने मात्राले जाडोमा नपुग्न सक्छ। त्यही मात्राले रक्तचाप नियन्त्रण नहुन सक्छ। औषधिको मात्रा नपुग्दा पनि छाती दुखाइ बढ्न सक्ने उनको भनाइ छ।

    'मुटुरोगीहरूले त जाडो सुरू भएपछि आफ्नो चिकित्सकसँग सल्लाह गरेर औषधि अपडेट गर्नैपर्छ,' उनले भने, 'प्रेसरको औषधि खाएकाहरूले जाडोमा चिकित्सकसँग सल्लाह गरेर औषधिको डोज बढाउनुपर्छ। कहिलेकाहीँ डबल नै गर्नुपर्ने अवस्था आउँछ।'

    जाडोमा निमोनियाको खतरा बढ्ने हुँदा छातीको संक्रमण कम गराएर हृदयाघात हुनबाट बच्न निमोनियाको खोप लगाउन सकिने उनी बताउँछन्।

    'जाडो धेरै रोगहरूको निम्ति जोखिमपूर्ण समय हो। बूढाबूढीहरूले जाडो सकिएपछि खड्को कट्यो भन्ने त्यही भएर हो,' उनले भने।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij