रूपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरीचोकका १७ वर्षीय इशान शर्मा पौडेलको चार दिनअघि घर नजिकै नालीमा शव भेटियो । टाउकोमा गहिरो चोट लागेकाले उनको हत्या भएको हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ । प्रहरीले अनुसन्धान गरिरहेको, तर अभियुक्तको पहिचान हुन नसकेको बताउँदै घटनामा संलग्नको पहिचानका लागि अनुसन्धानमा सघाउ गर्न आग्रह गरेको छ । स्थानीय बासिन्दा भने हत्यामा संलग्न अभियुक्तलाई छिटो पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका छन् ।
साँझ एकाएक हराएका र टाउकोमा गहिरो चोट लागेकाले पौडेलको हत्या हुन सक्ने स्थानीय बासिन्दाको दाबीमा बल पुगेको छ ।
यो घटनाको अनुसन्धानमा प्रहरी लागिरहेकोले सत्य तथ्य छिट्टै बाहिर आउने नै छ । छिटो सत्य तथ्य बाहिर ल्याउन प्रहरीले सफलता पायो भने प्रहरीप्रति समाजमा सकारात्मक प्रभाव पर्नेछ । छिटो अनुसन्धान अघि बढ्ने र अभियुक्त पक्राउ गर्न प्रहरीले सफलता पाउँदा समाजले सुरक्षाको अनुभूति गर्न सक्छ र अपराधीको मनोबल कमजोर बन्छ । जब अपराधीको मनोबल कमजोर हुन्छ, समाजमा अपराध न्यून हुँदै जान्छन् । केही समययता सामान्य विवादमा समेत अपराधिक घटना हुन थालेका छन् । हत्या र बलात्कारका घटना बढिरहेका छन् । कतिपय अवस्थामा पत्याउन नसकिने घटना भइरहेका छन् ,।
सामान्य लेनदेन विवादमा ललितपुरमा जेठान देवराज ढुंगेलले ज्वाई केशवराज हायुसहित दुईलाई हत्या गरे । मोबाइल कलको अनुसन्धानका आधारमा प्रहरीले देवराजलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले नै हत्या गरेको पुष्टि ग¥यो । देवराज र केशवराजबिचको लेनदेनको विषयलाई पन्छाउन हत्या भएको प्रहरीको निष्कर्ष छ । समाजमा सामान्य विषयमा उत्तेजनामा आउने र मान्छेको ज्यान नै लिने घटना हुनु सामान्य होइन् । अझ छिमेकीले सँगै घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेको मोरङको घटनाले समाज कता जाँदैछ ? भन्ने गम्भीर प्रश्न खडा गरेको छ । समाजमा अविश्वास, आशंका र आक्रोशको जालोमा जेलिंदै जाने जोखिम बढाएको छ । यी तीन प्रतिनिधि घटना एक महिना यताका हुन् ।
समाजमा चेतनाको स्तर बढ्दै छ । प्रविधिको प्रयोगले समाजलाई छरिता बनाएको छ । तर समाजमा अपराधिक मानसिकता बढ्दै गएको छ । जसले समाजलाई आतंक र भयमा जेलेको छ ।
जेनजी आन्दोलनपछि समाजमा अपराधिक मानसिकता अझै बढेको घटनाक्रमले देखाएको छ । अपराध गर्दा कानुनी कारबाहीमा परिन्छ भन्ने ग्यारेष्टी नभएपछि अपराधीको मनोबल बढ्नु स्वभाविक छ । प्रहरीको मनोबल कमजोर भएका बेला अपराधीको मनोबल बढेको छ । अपराधीको मनोबल बढ्दा नागरिकले जीवनको मूल्य चुकाउन परेको छ । अपराधीलाई कानुनको दायरामा ल्याउने हो भने प्रहरीको मनोबल बढाऊ । साधनविहीन प्रहरीलाई साधनस्रोतयुक्त बनाऊ । समाजमा सुरक्षाको प्रत्याभूति नहुने हो भने भय र त्रास अझै बढ्ने र पुँजी पलायन हुने जोखिम उत्तिकै छ । गृहमन्त्री ज्यू, शीर्ष राजनैतिक नेतृत्वलाई गाली गरेर दिन गुजार्नुभन्दा प्रहरीको मनोबल बढाउने काममा लाग्नुस्, सरकार साथमा रहेको ढाडस दिनुस्, प्रहरीलाई आतंकित बनाएर समाजले ठूलो मूल्य चुकाउँछ भन्ने कुरा अरु मन्त्री र प्रधानमन्त्रीलाई पनि बुझाएर अघि बढ्नुस् ।




