पाल्पा
रोजगारीको लागि विदेश गएका युवाहरुलाई स्वदेश फर्काउने, उनीहरुलाई परिवारमै बसेर आर्यआर्जन बढाउने, स्थानीय कला संस्कृति, खानपान, भेषभुषा रहन सहन एक स्थानबाट अर्काे स्थानमा हस्तान्तरण गर्ने, सबै किसिमका उद्योग व्यवसायलाई चलायमान बनाउने, समग्रमा देशको आर्थिक विकासमा चलायमान बनाउने उद्देश्यका साथ अहिले पाल्पाका गाउँ गाउँमा होम स्टे (घरवास) सञ्चालन भएका छन् । प्राकृतिक रुपमै सुन्दर, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक नगरको रुपमा पहिचान बनाएको तानसेन नगरपालिकाले १४ वटै वडामा होम स्टे कार्यक्रम सञ्चालनको तयारीमा लागेको छ ।
जाडो मौसममा प्रशस्त घाम लाग्ने, गर्मी मौसममा हिमालको चिसो हावाले शित्तल बनाउने उपयुक्त मौसम, सबै स्थानमा यातायातको सुविधा, पर्यटकहरुलाई घुमाउने, देखाउने प्रशस्त सौन्दर्य स्थानहरु रहेकोले पछिल्लो समय पाल्पामा होम स्टे व्यवसाय फष्टाउँदै गएको छ ।
पछिल्लो समय तानसेन नगरपालिकाले पर्यटन व्यवसाय नै तानसेन विकासको मेरुदण्ड मान्दै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणदेखि सरोकारवालसँग समन्वय गरेर काम गर्न थालेपछि तानसेनका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
तानसेन नगरपालिकाले नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजना काठमाडौंको सहकार्य र तानसेन होम स्टे समिति समन्वयमा होम स्टे घरवास व्यवस्थापन क्षमता अभिवृद्धि रैथाने पाक शिक्षा तथा आतिथ्यतासम्बन्धी ७ दिने तालिम सुरु भएको छ । तालिममा तानसेनमा सञ्चालन भएका विभिन्न होम स्टेबाट २५ जना होम स्टे व्यवसायीहरुको सहभागिता रहेको छ ।
होम स्टे तालिममा प्रशिक्षण्क धिरेन राकेश मगर, चिरन ढुङ्गाना र हरि गिरीले सहजीकरण गर्ने छन् । तालिम उद्घाटन कार्यक्रममा तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उप–प्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, होम स्टे महासंघका महासचिव कृष्णलाल चौधरी, तानसेन पर्यटन समितिका संयोजक सागरमान महर्जन, वडा नं. ३ वडाध्यक्ष बाबुरत्न शाक्य, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की, तानसेन नाटाका अध्यक्ष राजीव शाह, पाल्पा उद्योग वाणिज्य संघका अधिकृत सुशील प्रधान, तालिमका फोकल पर्सन तानसेन नगरपालिकाका वरिष्ट कार्यक्रम अधिकृत दुर्गा थापा, गेट अप पाल्पाका अध्यक्ष सुशीला श्रेष्ठलगायतले तानसेनको पर्यटन प्रवर्धनमा होम स्टेले खेलेको भूमिका र होम स्टेलाई अझै व्यवस्थित र व्यवसायिक, पारिवारिक बनाउन तालिम सञ्चालन गरिएको बताए ।
तानसेन होम स्टे समितिका अध्यक्ष धनिश्वर बस्यालको अध्यक्षता, समितिका उपाध्यक्ष बामदेव बस्यालको स्वागत र सचिव सुनिता श्रेष्ठको सञ्चालनका तालिम कार्यक्रम चलेको थियो ।




