गुल्मी
गुल्मीको भाडगाउँमा मात्रै वार्षिक पाँच करोड मूल्यबराबरको सुन्तला उत्पादन हुँदै आएको छ । त्यस गाउँका एउटै व्यक्तिले वार्षिक १७ लाख बढीको सुन्तला उत्पादन गर्दै आएका छन् ।
रेसुङ्गा नगरपालिका– ३ भाडगाउँमा मात्रै वार्षिक पाँच करोड बराबरको सुन्तला उत्पादन हुने गरेको र त्यहाँका मानबहादुर घर्तीले सुन्तला उत्पादनबाट वार्षिक १७ लाख सम्म आम्दानी लिँदै आएका हुन् ।
उनको घरबारीको २३ रोपनी क्षेत्रफलमा ४ सय बोटबाट उक्त परिमाणको सुन्तला उत्पादन हुने गरेको घर्तीले बताए । घर्ती भाडगाउँमा पुरानो र सबैभन्दा बढी मूल्य बराबरको सुन्तला उत्पादन गर्ने कृषकका रुपमा गनिन्छन् । नेपाली सेनाको अवकास प्राप्त हवल्दार उनी सेनाको कालिभञ्ज्याङ्ग गणमा कार्यरत हुँदा गोरखाको मनकामाना गाउँको व्यवसायिक सुन्तला उत्पादनको सिकाइबाट आफू आकर्षित भई २०४८ सालदेखि गाउँ फर्केर आफूले व्यवसायिक सुन्तला खेती गर्न सुरु गरेको बताउँछन् ।
‘२०४० को दशकसम्म आटो खानेपाटोमा सुन्तला लगाउँदा के खाने ? भनेर बुढापाकाहरुले सवाल उठाउँथे,’ मानबहादुर घर्तीकी श्रीमती ओमकला घर्तीले भनिन्–‘आफू विवाहित भएर आउँदा २० रुपैयाँको सय वटा सुन्तला बेचेर ३ सय रुपैयाँ कमाउँदा सासु हर्ष खुशीले गदगद हुनु भएको थियो । त्यसयता त हामीले थुप्रै बारीमा सुन्तला खेती गरेका छौं ।’
घर्ती परिवारले अबको पाँच वर्षमा २० लाख बढीको सुन्तला उत्पादन गर्ने लक्ष्य लिएको छ । २ सय वटा बोटहरु सुन्तला फल दिने अवस्थामा हुर्किरहेका छन् । थप १५ रोपनी जमिनमा सुन्तला खेती विस्तार गर्ने तयारी रहेको, नेपाली सेनाको कमाइलेभन्दा बढी सुन्तला उत्पादनबाटै तीन छोरा छोरीलाई डिग्री पास गराएको र सदरमुकाम तम्घासमा दुई वटा पक्की घर समेत बनाउन सफल भएको मानबहादुर घर्ती बताउँछन् ।
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका घर्ती जम्मा २२ भोटले नेपाली कांग्रेसका उम्मेदवार बाबुराम खत्रीबाट पराजित भएका थिए । पेन्सनपश्चात् समाज सेवाका अलवा कृषि उत्पादनमा अगुवाइ गरेका घर्ती उदाहरणीय कृषकका रुपमा रहेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले विभिन्न कार्यक्रममा चर्चा गर्दै आएका छन् । उनी भन्छन्–‘भाडगाउँका घर्तीले सुन्तला उत्पादनबाटै १७ लाखसम्म कमाउन सक्छन् भने स्वदेशमै सम्भावना किन छैन ? पैसा कमाउन विदेश जानु नै पर्छ र ?’
सिंगो वडाभर वार्षिक करिब पाँच करोडको सुन्तला उत्पादन हुने त्यहाँका वडाध्यक्ष बाबुराम खत्री बताउँछन् । भाडगाउँमा उनीपछि ठुलो परिमाणमा सुन्तला उत्पादन गर्ने अर्का पुराना व्यक्ति हुन्, पूर्व गाविस सचिव शेरजंग बस्नेत । उनले गत वर्ष ८ लाख मूल्यबराबरको सुन्तला उत्पादन गरेका थिए । वार्षिक ५ लाख बराबरको सुन्तला उत्पदन गर्ने कृषिकहरुमा त्यस गाउँका पदमलाल पाण्डे, ईन्द्रबहादुर खत्री, डिल्लीराम मरासिनी, थम्मन भण्डारी, प्रेम भण्डारी, हिराबहादुर खत्री, प्रितम खत्री, खेतबहादुर खत्री, थम्मन खत्री, हरिकला रेश्मी, लालबहादुर रेश्मी र प्रकाश घर्ती क्षेत्रीलगायत रहेको अगुवा सुन्तला कृषक घर्तीले जानकारी दिए ।
सदियौंदेखि भाडगाउँ स्वादिलो र ठुला दाना भएको सुन्तलाको गाउँ भनेर चिनिन्छ । जिल्लाको नयाँगाउँ पिपलधारा, हाडाहाडे, लुम्छा, अर्लाङ्गकोटलगायतका स्थान पनि गुल्मीमा ठुलो परिणाममा सुन्तला फल्ने गाउँहरु हुन् । जिल्लाभर गत वर्ष २५ करोड बराबरको सुन्तला उत्पादन भएको र यस वर्ष करिव २५ प्रतिशत सुन्तला उत्पादनमा गिरावट आई करिव २० करोड बराबरको मात्रै सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिएका छन् ।
सुन्तलालगायतको फलफूल, तरकारी र मासु जिल्ला बाहिर बिक्री गरिंदा करोडौं रकम जिल्लामा भित्रिने गरेको छ । मोटरबाटोको सुविधा, स्थानीय सरकारको प्रोत्साहन कार्यक्रमले पनि उत्पादनमा वृद्धि भएको पाइन्छ । तर अनुदान रकम रकम भने अधिकांश दलका अगुवा कार्यर्ता पोषण र झोले कृषकहरुको हातमा पुगेका पाइएको छ ।




