भैरहवा
मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ४३ अर्ब ६६ करोड ९० लाख राजस्व संकलन गरेको छ ।
यो आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व संकलन गरेको भन्सारले पछिल्लो महिनामा राजस्व संकलन लक्ष्यअनुरुप गर्न सकेको छैन । ४ वर्षदेखि वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सारले भने २०८२–८३ को पहिलो महिनामा पाएको ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्यमा ९ अर्ब २ करोड ७२ लाख अर्थात् १ सय २ प्रतिशत राजस्व संकलन गरेको थियो ।
कार्यालयले मंसिर सम्ममा पाएको लक्ष्य ४६ अर्ब ७६ करोड २६ लाखमध्ये ९३ दशमलव ३८ प्रतिशत राजश्व संकलन भएको हो । कार्यालयले यस आर्थिक वर्षको साउन महिनामा ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार लक्ष्य पार गरी १०२ दशमलव ०४ प्रतिशत अर्थात ९ अर्ब २ करोड ९४ लाख ३४ हजार राजस्व संकलन गरेको थियो, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजारमध्ये ९७ दशमलव २५ प्रतिशत अर्थात् ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार राजस्व संकलन गरेको थियो । असोजमा १० अर्ब १ करोड ७४ लाख १ हजार लक्ष्य पाएकोमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार अर्थात् ९२ दशमलव ७१ हजार राजस्व संकलन गरेको थियो । कार्तिकमा ९ अर्ब ६० करोड २६ लाख ४० हजार लक्ष्य पाएकोमा ७ अर्ब ८९ करोड ९६ लाख ३९ हजार राजस्व संकलन गरेको छ । यस्तै मंसिरमा ८ अर्ब ५८ करोड ७७ लाख २० हजार पाएको लक्ष्यमध्ये ८ अर्ब १ करोड ४५ लाख ५९ हजार अर्थात् ९३ दशमलव ३३ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१-८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७ दशमलव ०७ प्रतिशत राजस्व संकलन गरेको थियो । राजस्व लक्ष्य पूरा नभए पनि यो वर्षको लागि एक खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजार राजस्व संकलन लक्ष्य दिएको छ । वार्षिक लक्ष्यको आधारमा अहिलेसम्मको संकलनले ३८ दशमलव ४२ प्रतिशत योगदान गरेको छ ।
राजस्व लक्ष्य योगदान गर्नेमा पैठारीतर्फ सबैभन्दा बढी मोटरसाइकल, जीप कार भ्यान, पेट्रोल, गाडी, स्पोन्ज र फेरस आइरन, सुपारी, एलपी ग्यास, अलकत्रा एमएस विलेटलगायतका बस्तु रहेका छन् ।




