जिल्लास्तरीय स्नूकर प्रतियोगिताको तयारीबारे नेपाल बिलियड्र्स, पुल तथा स्नूकर संघ रुपन्देहीका महासचिव प्रकाश क्षेत्रीसँग दैनिक लुम्बिनीका लागि आचार्य प्रदीपले गरेको कुराकानीको सम्पादित अंश ।
अहिले आयोजना गर्न लागिएको जिल्लास्तरीय स्नूकर प्रतियोगिताबारे बताइदिनुहोस् न ।
नेपाल बिलियड्र्स, पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा यो ९औँ जिल्ला खेलकुदअन्तर्गतको खुला स्नूकर प्रतियोगिता हो । यो प्रतियोगिता हामी हरेक वर्ष गर्दै आएका छौँ । संघको मुख्य उद्देश्य भनेकै खेलाडी उत्पादन गर्नु हो । रुपन्देही जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसहित हामीले यो प्रतियोगिता निरन्तर आयोजना गरिरहेका छौँ ।
प्रतियोगिता आयोजना गर्दा मुख्य चुनौती के–के छन् ?
सबैभन्दा ठूलो चुनौती भनेको कभर्ड हलको अभाव हो । ब्याडमिन्टन, भलिबलजस्तै स्नूकरका लागि पनि कभर्ड हल आवश्यक पर्छ । तर स्थानीय, प्रदेश वा केन्द्र सरकारबाट अहिलेसम्म यस्तो पूर्वाधार उपलब्ध हुन सकेको छैन । त्यसैले हामीले प्रतियोगिता प्रायः निजी क्लबहरूमा इन्डोरमै गर्नुपरेको छ ।
कभर्ड हल भएमा के फाइदा हुन्छ ?
कभर्ड हल भए कम्तीमा दुई–तीन सय दर्शक अट्ने व्यवस्था हुन्थ्यो । दर्शक बढेपछि प्रचारप्रसार पनि हुन्थ्यो र खेलाडीहरूको मनोबल अझै उच्च हुन्थ्यो । पत्रकार साथीहरूले पनि यस क्षेत्रमा राम्रो भूमिका खेल्दै आउनुभएको छ, जुन निरन्तर रहेमा खेल जनस्तरसम्म पुग्ने हाम्रो विश्वास छ ।
अहिले प्रतियोगिताको तयारी कहाँसम्म पुगेको छ ?
अहिले प्रथम र द्वितीय हुने खेलाडीका लागि कप खरिदको तयारी भइसकेको छ । टेबल सेटअप र सिट व्यवस्थापन दुई–तीन दिनभित्र पूरा हुनेछ । प्रतियोगितामा रुपन्देहीसँगै नजिकका पाल्पा लगायत अन्य जिल्लाका खेलाडीहरू पनि सहभागी हुनेछन् ।
सहभागी खेलाडी संख्या र छनोट प्रक्रिया कस्तो छ ?
हामीले खेलाडी कार्ड प्रणाली लागू गरेका छौँ । कार्ड भएका खेलाडी मात्र सहभागी हुन पाउनेछन् । कुल १२८ जना खेलाडी सहभागी गराउने योजना छ । बुटवल उप–महानगरपालिकाले मुख्य सहयोग गरेको छ ।
प्रतियोगिताको अनुमानित खर्च र पुरस्कार राशि कस्तो छ ?
अनुमानित खर्च करिब १५ लाख रुपैयाँ छ । प्रथम पुरस्कार १ लाख, दोस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । साथै हाईएस्ट ब्रेक, बेस्ट डिसिप्लिन र राइजिङ प्लेयर गरी पाँचवटा विशेष पुरस्कार पनि राखिएका छन् । जिल्लास्तरमा यो नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिमध्ये एक हो भन्ने हाम्रो बुझाइ छ ।
यस प्रतियोगिताले खेलाडीहरूमा कस्तो प्रभाव पारेको छ ?
ठूलो पुरस्कार राशिका कारण खेलाडीहरूको मनोबल निकै बढेको छ । अहिले नै खेलाडीहरू तयारीमा जुटिसक्नुभएको छ । यसले रुपन्देहीलाई राष्ट्रियस्तरमा चिनाउने र नयाँ खेलाडी उत्पादन गर्ने ठूलो भूमिका खेलेको छ ।
रुपन्देहीमा स्नूकर खेलको सुरुआत र तपाईंहरू यसमा कसरी आबद्ध हुनुभयो ?
यस खेलमा हामीलाई अग्रज दाजुहरू–सञ्जय रत्न भद्राचार्य, प्रमोद दाइ, दुर्गा दाइ र भैरवबाट बिजु दाइहरूले प्रेरित गर्नुभएको हो । उहाँहरूकै खेल देखेर हामी यसमा लाग्यौँ र संघमा पनि आबद्ध भयौँ । अग्रजहरूले जगाएको यो खेललाई हामीले निरन्तरता दिन प्रयास गरिरहेका छौँ ।
रूपन्देहीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल खेलाडी को–को छन् ?
रेगन श्रेष्ठ रुपन्देहीकै गर्व हुनुहुन्छ । उहाँले नेपालभरि हजारौँ ट्रफी जित्नुभएको छ र सार्कस्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । हाल कुलदीप (कुलल) भाइजस्ता खेलाडीहरू नेपालका टप एट खेलाडीहरूमध्ये पर्न सफल हुनुभएको छ र उहाँ पनि यो प्रतियोगितामा सहभागी हुनुहुन्छ ।
रूपन्देहीमा स्नूकर खेलाडी र क्लबहरूको अवस्था कस्तो छ ?
हाल रुपन्देहीमा करिब १३० वटा क्लब दर्ता छन् । सबै क्लब नियमित भने छैनन् । कार्ड वितरणका आधारमा करिब १४० खेलाडीको तथ्यांक छ । तर सबै खेलाडी नियमित प्रतियोगितामा सहभागी हुँदैनन् ।
स्नूकर खेललाई अझै व्यवस्थित गर्न के आवश्यक देख्नुहुन्छ ?
स्नूकर हाई–प्रोफाइल खेल हो । यसमा ड्रेस कोड, लाइटिङ, अनुशासन सबै कडाइका साथ पालना गर्नुपर्छ । अहिले नेपालमा औपचारिक स्नूकर एकेडेमी छैन । यदि सरकारले कभर्ड हल र प्रशिक्षण केन्द्रको व्यवस्था गरिदिएमा यो खेल अझै व्यवस्थित र व्यावसायिक बन्थ्यो ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
स्नूकर खेल रुपन्देहीमा विगत २०–२२ वर्षदेखि निरन्तर हुँदै आएको छ । संघले पछिल्लो १०–१५ वर्षदेखि नियमित प्रतियोगिता गर्दै आएको छ । सरकार, स्थानीय तह र सरोकारवाला निकायको सहयोग पायौँ भने रुपन्देहीलाई स्नूकरको केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ भन्ने विश्वास छ ।




