दैनिक लुम्बिनी आजदेखि ३८औँ वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । प्रिय पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूको न्यायो माया र साथले अनेकौ आरोह–अवरोह पार गर्दै हाम्रो यात्रा अघि बढिरहेको छ । हाम्रा आरम्भका दिनहरु सहज थिएनन् ।
निरंकुश पञ्चायती शासन व्यवस्थाको दमनका सामु अदम्य साहसका साथ हामी उभियौँ । मुलुकमा प्रजातन्त्र बहाली र नागरिक अधिकारका लागि अब्बल रूपमा प्रस्तुत भएको समाजले अनुभूति गर्दा हामीलाई गौरवबोध हुन्छ । त्यो कठिन समयमा अदम्य साहसका साथ उभिने संस्थापक सम्पादक कर्णबहादुर कार्कीसहितको सम्पादन र व्यवस्थापन टिमलाई हामी स्मरण गर्दै सम्मान व्यक्त गर्दछौँ ।
अग्रजहरुले कठिन समयमा हतास र निराश नभई अघि बढेका घटनाले हामीलाई सबैखालका चुनौतीको सामना गर्न सक्ने आत्मबल र सामर्थ्यप्राप्त भएको छ । २०४६ साल चैत २६ गते निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको आगमन भयो । त्यसपछि फराकिलो मैदानमा प्रेस स्वतन्त्रताको उपभोग गर्दै नागरिक अधिकार, राष्ट्रियता र जनजीवीकाको सवालमा सधैँ खरो उत्रेर पत्रकारिताको असल अभ्यास गर्यौँ ।
बहुदलीय व्यवस्था आएको केही वर्षमै देशमा सशस्त्र द्वन्द्व सुरु भयो । माओवादी सशस्त्र द्वन्द्वका बेला संकुचनमा परेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका कारण उत्पन्न कठिन परिस्थितिको सामना गर्दै अविचलित रूपमा अघि बढ्न सफल भएका छौं ।
दुई सय ३७ वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएपछि मुलुक नयाँ ढंगले अघि बढेको छ । नागरिकले चुनेका प्रतिनिधि रहेको संविधानसभाले संविधान बनाएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई यो संविधानले संस्थागत गरेको छ ।
विविधतायुक्त मुलुकको तस्विरलाई संविधानले संस्थागत गरेको छ । व्यवहारिक कार्यान्वयन गर्दै जाँदा संविधानलाई अझै गतिशील दस्ताबेज बनाउन सक्दा मात्रै प्राप्त उपलब्धिको रक्षा हुन सक्छन् । भदौ २३ र २४ को जेन जी आन्दोलन र विध्वंशले २०६२/०६३ को आन्दोलनको जगमा बनेको संविधान धर्मराएको छ ।
शान्तिपूर्ण प्रदर्शन भड्किदा संसद भवन परिसर तोडफोड र त्यसपछि अनियन्त्रित ढंगले भएको गोली प्रहारले भएको अकल्पनीय मानवीय क्षति भएको छ । त्यसपछि भएको विध्वंशमा सार्वजनिक र निजी सम्पत्तिको जुन ढंगले क्षति भयो, यो क्षतिको असर समाजमा चौतर्फी देखिएको छ ।
माओवादी सशस्त्र विद्रोहका बेला समाजमा लागेका घाउ पुरिन बाँकी रहेकै बेला जेनजीका नाममा जुन खालको घटना भयो, यसको व्यवस्थापन गर्न राजनैतिक दलको अग्रसरता भएन भने मुलुकले अकल्पनीय क्षति व्यहोर्ने जोखिम बढेको छ । मुलुकलाई अनिश्चय र अस्थिरताको दुष्चक्रबाट बचाउन खबरदारी गर्न आवश्यक छ । जेनजी आन्दोलनको बलमा संवैधानिक दायरा बाहिरबाट सरकार गठन भयो, संवैधानिक प्रक्रिया बाहिरबाट सरकार गठन भएपछि अनेकौँ आशंका र प्रश्न उठेका छन् ।
फागुन २१ गते चुनावको मिति घोषणा भएको छ । प्रधानमन्त्री र मन्त्रीहरुले तोकिएकै मितिमा चुनाव हुन्छ भनिरहे पनि घोषित मितिमा चुनाव हुन्छ भन्ने विश्वासिलो आधार तयार हुन सकिरहेको छैन । अदालतमा विचाराधीन रहेको संसद विघटनबारेको मुद्दाको टुंगो लाग्दा मात्रै चुनावको विषय अघि बढ्न सक्छ ।
राजनैतिक दलसँगको सहकार्य र समन्वयबाट मात्रै चुनावको वातावरण बनाउन सकिन्छ भन्ने हेक्का सरकारलाई हुन आवश्यक छ ।
अहिले सूचना प्रविधिको विकास र विस्तारले समाज डिजिटल युगतिर प्रवेश गरेको छ । सूचना प्रविधिको विकास र विस्तारले ल्याएको परिवर्तनले परम्परागत ढंगले चल्दै आएका आमसञ्चार माध्यम संकटमा पर्दै गएका छन् । त्यो संकटको सामना गर्दै प्रविधिको प्रयोग र विस्तारलाई
बढाउँदै बदलिदो परिवेशमा आफूलाई रूपान्तरण गर्दै अघि बढ्ने हाम्रो पहलकदमीमा प्रिय पाठक, विज्ञापनदाता र शुभेच्छुकको साथ र सहयोग आवश्यक छ । अहिले समाजमा मिथ्या सूचनाको आतंक छ ।
तथ्यमा टेकेर सत्यलाई स्थापित गर्नुपर्नेमा तथ्यहिन सूचना सम्प्रेषणले समाजलाई दिग्भ्रमित पारेको छ । मिथ्या सूचनाले अराजक बन्दै गएको समाजलाई सही सूचना सम्प्रेषण गरी लयमा हिडाउनुपर्ने चुनौतीपूर्ण अवस्थामा हामी उभिएका छौँ । तथ्यमा टेकेर सत्यलाई स्थापित गर्न सक्दा मात्रै विगतको गौरव जोगिन सक्छ ।
प्रविधिको प्रयोग र विस्तारले समाजमा ल्याएको परिवर्तनलाई आत्मसात गर्दै नयाँ ढंगले अघि बढ्ने हाम्रो अभियानमा प्रिय पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूको न्यानो माया र सार्थक सहयोगको अपेक्षा गरेका छौँ ।
मोहन चापागाईं
अध्यक्ष
सिद्धार्थ पब्लिकेशन प्रा.लि.




