आज २६ डिसेम्बर अर्थात् पौष ११ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा चिनियाँ सर्वहारा विश्व क्रान्तिका महान क्रान्तिकारी योद्धा क. माउत्सेतुङको जन्म दिन हो । उहाँको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुवान प्रान्तमा भएको थियो । क.माओ चिनियाँ सर्वहारा कम्युनिष्ट क्रान्तिको योद्धा र नेता मात्र नभएर विश्व सर्वहारा कम्युनिष्ट क्रान्तिका महान नेता र योद्धा पनि हुनुहुन्छ । त्यसैले अहिले विश्वमा माक्र्सवाद–लेनिनवाद मात्रै नभएर माओवादलाई समेत विश्व सर्वहारा माक्र्सवादी– लेनिनवादी क्रान्तिको मुख्य पथप्रदर्शक सिद्धान्तको रुपमा माओवादलाई लिन थालिएको छ । महान सर्वहारा क्रान्तिको ५०औं वर्ष गाँठको अवसरमा विश्वका ५० भन्दा बढी माओवादी कम्युनिष्ट पार्टीको संयुक्त वक्तव्यमा माओवाद– जिन्दावाद भन्दै विश्वव्यापी रुपमा आह्वान गरिएको छ । ‘विश्व भरका कम्युनिष्टहरुले साम्राज्यवाद विरोधी युद्ध कार्यसित आफ्नो भूमिका अंगाल्नु पर्दछ, त्यसरी नै साम्राज्यवादलाई संसारबाटै लखट्दै र विश्व सर्वहारा क्रान्तिको नयाँ महान लहर निर्माण गर्ने पथप्रदर्शक सिद्धान्तको रुपमा माओवादलाई सिरोपर गर्नु पर्दछ । माओवादी कमाण्डमा संसारबाटै साम्राज्यवादलाई लखट्ने सर्वहारा विश्व क्रान्तिको पथ प्रर्दशक सिद्धान्तको रुपमा राख्ने संघर्षको सुरु गर्दै विश्वमा भएका माक्र्सवादी–लेनिनवादी–माओवादी कम्युनिष्ट पार्टीको निर्माण र पुनर्निर्माणसम्बन्धी बाँकी रहेको र ढिलो भइसकेको कार्य सम्पन्न गर्नका लागि जुन चुनौती छ, त्यो पूरा गर्नु हो र त्यसरी नै जति धेरै देशहरुमा सम्भव हुन्छ त्यति धेरै देशहरुमा जनयुद्ध सञ्चालन गर्नु हो ।’
यसरी क. माओ र उहाँले प्रतिवादन गरेको माओवाद आज विश्वव्यापी सर्वहारा क्रान्तिको मूल बाटो बनेको छ । तर नेपालका माओवादीहरुले भने यसलाई छोड्दै जान थालेका छन् । यही माओवादी लाइनका आधारमा गरिएको १० वर्षे माओवादी जनयुद्धविपरीत यही सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ताअन्तर्गत कथित समाजवादको नारा फलाक्दै छन् । जबकि हिजो अर्थात् २०५२ साल फागुन १ गते यही माओवादी जनयुद्धको ऐतिहासिक थालनीका लागि पहिलो योजनाको प्रस्तावको तेस्रो बुँदामा यो भनिएको थियो । ‘एक पटक हतियार उठाएपछि त्यसलाई अन्तिमसम्म लैजाने दृढता विना सशस्त्र संघर्ष थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुंगाउने साधन बन्न कदापि दिइने छैन ।’ यस अर्थमा तत्कालीन माओवादी नेतृत्व खासगरी प्रचण्ड–बाबुराम–बादल र विप्लवहरुले माथि भने जस्तै सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध गरेका छन् । बाबुरामले त माओवाद मात्रै होइन सर्वहारा वर्गीय कम्युनिष्ट पार्टी नै परित्याग गर्दै दलाल पूँजीवादी नै बनिसकेका छन् भने प्रचण्ड–बादलहरु एमाले पिछलग्गु बन्दै हिडिरहेका छन् ।
त्यस्तै नयाँ साधुले धेरै खरानी घस्दै हिंडे जस्तै विप्लव कम्युनिष्ट पार्टीले पनि अहिले कमलको फूल चुनावी चिन्ह लिई यही सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ता अन्तर्गतको संसदीय निर्वाचनका लागि मरिहत्ते नै गर्न थालिसकेको छ । प्रचण्ड जस्तै प्रधानमन्त्री नै बन्ने नेत्रविक्रम चन्दले सपना देख्दै छन् । पहिलो अपराध त प्रचण्ड–बाबुराम र बादलहरुले १२ बुँदे दिल्ली सम्झौता गरी १० वर्षे माओवादी जनयुद्धको गला रेटेर गरे । तर यसको विरोध गर्दै पुनः एकीकृत जनक्रान्तिको नाममा विप्लवले गरेको दुई वर्षे युद्धप्रति अहिले अर्काे अपराध गर्दैछन् विप्लवले । यदि यस्तै राज्य सत्ताअन्तर्गतकै संसदीय निर्वाचनमा नै जानु थियो भने फेरि त्यो जनविद्रोह र युद्ध किन ? त्यतिबेलै प्रचण्ड–बाबुरामकै गोडा मोली चुनावी अभियानअन्तर्गत सांसद बनेर मन्त्री नै बनिसकेको भए भइहाल्थ्यो । बेकार जनतालाई सास्ती र अर्काे सहिदको खेती ?
आज क. माओको जन्म दिनको यो अवसरमा अहिले हाम्रो देशको योे तत्कालीन परिस्थितिअन्तर्गत क. माओलाई सम्झिदा अझ धेरै सान्दर्भिक भएको छ । क. माओले चिनियाँ क्रान्तिका लागि संयुक्त मोर्चाको नीति अघि सार्नु भयो । जापानिज साम्राज्यवादका विरुद्ध लडनका लागि कोमिङताङ पार्टीसँग सहकार्य गर्नु भयो । त्यति मात्रै होइन तत्कालीन शासक चाङकाईसँग समेत संयुक्त सरकारको नीति अगाडि बढाउनु भयो । मिलिजुली संयुक्त सरकारको नीति अघि सार्नु भयो । जुन अवस्था अहिले हाम्रो देशमा देखिंदैछ त्यसका लागि यो क. माओको संयुक्त मोर्चा अनि संयुक्त मिलिजुली सरकारको नारा अत्यन्त उपयुक्त हुने देखिंदैछ । खासगरी गत भाद्र २३ र २४ मा भएको जेनजीहरुको आन्दोलनले नेपालको राजनीतिक मोड नै बदलिएको छ । साम्राज्यवादी हस्तक्षेप एकदमै बढेर गएको छ । जेनजीको नाममा साम्राज्यवादी दलालहरु सक्रिय भइरहेका छन् । एक प्रकारले नेपालको पुरानो सत्तालाई नै साम्राज्यवादीहरुले आफ्नो बनाइसकेका छन् । सरकार नै जेनजीहरुको बनेको छ । यो अवस्थामा देशको राष्ट्रियता र स्वाभिमान प्रमुख बनेको छ । त्यसैले क. माओको संयुक्त मोर्चाको नीति नेपालमा पनि जरुरी भइसकेको छ । त्यसका लागि क.माओले भनेको तीन जादुगरी हतियार पहिलो एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी दोस्रो जनसेना र तेस्रो क्रान्तिकारी मोर्चा नेपालको सन्दर्भमा पनि एकदमै जरुरी भएको छ ।
त्यसैले अन्त्यमा आजको यो क. माओत्सेतुङको जन्म दिनको अवसरमा उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जलीसहित लाल सलाम दिँदै साम्राज्यवादबारेमा क. माओले भन्नुभएको केही अंशसहित यो लेखको अन्त्य गर्न चाहन्छु–‘संसारभरिका साम्राज्यवादीहरु र सबै प्रतिक्रियावादीहरुले जनताका कार्यबारे लिने तर्क हो खलबल्याउनु, असफल, फेरि खलबल्याउनु फेरि असफल जबसम्म आफ्नो अन्तिम अवस्थामा आइपुग्दैन र उनीहरु कहिल्यै यस नीतिभन्दा बाहिर जाँदैनन्् । यो नियम हो । साम्राराज्य नियम हो ।
साम्राज्यवाद मापाको हुन्छ । यसको तात्पर्य के हुन्छ भने यसको स्वभाव कहिल्यै फेरिने छैन, साम्राज्यवादीहरुले आफ्नो बगरे चुप्पी कहिल्यै भुईमा राख्ने छैनन् । अन्तिम समयसम्म पनि उनीहरु कहिल्यै बुद्ध हुने छैनन् । यसमा जनताको तर्क चाहिं हो संघर्ष गर्नु असफल फेरि संघर्ष गर्नु फेरि असफल विजय प्राप्त नगरुन्जेल संघर्ष गरिरहनु र उनीहरु पनि यो नीति बाहिर कहिल्यै जाने होइन । यो अर्काे माक्र्सवादी नियम हो । रसियाली जनताको क्रान्ति यही नीति अनुसार चलेको थियो र चिनियाँ जनताको क्रान्ति पनि यसै नियमलाई मानेर चलेको छ ।’ ठीक यसरी नै नेपाली जनताको क्रान्ति पनि अघि बढ्ने छ ।




