बुटवल । नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि बुटवलमा हुने नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
बुटवलस्थित खस्यौली स्नूकर क्लबमा एक हप्तासम्म सञ्चालन हुने प्रतियोगिताको अधिकांश तयारी पूरा भई अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । प्रतियोगितामा रुपन्देही जिल्लाका १ सय २८ जना खेलाडीहरुबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक विजय गुरुङले जानकारी दिए । प्रतियोगितामा भाग लिने खेलाडीको नाम दर्ता गर्ने समय सीमा पुस १२ गते दिउसो ३ बजेसम्म रहेको छ । प्रतियोगिताको टाइसिट आइतबार सार्वजनिक हुने संयोजक गुरुङले बताए ।
प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५÷५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने छन् । स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक भएको गुरुङले बताए । प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको नैतिक सहयोग महत्वपूर्ण रहको संघका अध्यक्ष सुजन पुनले बताए ।
१५ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग हुने संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ५ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको क्षेत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएको उनले जानकारी गराए ।
जसअनुसार खेल उपसमिति संयोजकमा विजय गुरुङ तथा सदस्यहरुमा समुन्द्र अमात्य र लक्ष्मण आले, आर्थिक उपसमिति संयोजकमा संघका महासचिव प्रकाश क्षेत्री तथा सदस्यहरुमा प्रदीप विक र बिर्जु केसी, प्रचार प्रसार उपसमिति संयोजकमा टिआर शर्मा तथा सदस्यहरुमा सुशान्त पाण्डे र मिन गाहा भएका छन् । यस्तै अतिथि सत्कार तथा खाजा व्यवस्थापन उपसमिति संयोजकमा पुरन राना तथा सदस्यहरुमा रबिन श्रेष्ठ र सुरज पुन चयन भएका छन् भने प्राविधिक उपसमिति संयोजकमा विराट भट्टचन तथा सदस्यहरुमा रमेश मल्ल र सागर गाहा मगर रहेका छन् ।
(((((((((((((((((




