२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्र बनाउन जोड

लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्र बनाउन जोड

लुम्बिनीलाई विश्वभरका एक अर्ब बौद्धमार्गीको आकर्षणको केन्द्र बनाउन सकिने सरोकारवालाले औंल्याएका छन् ।

लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्र बनाउन जोड

लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्र बनाउन जोड

लुम्बिनीलाई विश्वभरका एक अर्ब बौद्धमार्गीको आकर्षणको केन्द्र बनाउन सकिने सरोकारवालाले औंल्याएका छन् ।

लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्र बनाउन जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • बुटवल
    बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिवल’ अन्तर्गत ‘लुम्बिनी : लगानी र पर्यटनको सामथ्र्य’ बारे भएको छलफलमा लुम्बिनीको गुरुयोजनामै यो ठाउँलाई पवित्र उद्यान (बगैंचा) का रुपमा परिभाषित गरिए पनि त्यसअनुसार हुन नसक्नु विडम्बना भएको औंल्याए । गुरुयोजनामा उल्लेख पवित्र उद्यानको मूल मर्म लुम्बिनीलाई अन्य पर्यटन नभई आध्यात्मिक पर्यटन केन्द्र बनाउने रहेको लुम्बिनीका अगुवा होटेल व्यवसायी लिलामणि शर्माले बताए । उनले लुम्बिनीलाई विश्वभरका एक अर्ब बौद्धमार्गीको आकर्षणको केन्द्र बनाउन सरकारले विशेष योजना र नीति  बनाउनुपर्ने बताए । 


    ‘आध्यात्मिक टुरिजम नै लुम्बिनीको सामथ्र्य हो,’ शर्माले भने–‘गुरुयोजना अनुसार सिंगो लुम्बिनीलाई पवित्र बगैंचाका रुपमा विकास गर्न सके विश्वभरका एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी र मायादेवी मन्दिर बन्न सक्छन् ।’ 


    लुम्बिनी सांस्कृतिक  नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान र लगानी कोषको चार पर्खाल बाहिर हुन नसकेको गुनासो गरिन् । पुरातात्विक स्थल उत्खनन्मा मात्र राज्यको लगानी भएको औंल्याउँदै उनले संघीय र प्रदेश सरकारले लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिनुपर्ने आग्रह गरिन् । उनले लुम्बिनीमा बर्थिङ हस्पिटल बनाउन विदेशी लगानी भित्राउने प्रकृया अघि बढेको बताइन् । फोहोरको दीगो व्यवस्थापन प्रकृया अघि बढेकाले अब विदेशी लगानी भित्रिन सहज भएको हरिजनले बताइन् ।  उनले  नगरपालिकाले आफ्नै बजेटमा ध्यान केन्द्र बनाएको र पर्यटन सूचना केन्द्र स्थापना गरेको जनाइन् । 


    लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले  विश्व सम्पदा स्थल लुम्बिनी बौद्ध शिक्षा, शान्ति र सहअस्तित्वको केन्द्रको रुपमा विकास हुनुपर्ने स्थल भएको बताए । 


    लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको निर्देशन र नेपाल सरकारको योजना र बजेटभन्दा बाहिर गएर जथाभावी लगानी र काम गर्न पाउँदैन भन्ने तथ्य बिर्सन नहुने राईले आग्रह गरे । अहिलेसम्मका कार्यक्रम र बजेट लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि मात्र हुने गरेको उनले बताए । लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ हुनुमा पर्याप्त बजेट अभाव भएको राईले गुनासो गरे ।  भारतीय पर्यटन व्यवसायीमार्फत् लुम्बिनीमा भारतीय र विदेशी पर्यटक आउने गरेकाले लुम्बिनीमा बास नबसी एक दिनमै फर्किने परिपाटी रहेको, तर पछिल्लो समय गुणस्तरीय पर्यटक भित्राउने र बसाई लम्ब्याउने क्रम बढ्न थालेको राइले बताए । 
    छलफलमा  कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठले लुम्बिनीको पर्यटन विकासका लागि पर्यटकमैत्री नीति, प्रडक्ट र व्यवहार हुनुपर्ने औंल्याए । पर्यटनमा लगानी सरकारले नभई व्यवसायीले गर्ने र पर्यटन विकासको वातावरण र नीतिगत सहजता सरकारले बनाइदिनु पर्ने श्रेष्ठले बताए । लुम्बिनीका उद्यानहरुलाई विश्वभरका बौद्धमार्गीहरु आएर ध्यान गर्ने ध्यान केन्द्र बनाउन राज्य र निजी क्षेत्रले विशेष योजना बनाउनुपर्ने श्रेष्ठले सुझाव दिए । 


    यो सेसनको सहजीकरण क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले गरेका थिए । न्यूज फेस्टिवलमा ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’,‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयमा पनि छलफल भएको थियो । 
    फेस्टिभलअन्तर्गत पहिलो सेसन ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’ मा भएको नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले ग्लोबलाइजेसनको अवस्थामा सीमापार सम्बन्ध अति आवश्यक भएको बताइन् । उनले दैनिक जीवनसँग जोडिएका सवाल, दुई देशबिच कस्ता नीति बनाउने विषय र समस्या समाधानका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण हुने बताइन् । नेपाल र भारतको पत्रकारिताबिच सकारात्मक सम्बन्ध विकास गर्न र एक अर्का देशको विषयमा तथ्यहीन र सतही आरोप र लाञ्छना लगाउने काम बन्द गर्नु पर्ने यसले दुबै देशका पत्रकार असुरक्षित हुने औंल्याइन् । 


    एक अर्काको देशलाई हस्तक्षेप गर्न नहुने सकारात्मक पक्षलाई ख्याल गर्नुपर्ने र मिथ्या र गलत सूचना प्रवाह नगर्न उनले आग्रह गरिन् ।  मिथ्या र गलत सूचना प्रवाह रोक्न वहस, छलफल र नीतिगत संशोधन जरुरी रहेको उनको आग्रह थियो । यस्तै आचारसंहिता पालनामा दुबै मुलुकको सम्बन्धित निकायबिच समन्वय आवश्यक र कुनै पनि हिंसालाई प्रश्रय दिन नदिन दुबै देशका मिडिया र पत्रकार सजग बन्नुपर्ने उनले बताइन् । दुई देशका बारेमा लेख्ने पत्रकारहरुको नेटवर्क निर्माण र सीमापार इस्यूमा खोजमूलक समाचार लेखन तालिम प्रदान गर्न आवश्यक रहेको अध्यक्ष शर्माले औंल्याइन् । पत्रकार र मिडियामाथि भौतिक आक्रमणको जोखिम रहेकाले यसबाट जोगिन सम्बन्धित पक्षको ध्यान जानु पर्ने शर्माले सुझाव दिइन् । 


    नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले भने–‘छिमेकी फेर्न सकिंदैन । सँगसँगै बाँच्ने, अघि बढ्नुपर्ने भएकाले पत्रकारिताले समस्या मात्र देखाउने हैन, समाधान दिनुपर्छ । सोलुसन जर्नालिजम आवश्यक । युरोपका सेनजेन देशहरुको समूहकोसीमा मोबाइल नेटवर्कले मात्र छुट्टाउँछ, देशको भौगोलिक सीमाले होइन । त्यस्तै भारतसँग संस्कार संस्कृति र भाषामा समानता र सहतजा भएकाले दुई देशबीच सीमापार सम्बन्ध आवश्यक । दुई देशबिच देखिने गलत बुझाईलाई चिर्न सक्नुपर्छ, मिडियाले । अप्रमाणित सूचना प्रवाह गर्नुहुँदैन । दुई देशबिचको द्वन्द्वमा मिडियाले शान्ति पत्रकारिता गर्नु आवश्यक छ । पत्रकार र मिडियाले आमाले छोरा छोरीलाई म तिमीलाई माया गर्छु भने पनि प्रश्न गर्न र साँच्चै माया गरेको हो होइन, भेरिफाइ गर्नुपर्छ ।’ 
    भारतीय पत्रकार सञ्जय सिंहले साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिन्न भन्दै नेपाल दुई ठूला शक्ति राष्ट्रको बिचमा भए पनि भारतसँग सांस्कृतिक सम्बन्ध रहेको र यसलाई थप प्रगाढ बनाउन आवश्यक रहेको बताए । पर्यटन विकासमा भारतको साथ महत्वपूर्ण हुने उनको सुझाव छ । पर्यटन विकासका लागि बौद्ध सर्किट बनाउन आवश्यक रहेको तथा सारनाथ, कुशिनगर र लुम्बिनीलाई जोड्न सकिने उनले औंल्याए । भारतमा रामजानकी सर्किट बनेको हुँदा अयोध्यासँग जनकपुरलाई जोड्नुपर्ने उनले बताए । फेक न्यूजबाट बच्न दुई देशका पत्रकारबिच सही सूचना आदानप्रदान गर्न सकिने उनले जनाए ।  ९० प्रतिशत मिथ्या सूचना न्यू मिडियाबाट प्रवाह हुने गरेका उनले बताए ।   भ्यूज बढाउने र पैसा आर्जन गर्ने उद्देश्यका कारण न्यू मिडियाले मिथ्या सूचनालाई प्रवाह गरिरहेको भन्दै उनले उनीहरुलाई पत्रकारिताको मूल्य मान्यतामा बाँध्न अपरिहार्य रहेको बताए । सिक्किम प्रेस क्लबका अध्यक्ष भिम रावतले लोकतन्त्रको सबैभन्दा ठूलो आधार स्तम्भ पत्रकारिता भएको औंल्याउँदै दुई देशको समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताए । सिक्किम र नेपाललाई दुई देशको पर्यटन प्रवद्र्धनमा जोड्न सकिने भन्दै उनले सिक्किममा  कञ्चनजंगा पार्क र नेपालको चितवन राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनमा दुई देशबिच साझेदारी गर्न सकिने बताए । सिक्किम विश्वकै पहिलो अर्गानिक राज्य भएको र कञ्चनजंघाको राज्य भनेर चिनाउन चाहेको भन्दै उनले  लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने जनाए । 


    लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख दयानिधि गौतमले वेद र बुद्ध नेपाल र भारत दुबै देशका साझा सम्पदा भएकाले दुई देशबिचको सम्बन्ध अरु देशसँगको भन्दा बेग्लै महत्वको रहेको बताए । सूचना प्रविधिको तीव्र विकाससँगै एआईको युगमा आइसक्दा नयाँ वेद र नयाँ बुद्ध  जन्माउन सक्ने कि नसक्ने चुनौती थपिएको र यसमा दुबै देशको साझा प्रयत्न र सहकार्य आवश्यक रहेको उनले औंल्याए । मिथ्या सूचना प्रवाह रोक्न बुद्धका उपदेश र बौद्ध दर्शनले सहयोग गर्ने उनको सुझाव थियो । विभिन्न स्वार्थका कारण मिथ्या सूचना प्रवाह हुने गरेका भन्दै उनले सम्यक वचनलाई पालन गरे मिथ्या सूचना प्रवाह नहुने बताए । 
    यस्तै ‘पत्रकारितामा प्रश्न ः जिम्मेवारी र जवाफदेहिता’ विषयमा अर्को छलफल भएको छ । छलफलमा बोल्दै नेपाल प्रेस काउन्सीलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिडियाले सूचनाको दोहोरो–तेहोरो प्रमाणिकरण (भेरिफाई ) र समाचारको तहगत सम्पादन गर्नु अपरिहार्य हुने बताए । सूचनाको भेरिफाई र विना सम्पादन प्रवाह गरिने समाचारले समाजलाई दिग्भ्रमित पार्ने र अप्रिय घटना समेत निम्त्याउनेतर्फ सधैँ सजग बन्नुपर्ने  बताए । 


    मिडियाले राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी तीन अंगलाई निगरानी गर्ने र उनीहरुबिच पुलको काम गर्ने भएकाले मिडियालाई चौथो अंग भनिएको आचार्यले बताए । पत्रकारहरु समाचार लेख्न स्वतन्त्र भए पनि त्यसले पार्ने असर र प्रभावबारे जिम्मेवार र जवाफदेही बन्नै पर्ने बताए । 


    ‘मिडियाहरु बढी अधिकारमुखी मात्र भएर पुग्दैन, जिम्मेवारमुखी पनि  उत्तिकै हुनुपर्छ, आचारसंहिता पालना गरेकै हुनुपर्छ,’ आचार्यले भने–‘पत्रकारले आफ्नो मर्यादा राखे मात्र पत्रकारिता मर्यादित हुन्छ ।’ आचार्यले मिडियाले कर्तब्यको पालना गरे अधिकार आफैँ प्राप्त हुने बताए । 


    अन्नपूर्ण पोष्टका प्रधान सम्पादक  अखण्ड भण्डारीले मिडियाले सधैं सत्य बोल्ने, सत्य लेख्ने र सत्य व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । भण्डारीले मिडिया र पत्रकारले क्षमायाचना (सरी भन्न) र धन्यवाद भन्न कन्जुस्याई गरिरहेको औंल्याए । मिडियामा प्रविधिको प्रयोगलाई सकारात्मकरुपमा लिनुपर्ने भण्डारीले सुझाव दिए । प्रविधिले पछाडि नभई अगाडि नै लैजाने भन्दै भण्डारीले प्रविधिसंग हिंड्न नसके मिडियाहरु डाइनोसर बन्ने औंल्याए ।  रास्वपा सभापति रवि लामिछानेले मूलधारका मिडियाका सम्पादकहरुलाई १२ भाइको नामारण गरेको घटनापछि  समाजमा असल पत्रकारलाई समेत नकारात्मक दृष्टिले हेर्ने परिपाटी विकास भएको भण्डारीले बताए । मिडिया कर्मबाट माथि उठेकै व्यक्तिले अगुवा पत्रकारमाथि लगाएको १२ भाइको नामाकरणले मिडियाको विश्वसनियतामाथि अनुचित प्रहार गरेको र सिंगो समाजलाई दिग्भ्रमित गरेको भण्डारीले टिप्पणी गरे ।  भण्डारीले पार्टी निकटका पत्रकारहरुको जनवर्गीय संगठनका कारण पनि निष्पक्ष पत्रकारितामाथि प्रश्न उठेको औंल्याए । 


    उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले मिडिया सरकार र निजी क्षेत्र दुबैका लागि ऐना भएको बताए । तर सत्य सूचना दिन नसक्दा मिडियाको विश्वसनियता घटेको  भन्दै उनले सत्य सूचना छनोट गरेर मात्र प्रवाह गर्न आग्रह गरे । ढुंगा, गिट्टी, बालुवा निर्यातबारे मिडियाले विना अध्ययन मिथ्या सूचना प्रवाह गरेको दाबी गर्दै शर्माले त्यसले ठूलो संख्यामा रोजगारी गुमेको र अर्थतन्त्रमा नकारात्मक असर गरेको बताए । युवाहरुको विदेश पलायनलाई नकारात्मक मात्र नभई त्यहाँबाट ज्ञान, सीप सिकेर देशमा लागू गरेका सकारात्मक  सूचना पनि बाहिर ल्याउनुपर्ने शर्माले आग्रह गरे । 


    सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली, लागुऔषध कारोबार र बुद्ध नेपालमा जन्मेको बारे भारतीय मिडियाले पनि कलम चलाउनुपर्ने आवश्यकता शर्माले औंल्याए । निजी क्षेत्रलाई प्रवद्र्धन गर्न, लगानीमैत्री वातावरण बनाउन र पर्यटन प्रवद्र्धन गर्न मिडियाको सकारात्मक भूमिका हुनुपर्ने शर्माले अपेक्षा गरे । निष्पक्ष र आलोचनात्मक पत्रकारिताले निजी क्षेत्र र पत्रकारिता दुबै पक्षलाई फाइदा हुने शर्माले बताए ।

     
    पत्रकारिता अध्येता मिनाक्षी न्यौपानेले  मिडियामा काम गर्ने सबै पत्रकार नहुने विषयमा सबै स्पष्ट हुनुपर्ने बताइन् । समाचारको काम गर्ने मात्रै पत्रकार हुने र पत्रकारमा विशेष ज्ञान र दक्षता हुनुपर्ने उनको भनाइ थियो । पत्रकारिता अनुभवले मात्र नभई  विषयगत शैक्षिक योग्यता पनि हुनुपर्ने बताइन् । महिलाका विषयमा समाचार लेख्न, महिलाका मुद्दा उठाउन महिला पत्रकार नै चाहिन्छ भन्ने मान्यता राख्न नहुने न्यौपानेले बताइन् । 


    छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका  निवर्तमान अध्यक्ष  विपुल  पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागार्इंलगायतले मिडियाको जिम्मेवारी र जवाफदेहीताको प्रमुख काम राज्यलाई निरन्तर प्रश्न सोध्ने र बेथितिविरुद्ध खबरदारी गर्नु पर्नेमा जोड दिए ।


    फेस्टिवल उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतको पर्यटकीय सम्भावना, साँस्कृतिक र धार्मिक सम्बन्ध बढाउन यस्ता फेस्टिभलले योगदान पु¥याउने बताए । दुवै देशका मिडियाले दुवै देशको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले ठूलो जनसंख्या भएको भारतबाट पर्यटक भित्राएर नेपालको आर्थिक समृद्धि हासिल गर्न सकिने औंल्याए ।


    कार्यक्रममा छिमेकी मुलुक भारतबाट ४० जना पत्रकार सहभागी भएका थिए । पत्रकारिता क्षेत्रको विकास, लुम्बिनीको प्रवद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij