गुल्मी । जिल्लाको मालिका गाउँपालिका–६ अर्जैमा आज बिहान भएको सवारी दुर्घटनामा काकी–भतिजाको मृत्यु भएको छ भने एक बालकसहित दुई जना घाइते भएका छन्।
आज बिहान करिब पौने ८ बजेको समयमा अर्जै राम्चेस्थित ढलान गरिएको उकालो सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ अर्जैकी अन्दाजी ५५ वर्षीया मनकला अर्याल र मोटरसाइकल चालक ३६ वर्षीय बसन्त अर्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार मनकला अर्याल छोरी गर्भवती भएकाले अस्पताल जानुपर्ने तयारीमा रहेकी थिइन्। घरमा एक्लै रहेका नातिलाई लिन छिमेकी भतिजा बसन्त अर्यालको मोटरसाइकलमा चढेर इस्मा गाउँपालिका–६ अमरपुर टुनिपाटा कल्लेनीस्थित छोरीको घर गएकी उनी फर्किने क्रममा दुर्घटनामा परेकी हुन्। घर पुग्न करिब दुई मिनेट मात्र बाँकी रहँदा विपरीत दिशाबाट आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मनकलाका ६ वर्षीय नाति अनुभव गिरी र सडक हुँदै हिँडिरहेकी मालिका गाउँपालिका–५ छापा स्थित जमल पोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते भएका छन्। शिक्षिका अर्यालको अवस्था सामान्य रहेको र बालक अनुभव गिरीलाई संवेदनशील अंगमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए।
दुर्घटनामा संलग्न बस लु.प्र.०१–००१ ख ०३५५ नम्बरको रहेको र सो बस सिद्ध इंग्लिस बोर्डिङ स्कुल, अर्जैका शिक्षक तथा विद्यार्थी पिकनिक जानका लागि भाडामा लिइएको प्रहरीले जनाएको छ। बस चालक धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४१ वर्षीय चुरा बहादुर थापालाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
घटनापछि अर्जै राम्चे क्षेत्र शोकमा डुबेको छ। मालिका गाउँपालिका–६ का पूर्व वडाध्यक्ष शोभाखर गिरिले घर नजिकै पुग्दा भएको दुर्घटनाले सम्पूर्ण अर्जैवासी स्तब्ध भएको बताउँदै मृतकको शव बुझ्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
जिल्ला प्रहरी प्रमुख एसपी नारायण प्रसाद अधिकारीका अनुसार चिकित्सकले पुष्टि गरेपछि मात्र मृतकको आधिकारिक विवरण सार्वजनिक गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




