बुटवल निवासी व्यवसायी लोकराज पोखरेल अहिले नेपाल ट्रक यातायात व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । पश्चिमाञ्चल यातायात व्यवसायी संघको कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भई सफल नेतृत्व गर्नुभएको छ । ट्रक व्यवसायीहरू धमाधम पलायन भइरहेका बेला उहाँ व्यवसायीलाई टिक्ने वातावरण बनाउन लाग्नुपर्ने बताउनुहुन्छ । ‘नेपालका ३२ ट्रक व्यवसायी संस्था आबद्ध नेपाल ट्रक यातायात व्यवसायी महासंघको आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन शुभेच्छुकले आग्रह गरिरहेका छन् । सल्लाह गर्दैछु, सबैसंग सल्लाह गरेर नै निर्णयमा पुग्छु ।’–उहाँले भन्नुभयो ।
ट्रक व्यवसायीको अवस्था कस्तो छ ?
नेपालमा ट्रक व्यवसायको अवस्था आशा लाग्दो छैन । लामो समयदेखि यो व्यवसायमा लागेका व्यवसायी धमाधम पलायन भइरहेका छन् । व्यवसायी व्यवसायमा टिक्नै नसक्ने अवस्थामा छन् । भारतीय ट्रकका कारण व्यवसायी मारमा छन् । भारतीय ट्रकको दबदबा छ ।
भारतीय ट्रक ७२ घण्टा निर्वाध रूपमा गुड्न पाउँछन् । उनीहरूले ओभरलोड बोक्दा समेत कुनै कारबाही हुँदैन । भारतमा गाडीको मूल्य सस्तो छ । भारतमाभन्दा तीन गुणा महँगो छ, यहाँ गाडीको मूल्य । धेरै मूल्यमा किनेको वस्तुले सस्तो मूल्यमा किनेको वस्तुले दिने सेवाभन्दा सस्तो हुने नै भयो । भारतीय ट्रकसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाले नेपालमा ट्रक व्यवसायबाट व्यवसायी पलायन भइरहेका छन् ।
यो समस्याका बारेमा तपाईंहरूले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ, व्यवसायी पलायन हुन लाग्दा समेत सरकारले समस्या सुनेन् ?
हामीले धेरै पहिलेदेखि भारतीय ट्रक निर्वाध चल्दा हामी समस्यामा प¥यौं । ओभरलोडले पनि हामीलाई समस्या भयो । ओभरलोड समस्याको असर व्यवसायीलाई मात्रै होइन्, नेपालको सडकको आयु अनपेक्षित ढंगले घटिरहेको छ । सरकारले समस्या समाधान गर्न ध्यान दिएन् ।
सडकमा ट्रक बढी चल्न थालेको सात वर्ष भयो । दिन प्रतिदिन बढ्दो छ । हामीले भैरहवा नाकाबाट भारतीय ट्रक मनपरी आउन कडाइ ग¥यौं भने वीरगञ्जबाट आउँछन् । उता कडाइ भयो, अर्कै नाका प्रयोग गर्छन् । सस्तोमा सामान बोक्ने भारतीय ट्रकले नाका बदलीरहन्छन् ।
उनीहरूलाई माथिल्लो तहबाट नै संरक्षण भएको छ । सुनौलीबाट काठमाडौंसम्म नै दलालको सेटिङ छ । सुनौली नाकाबाट ट्रक छिर्दै गर्दा दलाल चढेर काठमाडौं पुग्छ, बाटोमा आउने सबै समस्या समाधान उसैले गरिदिन्छ । पुलिस, प्रशासनबाट आउनले झमेला उसैले समाधान गरिदिन्छ । त्यसबापत दलालले भारतीय गाडीबाट मासिक पैसा लिन्छन् । ओभरलोड बोक्ने भारतीय गाडीलाई छुट लिने राज्यका निकाय पनि उनीहरूकै धन्दामा संलग्न छन् ।
तपाईंले सेटिङको कुरा गर्नुभयो, तोड्न सकिंदैन् ?
भारतीय ट्रक व्यवसायी, दलाल, प्रहरी प्रशासनबिचको सेटिङ तोड्न सकिन्छ । इमान्दारिता चाहिन्छ । इमान्दारिताको खडेरी परेको समाजमा कसरी सकिन्छ ? ओभरलोड बोक्ने भारतीय गाडीका कारण नेपाली व्यवसायीलाई मात्रै नोक्सान भएको छैन, मुलुकको सडक छियाछिया भएको छ, देशप्रतिको माया हुनुप¥यो नि । पैसा पाए जे पनि गर्न तयार हुने जमातका सामु सेटिङ तोड्न कठिन छ, तर प्रयास छाड्न हुन्न । हाम्रो इमान्दार प्रयास निरन्तर जारी छ, हामी खबरदारी गरिरहेका छौँ । समाजमा कुनै बेला यो समस्याको समाधान हुन सक्ला नि, हामी निराश नभई अघि बढ्छौँ ।
ओभरलोडबारे अझै प्रष्ट पारिदिनुस् है ?
नेपालमा ओभरलोड बोक्ने गाडीलाई कडाइ भएन । जरिवाना काटेर उनीहरूलाई बोक्ने छुट दिइएको छ । जरिवाना २ हजारसम्म काटिन्छ, तर अलि धेरै ओभरलोड बोकेपछि २ हजार जरिवाना तिर्न पुग्ने पैसा पुगिहाल्छ नि । ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन र १२ चक्के ट्रकले २१ टन बोक्न पाउँछन् । तर एउटा ट्रकले ५ देखि १० टन बढी बोक्छन् ।
भारतीय ट्रकले सस्तोमा सामान बोक्छन् भन्नुभयो,कति सस्तो बोक्छन् ?
नेपालमा ट्रक ढुवानीको भाडा तोकिएको छ । भैरहवादेखि काठमाडौंसम्मको १० टन भाडा ३३ हजार तोकिएको छ । तर अहिले ट्रक २८-२९ हजारमा काठमाडौं गइरहेका छन् । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायी मारमा छन् । भारतीय ट्रकको मूल्य सस्तो भएकाले स्वभाविक रूपमा योभन्दा सस्तो हुने भयो । अझै उनीहरूले ओभरलोड बोक्ने भएकाले सस्तोमा बोक्न सक्ने भए ।
ओभरलोड नियन्त्रणको सूत्र के लाग्छ तपाईंलाई ?
मुल विषय इमान्दारिता हो । इमान्दार प्रयास विना सम्भव छैन । धर्मकाँटा निर्देशिका-२०७४ लाई पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने समस्या समाधान हुन्छ । सेटिङ गर्नेलाई कारबाही गर्ने हो भने पनि सेटिङ तोड्न सकिन्छ ।
ट्रक पार्किङ्स्थलको समस्या कस्तो छ ?
सरकारले बसपार्क बनाउन प्राथमिकता दिन्छ, तर ट्रक पार्किङ्स्थल बनाउन पटक्कै चासो दिँदैन । सरकारको प्राथमिकता नै नपरेपछि ट्रक पार्किङ्मा समस्या छ । मनपरी पार्किङ् गर्नुको विकल्प छैन । काठमाडौंमा झनै ठूलो समस्या छ । मुख्य शहरमा ट्रक पार्किङ्स्थल निर्माणलाई राज्यले प्राथमिकता राख्नुपर्छ ।
तपाईंहरूको महाधिवेशन आउँदैछ, आगामी नेतृत्वको बारेमा तपाईं के सोंच्दै हुनुहुन्छ ?
यही पुष २६ र २७ गते महाधिवेशन हुँदैछ । अहिले वरिष्ठ उपाध्यक्ष छु, यो मेरो दोस्रो कार्यकाल हो । अब अध्यक्षका लागि पहलकदमी लिनुपर्छ भन्ने शुभेच्छुक भनिरहेका छन्, साथीहरूसँग सल्लाह गर्दैछु । छिट्टै अध्यक्षमा उम्मेदवारी दिने वा नदिने निर्णयमा पुग्छु ।




