भैरहवा
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीबाट ६ लाख ७२ हजार ५ सय २३ जनालाई मताधिकार छ । जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावली तथ्याङ्कअनुसार ३ लाख ४६ हजार २ सय ३ जना पुरुष, ३ लाख ३६ हजार ३ सय ११ जना महिला र ९ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अगामी निर्वाचनका लागि २०८२ फागुन २० गते सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदानमा भाग लिन पाउने प्रावधान छ, मतदाता नामावली दर्ता नागरिकताको आधारमा भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ ।
कार्यालयका सूचना अधिकारी कल्पना शर्माका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट १ लाख ४६ हजार ८ सय २४ जना, क्षेत्र नम्बर २ बाट १ लाख ३५ हजार ५० जना, क्षेत्र नम्बर ३ बाट १ लाख ४० हजार ३५ जना, क्षेत्र नम्बर ४ बाट १ लाख १६ हजार १ सय ७२ जना र क्षेत्र नम्बर ५ बाट १ लाख ३४ हजार ४ सय ४२ जना आगामी मतदानमा सहभागी हुन पाउने छन् । शर्माका अनुसार ७ सय ८० जनाको नामा हटाइएको छ । ५ सय ७८ जनाको तथ्याङ्क दोहोरो भएकोले र २ सय २ जनाको मतदाता नामावली मृत्युदर्ता वा पञ्जीकरणको आधारमा हटाइएको हो ।
रुपन्देहीमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ५ लाख ३७ हजार १ सय २१ मतदाता रहेका थिए । यस्तै २०७९ सालको निर्वाचनमा मतदाता संख्या बढेर ६ लाख ३८ हजार ९ सय ५२ जना पुगेको थियो । अघिल्लो प्रतिनिधिसभा निर्वाचनभन्दा अहिले ३३ हजार ५ सय ७१ मतदाता थपिएको छ ।
यस वर्ष असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक मंसिर ५ गतेसम्म भएकोमा नयाँ मतदाता नामावली दर्ताका लागि २९ हजार ८ सय ४२ जनाले आवेदन दिएका थिए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार कार्यालयमा आएर फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत् १२ हजार २ सय ८ जना र राष्ट्रिय परिचयपत्रमार्फत् १७ हजार एक ६ सय ३४ जनाले नयाँ मतदाताका लागि नाम दर्ता गराएका थिए । कार्यालयमा आइ दर्ता गरेका मध्ये १० हजार ३ सय २२ जना मात्रै यस जिल्लाका रहेको र १ हजार ८ सय ८६ जना बाहिरी जिल्लाका मतदाताले नामदर्ताको आवेदन दिएको जानकारी दिइन ।
निर्वाचन तालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दलहरु दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ र माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र सूची प्रकाशन, ७ गते दाबी विरोध, ८ गते नामावली प्रकाशन, ९ गते उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा २ सय ९ वटा मतदान स्थल र ७ सय ३२ मतदान केन्द्र तय भएको छ । यस अघि दुई सय आठवटा मतदान स्थल रहेकोमा १ वटा थप भएको छ भने ७ सय २ मतदान केन्द्र रहेकोमा मतदाता बढेसँगै ३० वटा केन्द्र थपिएको हो । रुपन्देहीको बुटवल उप–हमानगरपालिका ११ मा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरिएकोमा निर्णय भई थपिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले सिफारिस गरेको थियो । ठूलो वडा रहेकोले केन्द्र थप्न आवश्यक रहेकाले सोही बमोजिम आयोगमा प्रस्ताव पठाइएको थपिएको छ ।
मतदाताको संख्या बढेकोले यस वर्ष मतदान स्थलहरु ३० वटा थपिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अर्यालले जानकारी दिइन् । सरदरमा १ हजार ६४ मतदाताको लागि १ वटा मतदान केन्द्र तोकिएको छ । एउटा मतदान स्थलमा १६ वटासम्म मतदान केन्द्र रुपन्देहीमा कायम गरिएको छ ।
२०७९ सालमा १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेको रुपन्देहीको क्षेत्र नम्बर १ मा ६८ दशमलव ७८ प्रतिशत मतदान भएको थियो । त्यस्तै १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६३ दशमलव ९८ प्रतिशत , १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७० दशमलव ४६ अर्थात् ९३ हजार ५ सय ६७ जनाले मत दिएका छन्, १ लाख १० हजार ६ सय ५९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ र १ लाख २९ हजार १ सय ३५ मतदाता क्षेत्र नम्बर ५ मा ६६ दशमलव ३७ प्रतिशत मतदान भएको थियो ।




