कहिले कांग्रेसलाई भने कहिले एमालेलाई उपयोग गरी प्रधानमन्त्री बन्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपालि भने अचम्म र आश्चर्यका साथ कांग्रेस–एमालेहरुबाट नै पदबाट अपदस्त भएका छन् । कांग्रेस–एमाले बीचको सत्ता एकीकरणपछि पटकपटक उनीहरुले प्रचण्डलाई पदबाट राजीनामा दिई आफ्नो सत्ता समीकरणलाई सहजीकरण गरिरिदन आग्रह गरिरहे । तर प्रचण्डले यसको बेवास्ता गर्दै सदनबाट विश्वासको मत लिने अडानमा देखिए । तर उनले सदनबाट विश्वासको मत लिन सकेनन् । आफूले पाएको बहुमत गुमेपछि पदबाट राजीनामा दिइ बाहिरिनु एउटा राजनीतिक मूल्य मान्यता र नैतिकताको प्रश्न हो भने बहुमत गुम्ने देख्दादेख्दै पनि जबरजस्त सदनबाट विश्वासकै मतका लागि अडिक भइरहनु अनैतिक सत्ता लिप्साको पराकाष्ट हो । यद्यपि संवैधानिक रुपमा त्यस्तो व्यवस्था गरिए पनि पहिलो प्रश्न त राजनीतिक नैतिकताको नै हो । यसरी राजनीतिक नैतिकता गुमाएर जबर्जस्त सदनबाट बर्खास्तीमा पर्नु यो एक प्रकारकै अपदस्त पारिनु नै हो । यो अनैतिकता र सत्ता लिप्साको चरम पराकाष्ट हो ।
यो कुनै संयोग वा परिवेश अचम्म त यसपालि के भयो भने आजभन्दा तीन वर्ष पहिले असार २८ गते कै दिन यसैगरी तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारबाट अपदस्त पारिएका थिए । यसमा फरक के छ भने प्रचण्ड यो सदनको अत्यधिक दुई तिहाई बहुमतभन्दा बढी संसदीय सदनका सभासदहरुको मत भने ओली सर्वाेच्च अदालतको परमादेशबाट फ्याकिएका थिए । सारमा यी दुवैको राजनीतिक प्रवृत्ति र नैकिता एउटै छ–अराजनीतिक र सत्ता लिप्साको चरम पराकाष्ट । सदनका सभासदहरुको बहुमत गुमेको देख्दा देख्दै पनि ओलीले सदन नै भंग गर्नु र प्रचण्डले यसपालि जबर्जस्त विश्वासको मत लिनु समय र परिस्थिति फरक जस्तो देखिए पनि खास प्रवृत्ति एउटै निरंकुश र व्यक्तिवादी नै हो ।
आज यसले प्रम ओली र उनका पार्टीका नेता कार्यकर्ता प्रफुल्ल र खुसी अनि दंगदास भएका छन् भने अपदस्त पूर्व प्रम प्रचण्ड र उनका नेता र कार्यकर्ताहरु निरासा, नुन खाएको कुखुरा जस्तै निन्याउरा भएका छन् । प्रम ओलीको खुसियाली यस अर्थ छ कि जस्तालाई तस्तै हिजो प्रचण्डले दिएको धोका आज ओलीले यसको बदला लिएका छन्, त्यो पनि तीन वर्षपछि एउटै दिन अर्थात् २८ असारमा नै । त्यतिबेला ओलीले आफ्नै घरको वराण्डाबाट भनेका थिए अहिले निराश हुनु पर्ने छैन, म दुई तिहाइ बहुमतसहितको प्रधानमन्त्री भइ फेरि बालुवाटार भित्रिने छु । नभन्दै अहिले त्यही भएको छ । कस्तो दुरदर्शिता र आँकलन क. ओलीको ? भन्दै उनी र उनका नेता, कार्यकर्ताहरुको खुट्टा थातथलो मै छैनन् ।
यता माओवादी पार्टीमा भने यसको उल्टोे चारैतिर निरासा छाएको छ । असार २८ को सदनमा प्रचण्डको भाषण अनि उनको हाउभाउले त झन् पार्टीका नेता कार्यकर्ताहरुलाई दिक्दारीमा पारेको छ । सदा सिंह झैं गर्जदै हिंड्ने प्रचण्ड त्यो दिन किन त्यसरी स्याल बनेका हुन् ? सबै अचम्ममा परेका छन् । अगाडि मुसार्ने तर पछिबाट मुक्का हान्ने ओली प्रवृत्तिको हाउभाउ देखाउँदै धोका खाएको प्रचण्डको त्यो गुनासोको रोदन बडो हेर्ने लायकको थियो । उनी भन्नेलाई भन्दा हामी सुन्नेलाई लाज र विरक्त पार्ने खालको थियो । सम्भवतः अहिलेसम्म कहिले पनि यस प्रकारको निरासा र हतोसाही आक्रोशपूर्ण अभिव्यक्ति प्रचण्डबाट भएकै थिएन । सदा राजनीति एउटा कला पनि हो र यसमा अनेक प्रकारका चालबाजी गर्नुपर्ने हुन्छ भन्दै दुनियाँलाई पाठ सिकाउँदै आएका प्रचण्ड अहिले मात्र त्यो बुझी अनाडी भएको भने जस्तै गरी ओलीको सत्तोसराप गरेको सुन्नुपर्दा उनप्रति दया लाग्यो पनि । तर के गर्ने आफ्नो राजनीति विचार र सिद्धान्त अनि आफ्नो राजनीतिक जग र आधार नबुझी अर्कैको लहैलहैमा लठ्ठिदै उनीहरुकै बुई चढी कहिले यता कहिले उता पिध नभएको लोटा जस्तै खाली पद, प्रतिष्ठा र कुर्सीकै लागि मरिहत्ते गरी बहकिदै हिड्दा यस्तै खाले धोका हुन्छ नै । अन्ततः ‘किन रुन्छस् मंगले आफ्नै ढंगले ।’
अनेक खाले यस्ता धोका, चालबाजी, षड्यन्त्र, बेइमानी मुखले राम राम बगलीमा छुरा आदि यो सामन्ती, दलाल र नोकरशाही बुुर्जुवा राज्य सत्ता र व्यवस्थाको मूल विशेषता र चरित्र नै हो । यहाँ यस्तो गर्नु र गराइनुलाई स्वाभाविक नै मानिन्छ । यसको राजनीतिक सफलता र असफलता नापिने मूल कसी पनि यही हो । कसैको जित र हार पनि यसैमा भर परेको हुन्छ । हो आज क. प्रचण्डलाई धोका भयो । सत्ताबाट गलतिनु प¥यो । ठोसमा भन्दा ओलीले प्रचण्डलाई धोका दिई आफू सत्तासिन बने । के भयो त ? पालापालको खान्की । हिजो प्रचण्ड–माधवले ओलीलाई भने अहिले ओलीले प्रचण्डलाई । हिजो प्रचण्डले ओलीलाई एक पटक होइन दुई–दुई पटक धोका दिएकै हुन् । अहिले त ओलीले प्रचण्डलाई धोका यो एक पटक मात्रै हो । धोका खाएको वास्तविक पीडा कस्तो हुँदोरहेछ ? बल्ल अहिले पहिलो पटक बुझे प्रचण्डले । नत्र भने प्रचण्डबाट कसले पाएनन् धोका, गनि साध्य छैन ।
२०३८ सालदेखि प्रचण्डको राजनीति थालनी पछि प्रचण्डबाट धोका पाउनेहरुमा मोहन विक्रम, निर्मल लामा, रुपलाल पछि बाबुराम अनि मोहन वैद्य, विप्लव, रामबहादुर थापा आदि आफ्नै पार्टीभित्रकै अनेकौं नेताहरु छन् । पार्टी बाहिरका मध्ये पहिलो धोका गिरिजाप्रसाद कोइरालाले प्रचण्डबाट राष्ट्रपति बनाउने नाममा पाए भने अहिले पछि सरकार बनाउने र ढाल्ने नाममा ओली–देउवा र माधवहरुले प्रचण्डबाट पटक–पटक धोका पाए । बाबुराम र उपेन्द्रको त पार्टी नै विभाजन गराउने काम गरे । अनेक थरिका बाहना गरेर मिले जस्तो गर्ने, तर भित्रभित्र अनेक खाले षड्यन्त्र गरेर सकेसम्म आफ्नो नै बनाइ छाड्ने, त्यो नभए फुटाइ छिन्नभिन्न पार्ने अर्थात् सिओ भइ पस्ने फाली भइ निक्लने, मुखले रामराम बगलीमा छुरा यस्तो षड्यन्त्रकारी तत्वहरुको मूल राजनीतिक चरित्र हो ।
भनिन्छ–‘सिधासाधा लडे एक भल्याङ् भने बाठो लडे सय भल्याङ् ।’ ठीक आज प्रचण्डलाई यस्तै भएको छ । हुन त अहिले प्रचण्ड पल्टिएको एक भल्याङ् मात्रै हो, तर अति बाठो र चतुर भएको मानिएकाले अहिले उनीलाई लागिरहेको छ सय भल्याङ् पल्टियो । अब उठ्नै गाह्रो छ । छटपटाहट छ, निराश र आक्रोश छ । बदलाको भावना छ । के गर्ने के नगर्ने अन्योलता छ । यसरी एकाएक सत्ताच्यूत हुन परेकोमा विलौना छ । अब फेरि पुनः यसरी सत्तासीन भइने हो कि होइन छटपटाहट छ । हिजो राज्यको शेर भएको मान्छे आज कस्तो भइयो र अब भविष्यमा कस्तो र कहाँ पुगिने हो ? अत्तोपत्तो नै छैन । ओरालो लागेको मृगलाई बाछाले पनि खेच्छ भने जस्तै अब हिजो प्रचण्डको नेतृत्वमा दबाइएका, मारिएका र लुटिएका सबै एक भई प्रचण्डमाथि खनिने र ओइरिने डर छ । त्यस्तो बेलामा साथ दिने कोही पनि हुने छैन । भिरबाट लड्ने गाईलाई सहानुभूतिका लागि रामराम भन्ने धेरै हुन्छन्, तर काँध थाप्ने चाहिँ कोही हुँदैनन् । प्रचण्डकै हिजो जनयुद्धका सहयोगी मोहन वैद्य, बाबुराम र विप्लवहरु उनीबाट धेरै टाढिएका छन् । १० वर्षे गद्धार र धोकेवाज भनी निन्दा र घृणा गरिरहेका छन् । अब अहिलेसम्म साथ दिइ बसेका कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन आदिहरुले पनि प्रचण्डलाई काँधमा थापी हिंड्ने स्थिति देखिंदैन । स्वयं आफ्नो माओवादी पार्टी र यसका नेताहरुप्रति प्रचण्डको त्यति भरोसा र विश्वास पनि छैन । बरु उनको ध्यान अहिले कथित समाजवादी मोर्चा निर्माणतिर छ । माधव नेपाल जस्ता पूर्व एमाले नेताहरुको बुइ चढेर बाँचिने र पार लागिन्छ कि भन्नेमा उनी पुगिसकेका छन् ।
वर्तमान यो सत्ता गठबन्धनको परिवर्तन देश र जनताको हितमा भन्दा पनि व्यक्तित्वको टकराव खासगरी ओली–प्रचण्डबीचको द्वन्द्व र टकरावमा केन्द्रित हुँदैछ । असार २८ गते प्रचण्डले ओलीविरुद्ध फायर खोलिसकेका छन् । अब यसको प्रतिकारमा प्रम ओलीले पनि यही साउन ६ गते प्रचण्डका विरुद्ध अर्काे फायर खोल्दै छन् । कथित कम्युनिष्ट भनौदालाई यसरी भिडाएर दुनियाँलाई यो रमिता देखाउँदै यहाँबाट कम्युनिष्ट प्रभावलाई सदाका लागि विस्थापित गराउने चाल देशी तथा विदेशी प्रतिक्रियावादीहरुको छ ।
यो रमिता र गाईजात्रा नेपाली जनताले अझ कति हेर्नुपर्ने हो ? धिक्कार छ । यो वर्तमान सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ताका लागि हुने यो लुछाचुंडी र द्वन्द्वले यिनीहरुलाई बुझ्न र जान्नका लागि ठूलो सहयोग मिलेको छ । चाहे नेपाली जनता अहिले जो पक्षधर भए पनि र यी सबैको मूल चाहना र उद्देश्य देश र जनताको प्रगति र उन्नतिकै हो । यसका लागि जन राज्य सत्ताअन्तर्गतको जनगणतन्त्र, जनसंविधान र जन सरकारकै आवश्यकता छ ।




