हाटबजार तराईको शान हो, पहिचान हो । हाटबजारले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पु¥याउँदै आएको छ । हाटबजार गाउँको उत्पादन ल्याएर बेच्ने थलो हो । साना किसान र साना व्यवसायीले उपभोक्तासम्म वस्तु तथा सेवा पु¥याउने माध्यम हो, हाटबजार । हाटबजारको मौलिकता जोगाउँदै पूर्वाधार विकास गर्न ध्यान दिनुपर्नेमा कतिपय स्थानीय तह हाटबजारको मौलिकता मास्ने मेसोमा लाग्नु दुर्भाग्य छ ।
रूपन्देहीका १ सय २२ हाटबजारमा झण्डै पाँच हजार साना व्यवसायीले हाटबजारमा बस्तु तथा सेवा बेचबिखन गर्छन् । हाटबजार उनीहरुको जीविकोपार्जनको माध्यम हो । व्यवसायिक यात्राको महत्वपूर्ण खुड्किलो हो । हाटबजारको मौलिकता जोगाउँदै पूर्वाधार विकास गर्न स्थानीय तहले प्रदेश र संघीय सरकारको साथ लिनुपर्नेमा मौलिकता मासेर बहुतले व्यापारिक भवन बनाउने काम गलत छ । कतिपय विकास निर्माणका काम झट्ट हेर्दा आकर्षक लाग्छन्, तर ती विकास निर्माणका कामको प्रभावभन्दा धेरै असर देखिन्छ । साना व्यवसायी पलायन हुने मात्र होइन्, हाट बजारमार्फत् हुने कारोबारले विकसित अर्थतन्त्रलाई ध्वस्त बनाउने छ ।
सिद्धार्थनगर नगरपालिकाले १२ करोड १३ लाख रुपैयाँमा निर्माण भएको कृषि बजारका १ सय ९ वटा सटरहरू र सेमिनार हल तथा पार्किङ्को लागि सिद्धार्थनगर नगरपालिकाले करिव १ करोड ३४ लाख रुपैयाँको टेण्डर निकाल्यो । यो बहुतले भवनमा जान हाटबजार व्यवसायीले रूची देखाएनन् । अहिले करोडौँ खर्चेर बनाएको भवन उपयोगविहीन भएको छ । बुटवल उप–महानगरपालिकाले कार्यालय अगाडिको हाटबजारमा बहुतले भवन बनाउने योजना अघि सारेको छ । बुटवल उप–महानगरपालिकाको यो प्रयासप्रति व्यवसायीहरुले असहमति जनाएका छन् । बुटवलको हाटबजार रूपन्देहीको सबैभन्दा ठूलो हाटबजार हो । यो हाटबजारले तराई र पहाडका व्यवसायी र किसानलाई एउटै थलोमा जुटाएको छ । खसीबोकादेखि तरकारी, कृषि औजार लत्ताकपडालगायतका सामग्रीको किनबेच हुन्छ । बुटवलको हाटबजारमा अहिले भइरहेको कारोबार गर्ने वातावरणलाई कायम राख्दै खानेपानी र शौचालय व्यवस्थित गर्नुपर्ने छ । हाटबजारको मौलिकता मासेर बहुतले व्यापारिक कम्पलेक्स बनाउने कुराले बुटवललाई दीर्घकालका लागि राम्रो गर्दैन । साना व्यवसायीलाई विस्थापित हुने जोखिम हुन्छ । हाटबजारमा अन्यत्रभन्दा उपभोक्ताले सस्तोमा सामान खरिद गर्न पाउने भएकाले उपभोक्ताको हितको लागि पनि हाटबजार आवश्यक छ ।
हाटबजार तराईको संस्कृति भएकाले जोगाउने तिर लागौँ । हाटबजारलाई मास्ने काम पटक्कै राम्रो होइन । साना व्यवसायीलाई आम्दानी दिएको छ । किसानको उपभोक्तासँग सिधा सम्पर्क गर्ने ठाउँ भएकाले विभिन्न बहानामा हाटबजार मास्ने होइन, जोगाउने र प्रवर्धन गर्ने काम हुनुपर्छ ।




