भैरहवा
बेलहिया नाकामा अव्यवस्थित सवारीसाधन पार्किङ् र जामको समस्या भएपछि स्थानीयहरु नै जागरुक भई समाधानको लागि उत्रेका छन् । बेलहिया गाउँ समाजको अग्रसरतामा ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय, १ नम्बर वडा कार्यालय, स्थानीयहरुको बैठकले अव्यवस्थित हुँदै गएको बेलहियालाई व्यवस्थित र हराभरा बनाउनका लागि हाम्रो बेलहिया राम्रो बेलहिया र सुन्दर हराभर बेलहिया अभियान सुरु भएको हो ।
स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने अन्तर्राष्ट्रिय नाकाको रुपमा रहेको बेलहियामा अव्यवस्थित पार्किङ्ले सबैले सास्ती खेप्न लागेपछि स्थानीय र सरोकारवाला निकायबिचको बैठकले अर्जुनकुमार गिरीको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ । हाम्रो बेलहिया राम्रो बेलहिया र सुन्दर हराभर बेलहिया नाम दिएको अभियानले ठेला, रिक्सा, ई–रिक्सा, ट्याक्सीलगायतका सवारीासधनहरुको व्यवस्थापन मात्रै नभई फोहोरमैला, सरसफाइ, लागुऔषध तथा चेलिबेटी बेचबिखन न्यूनीकरणलगायतको क्षेत्रमा काम गर्ने गरी अगाडि बढेको बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले बताए ।
‘समाजको अग्रसरतामा अव्यवस्थित पार्किङ्लाई व्यवस्थित गर्दै हराभरासहितको प्रवेशद्वारको रुपमा दिनका लागि हामीले मंगलाबरदेखि अभियान सुरु गरेका छौं । सौन्दर्यता बढाउनुका लागि कुनै पनि कसर बाँकी नराखी समन्वयात्मक तरिकाले अगाडि बढ्ने गरी अभियान सञ्चालन गरिएको छ ।’–अध्यक्ष शर्माले भने । बेलहिया नाकाबारे सबैतिर गलत सन्देश गएकोले त्यसलाई चिर्नका लागि पनि यो अभियान चलाइएको छ ।
भारतबाट सवारी भर्ने उद्देश्यले अस्थायी पास बनाउँदै आएका भारतीय नम्बर प्लेटका गाडी, यस क्षेत्रका ई–रिक्सा, ट्याक्सी र क्यासिनोका गाडी अव्यवस्थित रुपमा जथाभावी गाडी रोक्दा बेलहियाको स्वरुपमा नै प्रश्न चिन्ह उठेपछि स्थानीय प्रशासनको सहकार्यमा बेलहियाको राम्रो परिचय बनाउनका लागि कामको सुरुवात भएको छ ।
कमिटी र स्थानीय प्रशासनको समन्वयमा सडकको दुबैतर्फको सर्भिस रोडलाई वान वे एकतर्फी बनाउने, जथाभावी गरिएको फोहोरलाई व्यवस्थापन गरी स्वच्छ वातावरणको सृजना गर्ने गरी काम अगाडि बढेको पार्किङ् व्यवस्थापन समिति संयोजक अर्जुन गिरीले बताए ।
अन्तर्राष्ट्रिय नाकामा लथालिङ्ग, अस्तव्यस्त पार्किङ्ले स्थानीयको साथै बाहीरी पर्यटकहरुले सास्ती खेप्नु परेकोले यसको व्यवस्थापनका लागि र यो क्षेत्रको सौन्दर्यीकरण गर्नुपर्छ भनेर व्यवस्थापनमा लागेको गिरीले जनाए । एकले मात्रै यो सम्भव नभएकोले सबै सयन्त्रको सहकार्यमा अभियान सुरु गरेको र राम्रो सन्देश बेलहियाले दिने उनले बताए ।
पर्यटक भनेको पाहुना हो, उनीहरुलाई स्वच्छ वातावरणमा प्रवेश गराउनु हाम्रो दायित्व हो भन्दै स्थानीयहरु अभियानमा लागेका छन् । पहिलो दिन बाइपासदेखि सीमासम्म प्रभातफेरी गरेर नै अभियानबारे जानकारी गराएको र अस्तव्यव्सत रुपमा रहेको ई–रिक्सा, ट्याक्सी गाडीहरुलाई निश्चित ठाउँ तोकेर व्यवस्थापन गर्नेगरी सहमति भएको छ ।
ट्राफिक व्यवस्थापन प्रहरीले एक्लैभन्दा सबैको सहकार्यले हुने हँुदा बेलहियाबाट स्थानीय गाउँसमाजकोे सक्रियातमा व्यवस्थापनको काम अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रतिमा कार्कीले बताइन् ।
अव्यवस्थित पार्किङ्लाई कसरी व्यवस्थित र हराभरा बनाउन सकन्छि भनेर स्थानीयको पहलमा पार्किङ् व्यवस्थापन गर्ने काम भएको छ । सर्भिसरोडलाई एक तर्फी बनाई भन्सार कार्यालय अगाडि क्षेत्रमा पार्किङ् गरेका क्यासिनो, ट्याक्सी र ई–रिक्सालाई सम्झाई बुझाई गरेको र आगामी दिनमा अनावश्यक र तोकेको क्षेत्रभन्दा बाहिर पार्किङ् गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिएन् ।
प्रशासन, गाउँसमाज र सवारीसाधन सम्बद्ध प्रतिनिधिको समझदारीमा भन्सारको २ नम्बर गेटको केही भाग छोडेर सर्भिस रोडतर्फ नम्बरअनुसार १० वटा ट्याक्सी, १५ वटा ई–रिक्सा व्यवस्थापन गर्ने, यस्तै ३ नम्बर गेट छोडेर त्यहाँ हरेक क्यसिनोको एकवटा गाडी नम्बरअनुसार राख्ने तय भएको छ ।




