नेकपा अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरूको अहिलेको दिल्ली यात्रा र संवाद अस्वभाविक छ । विभिन्न कार्यक्रमको बहाना गरेर दिल्ली पुग्ने, तर खासमा भारतीय संस्थापनका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने र राजनैतिक संवाद गर्ने पुरानै प्रवृत्ति यसपल्ट धनिभूत ढंगले दोहोरिएको छ । यस्तो अपारदर्शी संवादले राजनैतिक निकास निकाल्ने नभई दीर्घकालका लागि मुलुकलाई कमजोर बनाउन सक्छ ।
मुलुकमा फागुन २१ चुनावको मिति घोषणा भएको छ । यो मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल र सशंय कायमै छ । सरकार चुनावको तीव्र तयारीमा लागिरहेको बताइरहँदा सुरक्षा संयन्त्रको मनोबल उस्कन सकेको छैन । यही बेला पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र बाबुराम भट्टराई दिल्ली पुगेर फर्केका छन् । उनीहरू केही औपचारिक कार्यक्रममा सहभागी भएको सार्वजनिक भएको छ । त्यसबाहेक उनीहरूको भेटवार्ता र छलफल को–कोसँग भयो भन्ने प्रष्ट भएको छैन । कांग्रेस नेतृ एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आराजु देउवा राणा पनि दिल्ली पुगेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति स्वर्णीम वाग्लेको पनि दिल्ली जाने कार्यक्रम तय भएको छ । विवेकानन्द फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी दिल्ली जान लागेको र विभिन्न नेताहरूसँग भेटघाट हुने उनले बताएका छन् । विदेशी मञ्चमा नेताहरूले आफ्नो र मुलुकका बारेमा धारणा राख्नु स्वभाविकै हुन्छ । यस्तो हुनु मुलुकको लागि राम्रै हो । तर भ्रमणका क्रममा राजनैतिक र गुुप्तचर निकायका व्यक्तिसँगको अस्वभाविक भेट र गोप्य कुराकानीप्रति प्रश्न उठ्नु स्वभाविक छ ।
कुनै छिमेकी मुलुकका अधिकारीसँग भेट गर्नै हुन्न भन्ने पटक्कै होइन, उनीहरूसँग हुने भेट पारदर्शी हुनुुपर्छ । आवरणमा एउटा कार्यक्रम देखाउने, तर अर्कै उद्देश्यले दिल्ली पुग्ने नेताहरुको प्रवृत्ति बढ्दो छ । नेपालको राजनीतिलाई दिल्ली विना निकास निकाल्न सकिंदैन भन्ने मनोविज्ञान नेताहरूमा विकास हुनुले नेपालको राजनीतिलाई अप्ठ्यारो बाटोतिर लैजाने जोखिम छ । आन्तरिक मामिलामा दलहरू बसेर पारदर्शी छलफल गर्ने र निकास निकाल्ने बानी विकास गर्दा मुलुक बलियो हुनसक्छ ।
अपारदर्शी भेट र कुराकानीले आन्तरिक शक्तिबिच एकता नभई विभाजन हुनसक्छ । आन्तरिक शक्तिबिचको मतभेदले निकास निकाल्ने नभई बल्झाउने जोखिम हुन्छ । राजनैतिक अस्थिरता र शक्ति संघर्षले अन्ततः मुलुक कमजोर हुने हो । राजनैतिक दलका नेताहरूको दिल्ली दौड पारदर्शी गर्न सक्दा मुलुकको हितमा हुन्छ । उनीहरूको भेट र कुराकानी पारदर्शी हुँदा आन्तरिक शक्तिबिच विश्वास बढ्छ, यसले विभाजन होइन, एकताको कसिलो यात्रा सुरु हुन्छ ।




