विश्वका हरेक मुलुक वा राष्ट्रहरुको आ–आफ्नै राष्ट्रियता र स्वाभिमान अनि सार्वभौम स्वतन्त्रता छ । देश सानो वा ठूलो जे सुकै होउस् त्यो सबैको समानता छ । त्यो संयुक्त राष्ट्र संघको घोषणामा उल्लेख छ । यस अर्थमा विश्वका ठूला वा शक्तिशाली राष्ट्रहरु जस्तो अमेरिका, चीन, भारत, रुस, ब्रिटेन आदि मुलुक अनि नेपाल, भुटान, फिजी आदि जस्ता साना र कम विकसित राष्ट्रहरु सबैको एउटै स्वाभिमान अनि सार्वभौमिक अधिकार समान छ । तर आजको यो विश्व परिवेशमा जसको शक्ति उसैको भक्ति अर्थात उसैको हस्तक्षेप र आक्रमण हुने गरेको छ । यसको ज्वलन्त उदाहरण हालै मात्र भेनेजुएलामाथि अमेरिकाले गरेको हस्तक्षेप र आक्रमण । यस्तै हस्तक्षेप र आक्रमण यसभन्दा पहिले पनि यस्ता थुप्रै मुलुकहरुमा भएको छ । उदाहरण इराक, अफगानिस्तान, लिबिया, प्लेस्टाइन, युक्रेन आदि मुलुकहरु छन् ।
हालै मात्र भेनेजुएलामाथि अमेरिकाले खुलम्खुला नाङ्गो हस्तक्षेप र अतिक्रमण गरी त्यहाँका राष्ट्रपति निकोस मादुरो र उनकी श्रीमतीलाई उनकै निवासमा लुटेराले जस्तै पसी रातारात अपहरण गरी अमेरिका ल्याई पु¥याएको छ । यो हो अमेरिकी डकैटी र लुटेरा प्रवृत्ति । जस्तो कुनै एउटा लुटेरा वा डकैटी अपहरणकारी ग्याङले कुनै पूर्व जानकारीविहीन एकाएक एक्कासी हमला र आक्रमण गरी लुटि लैजान्छ त्यस्तै स्थिति आज अमेरिकाले भेनेजुएलामाथि गरेको छ । यदि अमेरिकी राष्ट्रपतिको हिम्मत भए खुलम्खुला दिउँसै घोषणा गरेर त्यहाँ आक्रमण गरी उनीमाथि हमला गर्नु पर्दथ्यो । हुन त यो अमेरिकाको पहिलो कदम मात्र होइन । यसभन्दा पहिले पनि इराक, लिविया र अफगानिस्तानमा यस्तै अतिक्रमण गरिसकेको थियो । त्यस्तै अब विश्वका केही अरु मुलुकहरुमा पनि यस्तै गर्ने धम्की दिन थालेको छ । यो अमेरिकी साम्राज्यवादको कमरेड लेनिनले भने जस्तै अन्तिम मरणासान्न अवस्था हो ।
कमरेड लेनिनको यो साम्राज्यवादी अन्तर्राष्ट्रिय महत्वको वैचारिक र व्यवहारिक सिद्धहस्तलाई क. स्टालिनले रुसलगायत अन्य विश्वका थुप्रै मुलुकहरुमा नै लागू गरी देखाउनु भयो भने चीनमा क. माओले पनि पुष्टि गरी देखाउनुभयो । उहाँले साम्राज्यवादी नियमको बारे भन्नुभयो– ‘गडबढी मच्याउने र विफल हुने अनि फेरि गडबढी बच्चाउने र फेरि असफल हुने र फेरि पनि विफल हुने र यस प्रकारले आफ्नो अन्तिम पतनको घडीसम्म यसै गरिरहन्छ ।’ ठीक अहिले यो अमेरिकी साम्राज्यवादले देखाउन थालेको छ । क. माओले यसरी यसको विरोध मात्रै होइन यो साम्राज्यवादको विकास र विनासको अन्तिम अवधि पनि किटान गरिदिनु भएको छ । जुन अवधि आगामी ५० देखि १०० वर्ष हो भनी उल्लेख गर्नु भएको छ । ठीक यो अवधिको थालनी अब भइसकेको छ । मर्ने बेलामा कमिलाका पनि प्वाख आउँछ वा मर्ने बेलाको बत्ती भने जस्तै अहिले विश्व साम्राज्यवाद चारैतिर चम्केको छ । तर कुनै देश जतिसुकै सानो किन नहोस् तिनीहरुले हतियार उठाउने आँट गर्दछन् भने यो धर्तीको सबभन्दा शक्तिशाली शक्ति र प्रभुत्वकारीलाई हराउन सक्छन् । विश्व इतिहासले यसको पुष्टि गरिसकेको छ । जस्तो हालै मात्र यो घटनाको विरोध गर्दै उत्तरकोरियाले दुई ठूला शक्तिशाली क्षेप्यास्त्रको प्रयोग गरी अमेरिकालाई चुनौती देखाइदिएको छ ।
अहिले अमेरिकाले जुन बहानाबाजी अर्थात् एउटा व्यासो र बाख्राको सानो पाठोको कथामा जस्तै निहुँ खोजेर भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपतिलाई अपहरण गरेको छ । त्यो सबै साम्राज्यवादी लुटेरा प्रवृत्ति हो । मुख्य त त्यहाँको बहुमूल्य खनिज अनि पेट्रोलियम पदार्थमाथिको डकैटी हो । यति हुँदा पनि विश्व दुनियाँ मौन छ, खाली केही विरोधका सामान्य स्वर मात्रै छ । अहिलेका विश्व शक्तिशाली राष्ट्र भनिने चीन र रुस जसलाई अमेरिकाले एकातिर ताइवानको समस्या देखाएर चीनलाई अल्झाइरहेको छ भने अर्काेतिर रुसलाई युक्रेनको समस्यामा अल्झाई युद्ध नै थोपरेको छ । तै पनि अति भएपछि खति हुन्छ नै । विश्वका आम उत्पीडित राष्ट्र र जनता यो साम्राज्यवादी अतिकाविरुद्ध एक दिन सबै एकजुट भई जुरुक्कै उठने निश्चित छ । त्यो दिन बल्ल क. माओले भने जस्तै सबै साम्राज्यवाद र प्रतिक्रियावादीहरु वास्तविक कागजी बाघ मात्रै भएको पुष्टि भई जानेछ ।
भेनेजुएलामाथिको यो अमेरिकी दादागिरीले विश्वका धेरै जसो राष्ट्रहरुलाई तर्साउन थालेको छ । संयुक्त राष्ट्र संघमा उल्लेखित नाराहरु ती सबै हात्तिका देखाउने दाँत जस्तै भएका छन् । राष्ट्रको स्वतन्त्रता र स्वाधिनता सबै खोक्रा सावित भएका छन् । स्वयं हाम्रो देश नेपाल पनि यो अमेरिकी हस्तक्षेपबाट तर्सिनुपर्ने भइसकेको छ । एक प्रकारले अहिले नै नेपालको स्थिति भेनेजुएलाको जस्तै पो हो कि ? बुझ्नु पर्ने भएको छ । कतै नेपालमा भएको जेनजी आन्दोलनका पछाडि पनि यस्तै साम्राज्यवादी योजना र हस्तक्षेपमा आधारित त छैन ? जस्तो भेनेजुएलामाथिको यो आक्रमण र हस्तक्षेप त्यहाँको बहुमूल्य खनिज पदार्थ र पेट्रोलियमका लागि भएकोमा कुनै शंका छैन । ठीक यो हाम्रो देशमा पनि मुस्ताङ र म्याग्दीमा पाइएको युरेनियम धातु अनि दैलेखमा पाइएको अपार पेट्रोलियम पदार्थप्रति अमेरिकी गिद्धेदृष्टिकै कारण यो जेनजी मुभमेण्ट चालिएको त होइन ? शंका गर्ने ठाउँ प्रशस्त छ ।
त्यसैले मैले पटकपटक लेखी भन्ने गरेको छु, फिनी हराएको थाहा छैन गहुँका गेडा गन्ने अर्थात् सिंगो देशको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता नै हनन हुन थालिसकेको छ तर हाम्रा देशका नेताहरु खाली संविधान बचाउने वा फाल्नेमा विवाद छ त्यसैका लागि खाली चुनावी नाटक मन्थन हुँदैछ । देशमा अमेरिकी साम्राज्यवाद घुसिसकेको छ । एमसीसी पारित भइसकेको छ । एसपीपी पारित गर्ने षड्यन्त्र भइसकेको छ । जेनजी आन्दोलनद्वारा एनजीओ नागरिक सरकार बनाइसकेको छ । आगामी निर्वाचनमा दुई तिहाई बहुमत पु¥याएर संवैधानिक रुपले नै यी सबै अमेरिकी योजना र डिजाइनअनुसार नै पारित गराई छाड्ने षड्यन्त्र भइरहेको छ । यसैका लागि रवि लामिछानेको जेलबाट रिहाई अनि रवि–बालेन र कुलमानबिचको पार्टी एकता । यता बाबुराम–जनार्दनबिचको पार्टी एकता । कांग्रेसभित्र गगन थापाको विशेष महाधिवेशन । यी सबै श्रृंखलाले ढिलो चाडो यो मुलुकले भेनेजुएलाकै नियति भोग्नु पर्ने त होइन ? सबै सचेत हुनु जरुरी छ ।
नेपालको जेनजी आन्दोलन र भेनेजुएलामाथि अमेरिकी अतिक्रमणबिच केही समानता देखिएको छ । त्यति ठूलो अमेरिकी अतिक्रमण हुँदा पनि त्यहाँको गुप्तचरले थाहै पाएन वा जानकारी सरकारलाई दिएन । जस्तो नेपालमा गत भाद्र २३ र २४ मा देखियो । त्यस्तै सेना–पुलिस सबै रमिते । यो सबैमा अमेरिकी गुप्तचर सि.आई.ए.को घुसपैठ भएको खुलसा भइसकेको छ । त्यही भएर अब पनि अमेरिकी राष्ट्रपति ट्रम्मले भेनेजुएलाका कार्य बाहक राष्ट्रपतिलाई धम्काइरहेका छन् । पूर्व राष्ट्रपति मादुरोलाई जस्तै अझ बढी आक्रमण गरिने चेतावनी ट्रमले दिइरहेका छन् । यहाँ पनि भाद्र २३ र २४ को जेनजी आन्दोलनद्वारा भएको त्यति ठूलो जनधनको नोक्सानी हुँदा नेपाली सेना रमिते भयो । कारण के होला ? अब पनि नेपाली जनताले यो बुझ्नु पर्दछ कि पर्दैन ?
यो भेनेजुएलामाथिको अमेरिकी साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप कुनै एक देशमाथिको मात्रै नभएर विश्वका सम्पूर्ण उत्पीडन तेस्रो विश्वका राष्ट्र र जनताप्रतिको अतिक्रमण हो । अझ नेपालको सन्दर्भमा त यो झन बढी चुनौतीको विषय बनेको छ । यसैले पनि नेपालका सच्चा देशभक्त जनवादी र वामपन्थी–कम्युनिष्ट कांग्रेस–एमाले–माओवादी आदि सबै देशका दल तथा नेता– कार्यकर्ता र आम नागरिक यतिसम्मकि जेनजी नवयुवा सबै एकजुट भई देशको राष्ट्रिय–स्वाभिमान अनि सार्वभौम अस्तित्व रक्षाका लागि नेपालको राष्ट्रिय मुक्ति संघर्षमा जुटौं । विश्व साम्राज्यवादी र यसका दलाल र गद्दारहरुलाई न यो मातभूमिप्रति माया छ न यो देशको राष्ट्रिय भाषा–संस्कृति, रीतिरिवाज र परम्पराप्रति नै माया र ममता छ । आज सिंहदरबार जल्यो भोलि पशुपतिनाथ जलाइनेछ । त्यसपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी जलाइनेछ । अन्त्यमा विश्वको सर्वाेच्च हिमाल शिखर सगरमाथा समेत जलाइने वा भत्काइने छ ।




