बुटवल । तिलोत्तमा ड्राइभरटोलस्थित न्यू होराइजन जीबीएस स्कुलले आउँदो पुस ३० गते आफ्नो ३२औँ वार्षिक उत्सव मनाउने भएको छ ।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रमसहित मनाइने जानकारी दिएको हो ।
विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यका अनुसार वार्षिक उत्सव अन्तर्गत शुक्रबारदेखि खेलकुद तथा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भइसकेको छ । पुस २९ गते पुरस्कार वितरण, खाना महोत्सव तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने पुस ३० गते मुख्य समारोहको आयोजना गरी विद्यालयको ३२औँ वार्षिक उत्सव औपचारिक रूपमा मनाइनेछ ।
मुख्य समारोहका दिन ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिनुका साथै पुरस्कार वितरण, विद्यार्थी, शिक्षक तथा अभिभावक सम्मान कार्यक्रम आयोजना गरिने प्राचार्य आचार्यले जानकारी दिए ।
शैक्षिक गुणस्तरको पर्यायका रूपमा पहिचान बनाउँदै आएको न्यू होराइजन शैक्षिक संस्था २०५९ सालमा स्थापना भएको हो। सुरुमा बुटवलको दरबार लाइनबाट सञ्चालन सुरु गरिएको संस्था पछि भौतिक पूर्वाधार विस्तार गर्दै २०६१ सालदेखि ड्राइभरटोलमा सञ्चालन हुँदै आएको छ ।
यसैगरी २०५० सालमा शंकरनगरको ड्राइभरटोलमा स्थापना भई आधारभूत शिक्षा प्रदान गर्दै आएको गौतमबुद्ध स्कुललाई २०६९ सालमा आफ्नो स्वामित्वमा लिएर न्यू होराइजन गौतमबुद्धका रूपमा संस्थागत समायोजन गरिएको प्राचार्य आचार्यले बताए ।
विद्यालयमा हाल ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् भने २३० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्। ‘क’ वर्गमा सूचीकृत न्यू होराइजन जीबीएसले २०७९ सालमा आईएसओ ९००१ः२०१५ प्रमाणपत्र समेत प्राप्त गरेको छ । साथै विद्यालय लगातार तेस्रो पटक तिलोत्तमा नगरपालिकाबाट सम्मानित भएको प्राचार्य आचार्यले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदान राज्यले अझै पर्याप्त रूपमा नबुझेको गुनासो व्यक्त गरे । उनले भविष्यमा क्षेत्रीय विश्वविद्यालयको रूपमा स्थापना हुने सपना संस्थाले देखेको उल्लेख गर्दै त्यसका लागि राज्यले स्पष्ट नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।
साथै सामुदायिक र संस्थागत विद्यालयप्रति राज्यले विभेद गरेको गुनासो गर्दै विभेदकारी व्यवहार परिवर्तन आवश्यक रहेको बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक कृष्ण पाण्डेले पनि विद्यालयका गतिविधिबारे जानकारी गराएका थिए ।




