स्याङ्जामा यो वर्ष १ अर्ब ३२ करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान छ । गत आर्थिक वर्ष १ अर्ब २० करोड रुपैयाँको सुन्तला बिक्री भएको थियो । सुन्तला उत्पादनको यो तथ्याङ्कले मध्यपहाडमा फलफूल खेतीको राम्रो सम्भावना देखिन्छ ।
स्याङ्जामा सुन्तलाबाटै समृद्धि ल्याउन सकिने स्पष्ट भएको छ । एउटा जिल्लाबाट एक अर्बको सुन्तला बिक्री एउटा सुखद विषय हो । गुल्मी, पाल्पा र अर्घाखाँचीमा पनि राम्रो सुन्तला उत्पादन भइरहेको छ । यी जिल्लाले यो वर्ष कति सुन्तला उत्पादन गरे भन्ने बारेमा तथ्याङ्क तयार गरिरहेको जिल्ला कृषि विकास कार्यालयहरूले जानकारी गराएका छन् ।
पहाडमा फलफूल र तरकारी खेतीको राम्रो सम्भावना छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाका किसानले गत वर्ष ६ करोडको अकबरे खुर्सानी बिक्री गरे । तिनाउ गाउँपालिकाको दोभान र आसपासको क्षेत्रबाट ५ करोडको दालचिनी बिक्री भयो । अम्रिसोको व्यवसायिक उत्पादनबाट पनि किसानले राम्रो लाभ लिन थालेका छन् । अदुवा उत्पादनले पनि किसानलाई राम्रो आम्दानी दिइरहेको छ । यी प्रतिनिधिमुलक उदाहरण हुन् । यस्ता केही उदाहरणले मध्यपहाडलाई समृद्धिको केन्द्र बनाउन सकिन्छ भन्ने दरिलो आत्मविश्वास जगाएको छ ।
मध्यपहाडमा कृषिका लागि धेरै समस्या छन् । सिँचाइको अभाव छ । भिरालो पाखो जमिनमा कठिनाइ छ । सिँचाइको वैकल्पिक उपाय तयार गर्न राज्यले पहलकदमी लिनुपर्छ । प्लाष्टिक पोखरी बनाएर पनि सिँचाइको गर्जो टार्न सकिन्छ । भिरालो पाखो जमिनले जति कठिनाइ थपेको छ, त्यो कठिनाइलाई चिर्दै अवसर श्रृजना गर्नुपर्छ । बाँदरले खेतीबाली नष्ट गर्न थालेपछि खेतीपाती गर्न छाडिएको छ । राम्रो खेती हुने जग्गा बाँझिएका छन् । ती बाँझिएका जग्गामा बाँदरले नष्ट नगर्ने के खेती गर्दा लाभ लिन सकिन्छ ? किसानलाई बाटो देखाउने काम सरकारको हो । अहिले तहगत सरकारले कृषिमा लगानी गरिरहेका छन् । राज्यले गरेको लगानीको प्रतिफल अपेक्षित नआइरहेको गुनासो बढेको छ । त्यो गुनासो पनि सिकाइ बन्न सक्नुपर्छ । पालिकाभित्रको जमिन के–कति कारणले बाँझो भयो ? बाँझिएको जमिनमा कुन खेती गर्न सकिन्छ ? पालिकाभित्रको जमिनमा कुन–कुन फलफूल र तरकारी खेती गर्न सकिन्छ ? यी प्रश्नको उत्तर पालिकाले खोज्न सक्यो भने किसानलाई दिशा निर्देश गर्न सम्भव छ ।
विदेशबाट युवाले पठाएको रेमिट्यान्सले समृद्धि सम्भव छैन । अर्थतन्त्र संकटमा पर्न नदिन यसले तत्काल काम गर्ला । कृषिमा लागेको ठूलो हिस्सालाई व्यवसायिक र प्रतिफलमुखी खेतीपातीमा लाग्न प्रेरणा दिने औजार भनेको उनीहरूले पाउने लाभले नै हो । स्याङ्जामा सुन्तलाले दिएको आम्दानी झैं अन्यत्र आफ्नै ढंगले भइरहेको उत्पादन र बिक्री आशा लाग्दा समाचार हुन् ।




