बुटवल । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले न्यू होराइजन स्कूल, बुटवलसँगको सहकार्यमा भूकम्प सम्बन्धी वृहत प्रदर्शनी बुटवलमा आयोजना गरेको छ ।
नाष्टले भूकम्पको क्षतिबाट जोगाउन समाजमा जनचेतना फैलाउने उद्देश्यले बुटवलमा गरेको यो पहिलो वृहत प्रदर्शनी हो ।
न्यू होराइजन स्कूलको कक्षा ११ र १२ को ब्लक देवसिद्धचोकमा मंगलबार आयोजना हुने कार्यक्रममा रुपन्देहीका सरकारी र संस्थागत गरी ३५ बढी विद्यालयका ४ हजार विद्यार्थी सहभागी हुने आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा भूकम्प कसरी जान्छ ?, भूकम्प गइहालेमा मानिसहरु कसरी सुरक्षित हुन सकिन्छ ? आदि विषयमा विभिन्न १४ थरिका मोडेलहरु प्रदर्शनी गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहान ८ बजे गर्ने कार्यक्रम रहेको न्यू होराइजन स्कूलका प्राचार्य लोकनाथ उपााध्यायले जानकारी दिए । कार्यक्रम सांझ ५ बजेसम्म चल्ने उनले बताए ।
नास्टका प्रविधि संकाय प्रमुख डा सुरेशकुमार ढुंगेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै भूकम्पबारे वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक रहेको बताए ।
सोमबार विद्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले भने–‘भूकम्पको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन रणनीति आवश्यक छ । यस्ता प्रदर्शनात्मक कार्यक्रमले विद्यार्थी तथा शिक्षकलाई वैज्ञानिक आधारमा बुझ्ने र आपतकालीन अवस्थामा सही निर्णय लिन सक्षम बनाउँछ ।”
न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय परिसरमै यस्तो राष्ट्रियस्तरको वैज्ञानिक कार्यक्रम आयोजना हुनु गर्वको विषय भएको उल्लेख गर्दै कार्यक्रममा सहभागी भएर जीवन सुरक्षित गराउने ज्ञान हासिल गर्न आग्रह गरे । ‘विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई जीवन उपयोगी ज्ञान सिक्ने थलो हो । नास्टसँगको सहकार्यले विद्यार्थीहरूमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्नेछ’– उनको भनाइ छ ।
वरिष्ठ भूकम्पविद डा लोकविजय अधिकारीले भूकम्पको पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको प्रमुख आधार भएको बताए ।
“भूकम्प कहिले आउँछ भन्ने थाहा हुँदैन, तर आउँदा कसरी सुरक्षित हुने भन्ने ज्ञान भने हामीले बुटवलको प्रदर्शनीमा सिकाउछौं’–उनले भने ।
भूकम्पविद डा शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति तथा सुरक्षित संरचना र व्यक्तिगत सुरक्षाका उपायहरू प्रदर्शन गरिनेछ । ‘सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराउँदा विद्यार्थीहरूमा आत्मविश्वास र तयारी दुवै बढ्छ’– उनले भने ।
नास्टले यसअघि पनि नेपालका विभिन्न सहरहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमहरूको उद्देश्य विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्नुका साथै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको नास्टले जनाएको छ ।
नेपालको भूकम्पीय संवेदनशीलतालाई ध्यानमा राखी स्थानीय तहसम्म वैज्ञानिक चेतना फैलाउने लक्ष्यसहित आयोजना गरिएको यस कार्यक्रमले भूकम्पीय तयारी र प्रतिक्रियामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा विद्यालयका उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल,राजीव श्रेष्ठ,व्यवस्थापन संकाय संयोजक प्रकाश खनाल,शिक्षक मुक्ति पौडेल लगायतले कार्यक्रममा सहभागी भएर भूकम्पको जोखिमबाट बच्ने उपायबारे ज्ञान हासिल गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरे ।




