नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाएर आयात घटाउने योजना बनाएको छ । लामो समयदेखि पेट्रोलमा इथानोल मिसाउने भनिएपनि सरकारले निर्णय नगर्दा अघि बढ्न सकेको थिएन् । मन्त्रिपरिषद्ले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२ स्वीकृत गरसँगै पेट्रोलमा इथानोल मिसाउने योजना कार्यान्वयन हुन लागेको हो ।
सरकारले २०६० सालमा नै २० प्रतिशत इथानोल मिसाउनेबारे निर्णय गरेको थियो । सरकारले निर्णय गरेको २२ वर्षपछि निर्णय कार्यान्वयनमा आउने गरी प्रक्रिया बढ्नु जति सकारात्मक छ, निर्णय कार्यान्वयनमा लागेको समयले धेरै प्रश्न खडा गरेको छ । पेट्रोलमा इथानोल मिसावट गर्दा मुलुकको हितमा छ भन्ने निष्कर्ष निस्केपछि निर्णय कार्यान्वयन गर्न के अप्ठ्यारो आइलाग्यो ? यति लामो समय निर्णय कार्यान्वयनको लागि बिताउनु पर्दा मुलुकले लाभ कसरी लिनसक्छ ? यी प्रश्नको उत्तर खोजेनौं भने मुलुक सही दिशाम अघि बढ्दैन् ।
मुलुक अहिले शतप्रतिशत आयातित पेट्रोलमा निर्भर छ । इथानोलको प्रयोग सुरु भए यसले आयात प्रतिस्थापन गर्ने छ । र, विदेशी मुद्रा सञ्चिति बढ्ने छ । इथानोल जैविक ऊर्जा हो । यो विभिन्न कृषिजन्य कच्चापदार्थबाट उत्पादन हुन्छ । उखुबाट चिनी बनाउँदै गर्दा तयार हुने मोलासिसबाट पनि इथानोल बनाइन्छ । विज्ञहरूका अनुसार, अहिले सम्भावित कच्चापदार्थ सिमलतरुलको फार्मिङ गरी प्रशोधन गरेर पनि इथानोल तयार गर्न सकिन्छ । ९९दशमलव ५ प्रतिशत शुद्धता भएको इथानोल पेट्रोलमा राख्ने गरिन्छ । इथानोल नेपालका लागि नयाँ विषय भए पनि पेट्रोल उत्पादन हुने अन्य मुलुकमा यसको प्रयोग बढ्दै गएको छ । भारतले २० प्रतिशत इथानोल मिश्रित पेट्रोल बिक्रीवितरण गर्दै आएको छ ।
पेट्रोलमा १० प्रतिशत इथानोल मिसावट गर्दा दैनिक दुई लाख लिटर इथानोल आवश्यक पर्ने नेपाल आयल निगमका अधिकारीहरूको भनाइ छ । अहिले चिनी मिलहरूले ५० हजार लिटर दैनिक इथानोल उत्पादन गरिरहेका छन् । उद्योगीहरूले उपलब्ध गराउन सक्ने इथानोलका आधारमा कति मिसावट गर्ने भन्ने टुंगो लगाइने छ । इथानोल मिसाएको पेट्रोलको मूल्य सस्तो हुने र वातावरणमैत्री हुने भएकाले अब प्रक्रियागत काममा ढिलाइ गर्न हुन्न ।
इथानोल बनाउने कच्चापदार्थ किसानले उत्पादन गर्ने भएकाले उनीहरूको आयआर्जन बढ्छ । किसानबाट प्राप्त कच्चापदार्थ प्रशोधन गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले लगानी र रोजगारी श्रृजना हुन्छ । यसले मुलुकको विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ । पेट्रोलमा इथानोल मिसाउने निर्णय कार्यान्वयनमा भएको ढिलासुस्तीबाट पाठ सिक्दै अब कार्यान्वयनमा लैजान बहाना बनाउने छुट छैन । राज्यप्रति नागरिकको अपनत्वबोध यस्ता निर्णयको छिटो कार्यान्वयन र प्राप्त प्रतिफलबाट सम्भव छ ।




