गुल्मी । कुमाल समुदायको परम्परागत सीपलाई व्यवसायिक र आधुनिक बनाउन गुल्मीको ईस्मा गाउँपालिकामा सेरामिकका भाँडा बनाउने एडभान्स तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ।
‘आधुनिक वातावरण, सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित ईस्मा गाउँपालिकाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तालिम भएको हो।
मंसिर ११ देखि माघ १ गतेसम्म ४५ दिने तालिम ईस्मा गाउँपालिका–६, बुल्ममा आयोजना गरिएको तालिममा १६ जना स्थानीय कुमाल समुदायको सहभागी भएका थिए।
लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुसालले घरेलु साना उद्योग कार्यालय लुम्बिनी प्रदेश सरकार अन्तरगत परेको बताउदै अहिले कार्यालय निकै सकृय बनेर रोजगार सिर्जना गरिरहेको बताए। उनले कुमाल समुदायलाई आय आर्जनमा जोड्नको लागि यो तालिम निकै प्रभावकारी हुने बताए।

कुमाल समुदायको आफ्नै पेसा माटोका भाडा सामान्य बनाएपनी तालिम पछि बजारमा बिक्रि बितरण हुनेगरी निर्माण गरेर आयआर्जन गर्न सहज हुने बताए।
तालिममा कुमाल समुदायका सहभागीलाई लक्षित गरी सेरामिक प्रविधिबाट गुणस्तरीय भाँडा निर्माण गर्ने सीप प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिव अर्यालले बताए।
तालिममार्फत कुमाल समुदायको परम्परागत माटोका भाँडा बनाउने सीपलाई आधुनिक सेरामिक प्रविधिसँग जोड्दै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्य राखिएको उद्योग विकास सहजकर्ता त्रीबिक्रम ज्ञवालीले बताए।
आयोजकका अनुसार तालिमले स्थानीय स्तरमै उत्पादन बढाउन, बजारमा प्रतिस्पर्धी भाँडा तयार गर्न र कुमाल समुदायको आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक जिल्ला अधिकारी हरि प्रसाद गैरे, इस्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण महत, इस्मा गाउँपालिका वडा नम्बर १ अध्यक्ष शेर बहादुर कुवर, मुख्य प्रशिक्षक पदम मुखिया लगायतले बोलेका थिए।




