बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयां व्यवस्थापन समिति गठन भएको छ ।
शुक्रवार भएको अभिभावक भेलाबाट सदस्यमा तेजेन्द्र खनाल, सुमित्रा बराल, टिका वली र खुमानन्द भण्डारी चयन भएका थिए । शिक्षाप्रेमी,चन्दादाता र समाजसेवीको तर्फबाट नित्यानन्द ज्ञवाली र यमुना काउचालाई समितिमा मनोनित गरी कार्यसमितिको बैठकले ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिमा अभिभावक भेलाबाट दुई महिला सहित चार जना निर्वाचित गर्ने, दुई मनोनित गर्ने, शिक्षक प्रतिनिधि एकजना,वडाध्यक्ष र प्रधानाध्यापक पदेन सदस्य रहने गरी नौ सदस्यीय व्यवस्थापन समिति रहने शिक्षा ऐनमा व्यवस्था छ ।
अभिभावक भेलामा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुनले कालिका मानवज्ञान मावि देशकै नमूना विद्यालय बन्नु बुटवलको गौरव भएको बताउदै यो विद्यालयलाई अझ राम्रो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले कालिका मानवज्ञान माविकलाई यो स्थानमा ल्याउन मिहिनेत गर्ने प्रधानाध्यापक, शिक्षक, अभिभावक सबैलाई धन्यवाद दिए ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एंव सल्लाहकार घनश्याम पाठकले विद्यालयलाई यो स्थानमा ल्याउन निकै मिहिनेत गरेको स्मरण गर्दै आगामी दिनमा अझ उचाईमा पु¥याउन नयाँ व्यवस्थापन समितिले मार्गनिर्देशन गर्नुपर्ने बताए ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखा कोपिला ज्ञवालीले नयाँ व्यवस्थापन समितिले विद्यालयको शैक्षिक उन्ननयनमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन् ।
प्रधानाध्यापक दिनेश थापाले विद्यालयको शैक्षिक विकासमा दिशानिर्देश गर्ने अपेक्षा व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष नित्यानन्द ज्ञवालीले नमूना विद्यालयको प्रतिष्ठा र गौरव बढाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कालिका मानवज्ञान माध्यमिक विद्यालय मुलुकमा सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालय हो । यहाँ ८ हजार विद्यार्थी अध्ययनरत छन् ।




