भैरहवा
बुटवल १२ दुर्गा नगरका सुदिप कँुवर जिल्ला प्रहरी कार्यालय अगाडि भेटिन्छन्, उमेरले जेनजी पुस्ता रहेका उनी निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन आएका हुन् । बेरोजगार रहेका उनी देशको सेवा गरांै र प्रहरीको अनुभव लिने उद्देश्यले भनेर यस पटक बर्दी नै लगाउने भनेर आवेदनका लाइनमा थिए । पहिला लेखापालको काम गरिरहेका उनी अहिले वैदेशिक रोजगारको प्रयासमा छन्, बाहिरको पनि आवेदन दिएकोले खाली समयमा देशमै योगदान दिने भनेर यहाँ आएका हुन् । उनले जेनजीहरुले यो निर्वाचन गराएकोले देशलाई निकास दिनका हामीले पनि सहयोग गर्नुपर्छ भनेर पनि आवेदन दिन आएको सुनाए ।
यस्तै सियारी ७ का प्रविन पराजुलीको भनाइ पनि आर्थिक अवस्था कमजोर भएकोले केही समयमा केही आम्दानी पनि हुने र राज्यको सेवा हुने भएकोले आवेदन दिएको बताए । प्रहरी सेवाको के–कस्तो जिम्मेवारी हुन्छ, अनुभव बटुल्न पहिलो पटक फारम भरेको उनले जनाए । उनी थप्छन्–‘देशमा अहिले बेरोजगार धेरै रहेको यो भिडले देखिन्छ, बिहानै आएको हो लाइन हेरेर घर जाने विचार भयो पछि साथीको सहयोगले आवेदन दिएको हो ।’
लक्ष्मी केसी अर्घाखाँचीबाट आएर आवेदन दिइन । उनले प्रहरी हुने सपना भएकोले अनुभव लिनका लागि पनि आवेदन दिएको बताइन् । जेनजी पुस्ताकै उनी देशका लागि केही गर्नुपर्ने मनासय राखेर आएको बताइन् ।
घर खाली बस्नुभन्दा यहाँ आएर देशको सेवा गरौं केही समय भनेर आवेदन दिन आएको मुर्गियाकी रोशनी पुन मगरले बताइन् । काम पाएको बेला काम गर्नुपर्छ, म पनि सवल छु भन्नका लागि पनि आवेदन दिएको उनी बताउँछिन् ।
यी त उदाहरण हुन निर्वाचन प्रहरीका लागि अहिले यस्ता सयौं युवाहरु लामबद्ध रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा ४ हजार ४ सय ९७ जना निर्वाचन प्रहरी गरिंदैछ ।
जिल्लामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । निर्वाचनको सुरक्षा व्यवस्थापन थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत् ४० दिनको धभधम्यादका लागि निर्वाचन प्रहरी परिचालन हुँदैछ । आवेदन खुला भएसँगै जिल्ला प्रहरी कार्यालय अगाडि निर्वाचन प्रहरीमा आवेदन दिन आउनेको ठूलो भिड लागेको थियो भने कम संख्यामा यस पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी राख्न पाउने व्यवस्था भएकोले सशस्त्र गणमा पनि केही आवेदकहरु पुगेका थिए ।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा निर्वाचन क्षेत्रमा तैनाथ गर्नका लागि नेपाल प्रहरीतर्फ ४ हजार १९ जना र सशस्त्र प्रहरीतर्फ ४ सय ७८ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । सुरुवाती दिनबाटै रुपन्देहीमा उत्साह पूर्वक रुपमा आवेदकहरु आउने गरेका छन् । अन्तिम दिन बिहीबारसम्म जिल्ला प्रहरी कार्यालयमा ६ हजार २ सय ४९ जनाले आवेदन दिएका छन् जस्मा महिला १ हजार ४ सय १२ र ४ हजार ८ सय ३७ जना छन् ।
यस्तै सशस्त्र प्रहरीतर्फ ५ सय ६५ जनाले आवेदन दिएका छन्, जस्मा महिला ७४ र ४ सय ९१ जना छन् । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति रुपन्देहीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आहृवान गरेर दरखास्त लिइरहेको छ ।
निर्वाचन प्रहरी भर्ना छनोटका लागि सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइएको छ ।
भर्नाका लागि आगामी माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीमा आवेदन खुला भएको थियो । निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले सक्ने जनाइएको पनि निवेदन दिनेहरु अधिकांश जेनजी उमेर समूहका पुस्ताहरुको रहेको छन् ।
निर्वाचनमा नियमित गस्ती, कार्यालय सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धानलगायतमा एकातिर नियमित रूपमा खटिनुपर्छ भने निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनअन्तर्गत उम्मेदवारका सुरक्षादेखि प्रचारप्रसार, आमसभालगायतमा पनि सुरक्षा दिनुपर्ने हुन्छ । तर, निर्वाचन सुरक्षा व्यवस्थापनमा यो जनशक्तिले मात्र अपुग हुन्छ । सोहीकारण नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘सहयोगी सुरक्षा फौज’का रूपमा परिचालन गर्ने गरी निर्वाचन प्रहरी भर्ना गर्दैछ । यसरी भर्ना हुनेमध्ये प्रहरीमार्फत् खटिने जनशक्ति प्रहरीकै चेन अफ कमाण्ड र सशस्त्रअन्तर्गत खटिनेले सशस्त्रले चेन अफ कामाण्डमा रहनु पर्नेछ ।
यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाको दरले ४० दिनका लागि ३४ हजार ७७६ पारिश्रमिक प्रदान गरिने समितिले जनाएको छ । साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्चसमेत उपलब्ध हुन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीबाट ३ लाख ४६ हजार २ सय ३ जना पुरुष, ३ लाख ३६ हजार ३ सय ११ जना महिला र ९ जना अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना लाई मतदाता रहेका छन् । जस्का लागि ५ निर्वाचन क्षेत्रमा २ सय ९ वटा मतदान स्थल र ७ सय ३२ मतदान केन्द्र तय भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत् १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’का रूपमा छनोट गरी परिचालन गर्दैछ ।
मापदण्डअनुसार नेपाली नागरिक भएको हुनुपर्ने छ । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, पुरुषको हकमा कम्तीमा ५ फिट उचाई, छातीको चौडा ३१ देखि ३३ इञ्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इञ्च उचाई, ४२ केजी तौल र गर्भवती नभएको÷नरहेको हुनुपर्ने योग्यता तय गरिएको छ ।




