निर्वाचन आचारसंहिता निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित ढंगले सम्पन्न गर्न महत्वपूर्ण मानिन्छ । निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने काम इमान्दारीपूर्वक भयो भने निर्वाचनमा आम नागरिकको सहभागिता सुनिश्चित गर्न सकिन्छ ।
लोकतन्त्रमा निर्वाचन यस्तो विषय हो, जसले लोकतन्त्रलाई जीवन्त बनाउँछ । निर्वाचन विना लोकतन्त्रको परिकल्पना गर्न सकिन्न । लोकतान्त्रिक प्रणाली निर्वाचनबाट नै संस्थागत, व्यवस्थित र मर्यादित हुने हो । भयरहित र स्वतन्त्र निर्वाचनले मात्रै नागरिकले मन परेको दल र उम्मेदवारलाई मत दिन पाउँछन् । जहाँ निर्वाचन निष्पक्ष, मर्यादित र भयरहित हुन्छ, त्यहाँको लोकतन्त्र सबल हुन्छ । जनताले चुनेका प्रतिनिधि पूर्णतः जनताप्रति जिम्मेवार र जवाफदेही हुन्छन् । कतिपय मुलुकमा निर्वाचन हुन्छ, तर त्यो निर्वाचन केवल औपचारिकताका लागि मात्रै हुन्छ, त्यहाँ सत्ताको छायाँमा हुने निर्वाचनले नागरिकले ढुक्कसँग मत व्यक्त गर्न पाइरहेका हुँदैनन् । त्यस्तो निर्वाचनले राजनैतिक निकास दिँदैन् । नागरिकका इच्छा र आकांक्षाको सम्बोधन गर्ने प्रतिनिधि चुन्न सक्दैन । नेपालको लोकतान्त्रिक प्रणाली संस्थागत हुने दिशातिर अघि बढिरहेको छ । यद्यपी भदौ २३ र २४ को जेनजी आन्दोलन र विध्वंशबाट मुलुकमा संविधानले बाटो बिराएको छ । बाटो विराएको संविधानलाई सही लयमा ल्याउने काम निर्वाचनको हो । त्यसैले निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गर्ने र गराउने पहल लिनुपर्छ ।
निर्वाचन आयोगले सबैका लागि आचारसंहिता तयार गरेको छ । सरकार, नागरिक, सञ्चारमाध्यम, राजनैतिक दल र उम्मेदवारले गर्न हुने र नहुने कामका बारेमा उल्लेख गरेको छ । अहिले सबैभन्दा चुनौती साइबर हमला हो । विपक्षी उम्मेदवारका बारेमा तथ्यहिन आरोप लगाएर सामग्री तयार गर्ने र प्रचार गर्ने प्रवृत्ति बढ्न सक्छ । तथ्यहिन आरोप लगाएर दुष्प्रचार गर्ने प्रवृत्तिको शिकार अहिले समाजको सबै तप्का भइरहेको बेला चुनावमा अझै व्यापक हुनसक्छ । निर्वाचन आयोगले साइबर हमला नियन्त्रण गर्न पहलकदमी लिनुपर्छ । त्यसकालागि नेपाल प्रहरीको साइबर ब्यूरोबाट तालिम प्राप्त दुई जना प्रहरी देशका सबै जिल्लामा खटाउने तयारी गरेको छ । ती प्रहरीले निर्वाचनको बेला आचारसंहिता उल्लंघन हुने विषयमा सामाजिक सञ्जाल मनिटर गर्ने बताइएको छ ।
निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै राजनैतिक दल र उम्मेदवारले सघाउ पु¥याउनुपर्छ । निर्वाचन आचारसंहिता पालना गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले पूर्वाग्रह रहित ढंगले काम ग¥यो भने आचारसंहिता पालना गर्ने र गराउने काम प्रभावकारी हुन्छ ।




