झपेन्द्र जिसी
२०८२ साल माघ ६ गते १६५ निर्वाचन क्षेत्रमै मतदान केन्द्रमा गई उम्मेदवारी दर्ता गरेका छन् । कतिपयले स्वतन्त्र ढंगले पनि उम्मेदवारी दर्ज गरेका छन् । विगत स्थानीय निर्वाचनमा काठमाडौं, धरान, कञ्चनपुर आदिमा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन जित्दा हैसिएकाहरुले मैले पनि निर्वाचन जित्न सक्छु भनेर हौसिएको देखिन्छ । म अरुभन्दा निकै लोकप्रिय (पपुलर) छु । यही पपुलारिटीले चुनाव जित्न सक्छु भन्ने परेको हुन सक्छ ।
अरु त अरु पत्रकारिता जगत्बाट जनता जान्न चाहान्छन् भनेर मिडियामा कुर्लने ऋषि धमलासमेत रौतहटबाट निर्वाचन लड्न हौसिएका छन् । रौतहतबाट निर्वाचन लड्दै छन् ।
राजनीति गर्न दर्शन, सिद्धान्त, विचार केही चाहिएन । टिनका बट्टाभित्र रोडा हालेर खर्लाङ् खर्लाङ् गरी जोडले बज्न सके लोकप्रिय भइने भयो ! कुनै नेता अभिनेता वा राष्ट्रसेवक कर्मचारीलाई विना तथ्य भ्रष्टाचारी, दुराचारी, व्यभिचारी भनेर खुइल्याउन र हिलो छ्याप्न सके लोकप्रिय भइने कस्तो मज्जा महान् नेपाली जनता पनि अचम्मका छन् । हुन त जनताको टिप्पणी गर्न हुन्न भन्छन् । मैले यो लेखमार्फत् जनताको अपमान र अवमूल्यान गर्न खोजेकै छैन् । त्यस्तो गर्दै गर्दिन । म जनतामा समर्पित अवश्य छु र हार्दिक सम्मान गर्न चाहान्छु ।
तर जनताको बुझाइमा रहेका गलत विचार र त्यस्तो भ्रम छर्नेका विरुद्ध हिंसात्मक खड्ग चलाउने मेरो धर्म होइन, त्यस्तो म गर्दिन । यस्तो किन लेख्दै छु ? यसकारणले लेख्दैछु– रवि लामिछाने सिंधा कुरा जनतासँग भट्ट भट्टयाउँदै भटाउँदै स्थापित भए । मैले राम्रै मान्थे उनलाई, भ्रष्टाचार व्यभिचारको पर्दाफास गर्थे म झन् खुसी हुन्थें । र भन्थें–मिडियाकर्मी हुनु त रविजस्तो हुनुपर्छ भन्थें र तारिफका शब्दहरु खोजी खोजी रोजी रोजी लेख्थें ।
तर झयाप्पै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर अध्यक्ष बने ! त्यतिखेर पनि म खुसी नै भएँ । चितवनबाट निर्वाचन लडेर सांसद बने उनी । सांसद बनेपछि कुनै पनि दलको बहुमत नआएको त्यो अवस्थामा उनलाई समेत समेटेर सरकार गठन गर्नु ठूला पार्टीहरुलाई बाध्यता नै थियो । त्यही मौकामा उनलाई सरकारमा जाने मौका जु¥यो । मलाई गृहमन्त्री दिए सरकारमा बस्छु अन्यथा बस्दिन भनेर बार्गिनिङ्ग गरे । बार्गिनिङ्ग कडा गरे । बाध्य भई उनलाई गृहमन्त्री बनाइयो । उनी गृहमन्त्री बने । त्यो सरकारमा मन्त्रीहरु फेरबदल भए । प्रधानमन्त्री फेरिएपछि मन्त्रीहरु पनि फेरिनु स्वाभाविकै थियो । फेरिए ।
रवि मुहार हेर्दा हट्टाकट्टा युवा ! गालामा दारीसहित देखिन्थें । युवाहरुलाई आकर्षित गर्न एउटा नारा फैलाइयो– त्यो थियो–‘गालामा दारी काँधमा जिम्मेवारी ।’
यो नारालाई युवाहरुले राम्रै मानेका हुँदा रविप्रति युवाहरु आकर्षित भए र त्यतै त्यतै संगठित भएर चुनावमा उठे र कतिपय स्थानमा जिते पनि !
पछि थाहा हुँदै गयो–उनका चर्चिकला ! दुईवटा नागरिकता र दुईवटा पासपोर्ट समेत रहेछन् । गृहमन्त्री भइसकेका व्यक्तिको दुई दुईवटा नागरिकता र पासपोर्ट हुनु विडम्बना मात्र होइन । यो नेपालको संविधान र कानूनको समेत उपहास हो र थियो ।
अदालतमा यही विषयलाई लिएर मुद्दा परेछ । मुद्दा फैसला हुँदा उनको सांसद पद पनि चट भयो । उनले आत्म स्वीकार गर्दै पुनः चितवन जिल्लाको ऐजन ऐजन निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा लडे र विजय हासिल गरे । कस्ता हुन् हाम्रा मतदाता ! कस्तो बुझाइ हो मतदाताको ! जे जुनसुकै अपराध गरे पनि मत दिने र जिताने ।
पछि त झन् थप कुरा थाहा भयो उनले सहकारीहरुको रकम ब्रह्मलुट गरेका रहेछन् । सहकारी ठग पो रहेछन् । यो कुरा यो पंक्तिकारले आरोपित गर्न खोजेको कुरा होइन । यो त अदालती फैसलाको कुरा हो । अदालती फैसलाको मिसिल खोजेर पढे हुन्छ ।
तर कतिपय सिंधा सादा नेपाली जनता भन्दैछन् । रविजी सदाचारी छन्, उनलाई त फसाइएको हो !
उनले कति विवाह गरे ! अमेरिकामा कति मुद्दा छन्, यो कुरा गर्न यहाँ वाञ्छनीय हुँदैन ।
कुरो यति मात्र हो कि रवि लामिछाने अहिले निर्वाचनमा सिंगुडी खेल्दै अघि बढेका छन् । बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । गालामा दारी काँधमा जिम्मेवारी भनी कुर्लने युवा जगत् पनि त्यतै मोडिएको र प्रत्यक्ष परोक्ष रुपमा त्यतै जोडिएको देखिन्छ ।
प्रिय मित्रहरु ! सिंहदरबार जलाई दिइन्छ भनेर रास्वपाका वरिष्ठ नेता र रविद्वारा प्रस्तावित भावी प्रधानमन्त्री बालेन्द्र शाहले उद्गार व्यक्त गरेको मिडियाबाट आम नेपालीले सुनेकै छन् । सिंहदरबारलगायत राष्ट्रिय सम्पदामाथि आगजनी भइरहेको बेला तत्कालीन मेयर बालेनले दमकल नपठाउनु र सिंहदरबार जलाइन्छ भन्ने उद्गार प्रकट हुनु काकताली हो कि के हो ? कथित भावी प्रधानमन्त्रीको प्रस्ताव राख्ने रविले र कथित भावी प्रधानमन्त्री बालेन्द्रले आम जनतालाई प्रष्ट पार्न सक्नु पर्छ ।
मेयर पदमा हुँदा सिंहदरबारजस्ता राष्ट्रिय सम्पदा जलाइन्छ भन्ने कथित भावी प्रधानमन्त्री साँच्चै प्रधानमन्त्री भने यो देश कहाँ पुग्ला ? सुदृढ होला कि ? विलय होला ? प्रश्नहरु उठिरहेका छन् । स्पष्टै छ मनको लड्डु घिउसित खा भन्छन् ! यिनले त मनको लड्डु घिउसित खानु मात्र नभएर अरु के हुन सक्छ र ? विचरा !
आदरणीय जनसमुदाय, भाद्र २३ र २४ को जेनजी नामक विद्रोहको साइनो सम्बन्ध कोकोसँग जोडिन्छ होला ? अहिले त रहस्यका पानाहरु खुल्दैछन् । कसरी ? जेनजी आन्दोलनको विध्वंसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा कस्ता कस्ता मान्छेहरु समाविष्ट भएका रहेछनन् ? कस्ताकस्ता गैरजिम्मेवार मन्त्री भएका रहेछन् ?
भन्नलाई त भन्थे यो सरकारको मुख्य काम फागुन २१ गते निर्वाचन गर्नु नै हो । तर मुख्य काम पूरा नहुँदै मन्त्रीहरु कुलमान सिंह घिसिङ, महावीर पुन, जगदीश अर्याल लगायत सबै जसो मन्त्रीहरुले राजीनामा दिइसकेका छन् । गृहमन्त्री, स्वास्थ्यमन्त्री बाहेक सबै निर्वाचनमा हुम्मिसकेका छन् । धन्न सुशीला कार्कीले राजीनामा दिएकी छैनन् र सरकार छ भन्नलाई मात्र छ । निर्वाचन सम्पन्न नहुँदै, कुन–कुन मन्त्रीको हालत के हुने हो केही ठेगान छैन । स्वतन्त्र नागरिक सरकार भने पनि यी अनुहारहरु बारबरा फाउण्डेशन र विदेशीहरुका एजेन्ट नै रहेछन् भन्ने उनीहरुको चरित्रले प्रदर्शन गरिरहेको छ । कथित जेनजीहरु त प्रयोग मात्र भएका रहेछन् भन्ने अब उदाङ्ग भइसकेको छ । जेनजी विद्रोहको नाममा प्रमुख रुपमा यिनै मन्त्रीहरुले नै अगुवाइ गरेको देखियो ।
के यसको समाधान निर्वाचन सम्पन्न गरेर होला त ? के निर्वाचन पछि शान्ति, स्थिरता आउँला त ? अथवा लोकतन्त्रले गति लेला त ? सबै शंकाको गर्तमा छ । शान्ति, स्थिरता भए त राम्रै हो, तर गाह्रो देखिन्छ । तर सम्भव देखिंदैन । निर्वाचनमा सबै दलहरु होमिइसकेका छन् । निर्वाचन आयोगले निर्वाचन गराउन लागेको छ । सम्पूर्ण निर्वाचनको काम पूरा भएको जनाएको छ ।
अस्थिरताको प्रमुख कारण एउटा मात्र दलले आवश्यक बहुमत ल्याई सरकार गठन गर्न सक्ने आधार छैन । यसका लागि संविधान र निर्वाचन नियमावली संशोधन गरेर निर्वाचन गर्नु राम्रो हुने थियो । तर भएन ! म्याद गुज्रेको छ । सरकार र निर्वाचन आयोग निर्वाचन गराउने तयारीमा जुटिसकेको छ भने सर्वाेच्च अदालतमा संसद पुनस्र्थापनाका लागि परेका सबै मुद्दाहरुको कुनै छिनोफानो भएको छैन । निर्वाचन आयोग र सरकारका बीचमा सामान्य समन्वयन पनि छैन । मुलुक कता जाने हो अन्योल छ । केही मानिस मेसो न भाँतीसँग रवि ! रवि !! बालेन ! बालेन भनेर फेसबुकमार्फत् रमाउँदै छन् । बुझ्न न सुझ्न त्यसै त्यसै प्रलाप गर्दैछन् । चोर र ठगहरु राष्ट्रिय सम्पदा जलाउनेहरुको हाई हाई चल्दो छ । किन होला ? शिव ! शिव !
उपसंहारः बीचैमा सरकारबाट राजीनामा दिने र महानगरपालिकाबाट राजीनामा दिने यी दुष्टहरुलाई पराजित गर्नु मतदाताको कर्तव्य हो । राष्ट्र र लोकतन्त्र बचाउने उपाय हो ।




