बुटवल । बुटवल–११ मा रहेको मणिमुकुन्द सेकेन्डरी स्कुलले मेगा कल्चर मिट तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवसमेत आयोजना गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गम प्रसाद रेश्मीले मणिमुकुन्द शिक्षण संस्थाले हजारौँ दक्ष जनशक्ति उत्पादन गरिसकेको उल्लेख गर्दै धेरै विद्यार्थी सरकारी सेवामा तथा अन्तर्राष्ट्रियस्तरमा समेत परिचित हुँदै आएको बताए।
मणिमकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्री राम्रो शैक्षिक नतिजा ल्याउन विद्यालय तथा कलेजले ले निरन्तर पहल गर्दै आएको र अहिलेसम्मको नतिजाले सन्तुष्टि दिलाएको बताए ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमापति न्यौपानेले विद्यार्थीको शैक्षिक अवस्थाको जानकारी दिनुका साथै खाना महोत्सवमार्फत खानेकुरा तयार गर्ने, बजारीकरण र उद्यमशीलताको ज्ञान प्राप्त गर्न सकिने बताए।
कार्यक्रममा कार्यक्रममा विद्यालय संयोजक हरि प्रसाद पौडेल, सह–प्राचार्य दिवाकर खनाल, बिहानी कमर्स संयोजक पशुपति चौधरी, बिबिएस संयोजक दिनेश पाण्डे तथा विज्ञान विषय संयोजक लक्ष्मण गैरे, शिक्षक प्रकाश सुबेदी लगायतले बोलेका थिए ।
कक्षागत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
मणिमुकुन्द कलेज वि.सं. २०५६ सालमा स्थापना भएको हो भने सेकेन्डरी स्कुल वि.सं. २०७३ सालमा स्थापना भएको हो। हाल विद्यालयमा कक्षा १० सम्म करिब ८०० विद्यार्थी अध्ययनरत छन् भने ५३ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।




