२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आगामी चुनाव किन र केका लागि ?

आगामी चुनाव किन र केका लागि ?

आगामी चुनाव किन र केका लागि ?

आगामी चुनाव किन र केका लागि ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • आगामी  फागुन २१ मा हुने भनिएको  प्रतिनिधिसभाको निर्वाचनका लागि आ–आफ्ना दलीय उम्मेदवारहरुको मनोनयन भइसकेको छ । समानुपातिक उम्मेदवारहरुको मनोनयन पहिले नै भइसकेको थियो । यसकारण  अब यो निर्वाचन सम्पन्न होला जस्तो देखिंदैछ । हुन त यसको विपक्षमा कांग्रेस–एमालेलगायतले सर्वाेच्च अदालतमा दर्ता गराइएको रिट निवेदनमाथि सामान्य छलफल बहस हुँदैछ । तै पनि यसका लागि समय घर्किदै छ भने चुनावी माहोल बढ्दो छ । समय नै भए पनि यसमाथि सर्वाेच्चले गर्ने नै के र ? एउटा भनाइ छ– आफैँ त महादेव उत्तानो  जरा अब कसले देला बर ? ठीक यस्तै स्थिति अहिले सर्वाेच्च अदालतको छ । जसले अदालतमा आगो लगाई ध्वस्त पा¥यो । त्यसैको सरकार अनि त्यसैको विपक्षमा बोल्ने र मुद्दा छिन्ने कसको हिम्मत ? त्यसैले अब पनि यो निर्वाचन हुने कि नहुने मुख्य जिम्मेवारी यो सरकार र सरकार सञ्चालन गर्ने देशी तथा विदेशी शक्ति केन्द्रहरुको हातमा छ ।


    अब अर्काे प्रश्न  र चर्चा छ यो निर्वाचन जित्छ कसले ? उत्तर सहज छ जसको साथमा डाडु पनियो छ– उसैको पेट पहिले भरिन्छ । अहिले देशको राज्य सत्ता जेनजीको साथमा छ । पुलिस, सेना, कर्मचारी सबै जेनजीकोे । फेरि जेनजी कसको विभिन्न साम्राज्यवादी देशबाट सञ्चालित एनजीओ र आइएनजीओको । फेरि यी सबै कसका ? जसले यी सबैलाई तलब–भत्ता, दाना, पानी दिइरहेको छ उसैको । बारबरा फाउण्डेशन अमेरिकी युथ काउन्सिल, टिओबी अर्थात् तिब्बती ओर्जिनल बल्ड आदि सबैको परिचालन पश्चिममा साम्राज्यवाद भइरहेको सर्वविदितै छ । जुन कुरा पटकपटक जेनजी अगुवाहरु स्वयं आफँैले भन्दै पनि आइरहेका छन् । जेनजी नामाकरण नै तिनीहरुबाट नै भएको हो । 


    हरेक राज्य सत्ताको प्रमुख अंग कार्यपालिका, न्यायपालिका र मन्त्रिपरिषद् भनिए पनि खास सुरक्षाको दृष्टिले प्रमुख निकाय सेना नै हो । जब सेना नै देशको शान्ति–सुरक्षाका लागि निस्क्रिय र रमिते बन्छ त्यो बेला राज्यका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री अनि दल नेताहरुको के लाग्छ ? भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो नेपालका प्रधानमन्त्री केपी ओलीको तत्कालीन अवस्था उदाहरण सर्वविदितै छ । भेनेजुएलाका राष्ट्रपतिमा स्वयं अमेरिकी राष्ट्रपति डोनाड ट्रम्पले स्व. घोषणा गरिसकेका छन् । त्यस्तै नेपालका लागि प्रधानमन्त्री सुशीला कार्की भए जस्तै अब स्व घोषित रुपमा बालेन शाह मैदानमा उत्रिसकेका छन् । त्यसका लागि राज्य सत्ताले साम, दाम, दण्ड, भेद सबै गर्ने निश्चित छ । चुनाव त खाली देखाउने नौटंकी अर्थात् हात्तीका देखाउने दाँत मात्र हो । त्यही भएर देशका सच्चा देशभक्त जनवादी र वामपन्थी शक्तिहरुले यो निर्वाचनको उपयोग वा भाग लिनेतिर होइन, सके सक्रिय बहिष्कार नसके वैचारिक र प्रचारात्मक बहिष्कार अर्थात् नो भोट भन्ने हो ।


    अब यो चुनाव कस्तो होला ? यसका लागि कमरेड लेनिनका भनाइतिर लागौं । संसद र संसदीय व्यवस्थाको खिल्ली उठाउँदै त्यतिबेला लेनिनले भनेका थिए– बाहिर खसीको टाउको देखाउने तर भित्रभित्रै कुकुरको मासु बेच्ने ठग बुच्चडको अखडा । ठीक यो त यहाँ पनि देखिएकै छ । सुरु सुरुमा संसदमा पुग्ने जब त्यहाँ गएपछि बाटो हिंड्दै छ पाइला भेट्दै छ भने जस्तै ती पहिलेका ठूलठूला जनपक्षीय माग र नारा बिर्सदै अन्ततः देश र जनविरोधी राष्ट्रघाती र जनघाती गद्दार बन्ने । उदाहरण यी पुराना नेपालका दल नेताहरु जस्तै देउवा, ओली, प्रचण्ड, माधव, बाबुराम बनेका छन् । हिजो १० वर्षे माओवादी जनयुद्धप्रति गद्दारी गरेर यो व्यवस्था र यसको निर्वाचनमा आउँदा प्रचण्ड–बाबुरामले अब १० वर्षमा नेपाल स्वीजरल्याण्ड र सिंगापुर बन्ने भनेका होइनन् र ? उनीहरुले यो भनेको पनि २० वर्ष पूरा भइसक्यो ? खोई नेपाल स्वीजरल्याण्ड र सिंगापुर बनेको ? उल्टो नेपाल अब इथोपिया, अफगानिस्तान, गाजा र युक्रेन बन्दैछ । ब्लक लिष्टमा नाम दर्ज भइसकेको छ ।  त्यसैले यसप्रकारको यो चुनावी नौटंकीले अब पनि देशलाई बदल्ने होइन झन खाडलामा जाक्ने निश्चित छ । 


    नयाँ साधुले धेरै खरानी घस्छ– कारण उसले जनताका अगाडि आफू पक्का साधु भएको नौटंकी गर्नु छ । ठीक यो हाम्रा देशका यी नयाँ पुराना नक्कली दल नेताहरुले पनि देखाउने गरेका छन् । २०१५ सालमा कांग्रेसी नेताहरुले, २०४६ सालपछि नेकपा माले–एमाले र २०६३ सालपछि  माओवादीहरुले । अब यी सबैको नक्कली मुकुण्डो उघ्रिसकेको छ । अब यिनीहरुले जति धेरै खरानी घसे पनि सद्धे साधु नभई नक्कली साधु भएको आम जनताले बुझिसके ।


    त्यही भएर अहिले यिनीहरुको रुवाबासी भइरहेको छ । कांग्रेसमा देउवा एण्ड उनको कम्पनीको खारेज नै भइसकेको छ । अब हुने  यो निर्वाचनपछि त्यस्तै खारेजीमा ओली–प्रचण्ड, माधव र बाबुरामको हुने पालो छ । तै पनि यी सबैको विकल्पमा फेरि नयाँ–नयाँ साँधुहरुले नयाँ नयाँ पहिरन, रुप, रंग लिएर यही निर्वाचनमा आउँदैछन् । 
    पहिलेकाले जस्तै चर्का–चर्का नारा र आश्वासन बाँड्दै जनतामा आइरहेका छन् । कोही घण्टी हल्लाउँदै छन् भने कसैले लालटिन आदि हल्याउँदै जनतालाई भ्रम पार्दैछन् । हुन त पुराना भनिनेहरु पनि कोही नेतृत्वको पुस्तान्तरणको नाममा पुनः रुख देखाउँदै छन्, भने कसैले गुट एकीकरणको नाममा तारा चिन्ह देखाउँदै हिडेका छन् । आखिर यी सबैले अहिले जे भन्दै र जे चिन्ह देखाउँदै हिडे पनि यी सबै पनि ठग र नक्कली साँधु नै हुन् । जनताले अहिले तत्काल यिनीहरुलाई नचिने पनि पछि अवश्य चिन्ने छन् । मरेको बुढी बाख्राका जुम्राहरु बाहिरिए जस्तै सबै नेता, कार्यकर्ता र जनताहरु यिनीहरुबाट पनि बाहिरिने छन् ।


    यी कसैमा पनि कुनै ठोस विचार–सिद्धान्त अनि राजनीति केही छैन । जता हावा बग्दो त्यतै लहसिने, जे भन्दा र गर्दा भोट पाइन्छ त्यहीं । ताक परे तिवारी नत्र गोतामे । घोर अवसरवादी चरित्र देखाउँदै हिडिरहेका छन् । यी सबै चटकेहरुले यस्तै चरित्र हिजो कांग्रेस–एमाले र माओवादीले देखाउँदै हिडेका थिए । एउटा उदाहरण मलाई झलझली सदा याद भइरहन्छ । २०४८ सालको पहिलो संसदीय निर्वाचन । जसमा तत्कालीन नेकपा एमाले पार्टीले त्यो संसदीय निर्वाचनमा भाग लियो । जस अनुसार अर्घाखाँची जिल्लामा तत्कालीन एमाले नेता मोदनाथ प्रश्रित उम्मेदवार भए । त्यसपछि उनले लिला देखाउँदै हिंड्न थाले । जहाँ जहाँ दलित बस्ती छ त्यहाँ गई जातभात केही छैन सबै बराबर भनी उनीहरुका घरमा बसी खाने बस्ने अनि फेरि जहाँ जहाँ बाहुन–क्षत्रीहरुको बसोबास छ त्यहाँ गई शुद्ध ब्राह्मण जनै धोती फेरेर भान्सा गर्ने चटक देखाउने गरेका थिए । ठीक त्यस्तै चटक अहिले घण्टी पार्टी लगायतले देखाउन थालेका छन् ।


    हिजो सहकारी ठग रवि लामिछानेको घण्टी पार्टीले नेपालमा संघीयता आवश्यकता छैन भनी विरोध गर्ने यतिसम्मकि संघ–प्रदेशको निर्वाचनमा त्यतिबेला उम्मेदवार नै नउठाएको घण्टी पार्टीले अहिले फेरि एकाएक संघीयताको कुरा गर्दैछ । यतिसम्मकि संघीयताको विरोध गरी स्थानीय निर्वाचनमा काठमाडौंमा उठेका मेयर बालेन समेतले अहिले मधेसमा गई मधिशे पहिरनमा संघीयता र मधेस स्वतत्तताको पक्षमा चर्काे भाषण गरी मधशे जनतालाई अ‍ोफ्नो पक्षमा पार्ने दाउमा छन् । छेपाराले रुप रंग बदले जस्तै जहाँ गयो त्यस्तै रुप रंगमा बदलिएर हिंड्ने र भन्ने यस्तो छेपारे राजनीतिसित अहिले नै जनता समयमै होसियार हुनु पर्दछ कि ? नत्र भने आँची पनि गरे थात पनि देखे भने जस्तै पछुताउनु पर्ने हुन सक्छ । जस्तै अहिले कांग्रेस–एमाले र माओवादीसित पछुताउनु परेको छ ।


    राजनीतिक विचार–सिद्धान्त र व्यवहारले नयाँ र पुरानो बीच कुनै अन्तर देख्दैन । आधुनिक र क्रान्तिकारी विचार–सिद्धान्त जसले पनि लिन र बोक्न सक्छ । तर अहिले यो देशमा के भाष्य प्रतिवादन गरिएको छ भने सबै बुढापाका बाईबाई आला–काचा जेनजी सबै हाईहाई । वर्गीय समाजमा हरेक विचार–सिद्धान्त र राजनीति पनि वर्गीय नै हुन्छ । तर अहिले वर्गीयतालाई सबैले चटक्कै बिर्सेको स्थिति छ । त्यसमा पनि नयाँ भनिने दलहरुमा त न वर्गीयता छ, न राष्ट्रियता र स्वाभिमानता छ न राजनीतिक गन्तव्य र उद्देश्य नै छ ।  सुस्ता, महेशपुर, लिपुलेक, कालापानी, लिम्पियाधुरामा भएको भारतीय हस्तक्षेप र विद्रोह खोई, अमेरिकी परियोजना एमसीसी र एसपीपीको विरुद्ध गरेको खोई ? जे पर्ला टर्ला, कुहिरोको काग जस्तै फगत केही तत्कालीन विषयलाई तिलको पहाड बनाएर प्रचार–प्रसार गरी जनतालाई त्यसैमा अलमलाउने मात्र काम भएको छ । 


    नयाँ भनिनेहरुले किन वर्गीयताको कुरा गर्दैन, किसान–मजदूर, शोषित पीडितहरुको आवाज खोई ? उल्टो सडकमा बसी साग सब्जी बेच्ने, मकै बेची जीविका चलाउनेहरुमाथि जाइलाग्ने, नदी किनार बस्ने सुकुम्बासीहरुका घर, टहरा भत्काउने, कवाडीहरुलाई उठिबास लगाउनेहरु र हजारौैं सहकारी पीडितहरुको करोडौ रकम ठगी गरी मोजमस्तीको राजनीति गर्ने ठगहरु नै सिंहदरबार, सर्वाेच्च, अदालत आदि लगायत देशव्यापी आगो लगाउने, लुटपाट गर्नेहरु नै साँच्चै यो देशको शासक बने भने यो देश र जनताको अवस्था र हालत के होला ? समय नै सोचौ र मनन गरौं ।


    निश्चय नै नेपाली जनतामाथि वर्षौ त के पुस्तांैंदेखि यस्तै शोषण–दमन, अन्याय, अत्याचार हुँदै आएको छ । शाह पछि राणा, राणापछि कांग्रेस–शाह अनि राजा–पञ्चे–मण्डले । पछि अहिले कांग्रेस–एमाले र माओवादी सबैले यस्तै गरे । विद्रोह गर्ने जनताको अधिकार हो । पटक पटक यी सबैको जनताले विद्रोह गर्दै आएका छन् । तर यही विद्रोहको नाममा फेरि त्यस्तै देश र जनघाती तप्काहरुलाई नै समर्थन गर्दै जाँदा ताप्केको माछो भुङ्गामा भने जस्तै गर्न खोज्नु पनि मूर्खता नै हुनेछ । आम जनताको मुक्तिको मूल बाटो नै विद्रोह हो । तर मूल कुुरा विद्रोह किन र केका लागि भन्ने हो । विद्रोह अहिले देशको राष्ट्रियता र स्वाभिमानको लागि हो । आम जनताको गास, बास, कपासको लागि हो । विद्रोह यो वर्तमान सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्यसत्ता विरुद्ध नयाँ जनवाद हुँदै समाजवाद र साम्यवाद प्राप्तिको लागि हो । निर्वाचन बहिष्कार पनि त्यसैको लागि ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij