बुटवल
वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिने भन्दै रुपन्देहीको मायादेवी गाउँपालिका–२ का पिताम्बर यादवले ठूलो रकम ठगी गरेको पीडितहरूले गुनासो गरेका छन् । पीडितहरूले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न जिल्लाका करिब ४० जनाबाट झन्डै तीन करोड रुपैयाँ ठगी गरिएको सार्वजनिक गरेका हुन् । पीडितहरुका अनुसार यादवले आफू युरोप पठाउने भरपर्दो ‘एजेन्ट’ भएको दाबी गर्दै आकर्षक तलबको प्रलोभन देखाएर युवाहरुलाई नक्कली भिसा दिएर ठगेका छन् । तीन महिनामा भिसा लाग्ने, राम्रो आम्दानी हुने र कानुनी प्रक्रिया पूरा गरिदिने आश्वासन दिएर यादवले एक व्यक्तिबाट ४० लाख रुपैयाँसम्म रकम उठाएको पीडितमध्येका एक तिलोत्तमा वडा नं. ६ का गोपाल रिजालले बताए । रिजालका अनुसार बागलुङका खिम छन्त्यालबाट यादवले ४० लाख लिए पनि यूरोपमा रोजगारीका लागि पठाएनन् । ऋण लिएर यादवलाई लाखौं रकम दिएपनि युरोप जान नपाएपछि छन्त्याल मानसिकरुपमा विक्षिप्त भएका र सम्पर्कविहीन बनेका रिजालले बताए । यादवले आफूबाट १३ लाख ५० हजार लिएका र त्यसको प्रमाण समेत रहेको रिजालले बताए ।
‘मलाई स्वीटजरल्याण्डसँग जोडिएको लेक्सिटाइन भन्ने देशमा पठाउने भनेर पटक–पटक गरी १३ लाख ५० हजार लिए, थाइल्याण्ड गएर भिसा लाग्छ भनेर टुरिस्ट भिसामा थाइल्याण्ड पु¥याएर ४० दिन राखेपछि भिसा दिए, तर पछि त्यो नक्कली भन्ने पुष्टी भयो,’ रिजालले भने–‘ग्रील उद्योग बेचेर, ससुरालीसँग ऋण लिएर र घरजग्गा धितो राखेर झण्डै २० लाख खर्च भयो, तर यूरोपमा रोजगारीमा जान पाइएन अहिले घर न घाटको भएको छु, दिमागमा ऋण कसरी तिर्ने भन्ने चिन्ता मात्र छ ।’
भिसा पाएपछि काठमाडौं आएर लेक्सिटाइन जाने तयारी गर्दा कसैले उक्त भिसा फेक हो भनेपछि वैदेशिक रोजगार विभाग र सम्बन्धित देशको दुतावासमा गएर बुझ्दा नक्कली भिसा भनेपछि आफू त्यहीं ढलेको रिजालले गुनासो गरे ।
रिजालका अनुसार यादवको समूहले थाइल्याण्डमा नक्कली इमिग्रेसन अफिस र नक्कली पोर्टल (वेबसाइट) बनाएर भिसा ट्रयाकिङ गर्दा निश्चित अवधिसम्म सक्कली नै देखाउने गरी संगठित र योजनावद्ध ठगी गरेको दाबी गरे ।
नेपालबाट आफूहरु थाइल्याण्ड पुग्दा करिब दुई सय जना भारतीय र सय जना नेपाली पनि यूरोपमा जान भन्दै पुगेकाले प्रभावकारी अनुसन्धान हुने हो भने यादवको समूहले सयौं जनालाई ठगेको पुष्टी हुने रिजालले औंल्याए ।
अर्का पीडित रोहिणी गाउँपालिका वडा नं. १ का सन्दिपकुमार यादवले अजरबैजान पठाउने भन्दै यादवले आफ्नो ६ लाख ७० हजार ठगेको बताउँदै आफूलाई पनि नक्कली भिसा दिएर ठगेको बताए । अजरबैजान पठाउन नसकेपछि बोस्निया पठाउने भनेर अल्मल्याएको, तर बोस्नियाको पनि नक्कली भिसा दिएर ठगेको यादवले गुनासो गरे ।
ठगिएको थाहा पाएर रकम फिर्ता माग्दा नदिएपछि आफूहरु वैदेशिक रोजगार विभाग भएर उजुरी गरेको र पक्राउ पुर्जी जारी भए पनि प्रहरीले चासो नदिँदा यादव र उनकी श्रीमती दुबै विदेश भागेको सन्दिपले गुनासो गरे ।
‘कार्तिक २४ गते पक्राउ पुर्जी जारी भएको थियो, तर प्रहरीले पक्राउ नगर्दा माघ १ गते यादव विदेश गएर सुरक्षित भएको सूचना छ,’ सन्दिपले भने–‘प्रहरी प्रशासनको आलटाल र ढिलासुस्तीबारे पनि छानबिन हुनुपर्छ ।’
पीडितहरूले यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा वैदेशिक रोजगार विभागमा पटक–पटक उजुरी लिएर जाँदा समेत हालसम्म कुनै ठोस कारबाही अघि नबढेको गुनासो गरेका छन् ।
तिलात्तमा १४ का अमरजित सेन्चुरी, मुक्ति कालिकोटे र शिव आलेलाई सर्बिया पठाउने भन्दै यादवले तीनजनाबाट १३ लाख रुपैयाँ लिएर नपठाएको सेन्चुरीले गुनासो गरे ।
‘ठगिएपछि हामीले सबै प्रमाणसहित उजुरी दिन गएका थियौं, तर प्रहरीले अनेक बहानामा आलटाल गर्दा पीडितहरु थप पीडामा परेका छौँ ।’–सेन्चुरीले भने ।
गैंडहवा गाउँपालिका ६ का भिसन लोधले आफूलाई लेक्सिटाइन पठाउने भनी यादवले ९ लाख रुपैयाँ लिएर नक्कली भिसा दिएर ठगेको गुनासो गरे ।
भिसनका अनुसार उनका नातेदार सरकारी बैंकका जागिरे युवालाई पनि लेक्सिटाइन पठाउने भनी यादवले ८ लाख रुपैयाँ लिएर नक्कली भिसा दिँदा ती युवा नक्कली भिसा बोकेको अभियोगमा थाइल्याडबाट फर्किंदा मुम्बईमा पक्राउ परी ५२ दिन थुनामा बस्न बाध्य भए । उनको मुद्दा अझै नटुंगिएको र लामो समय सम्पर्कविहीन हुँदा बैंकको जागिर गुमेको भिसनले बताए ।
ठगीको शिकार बनेका युवाहरू रुपन्देहीका मात्र नभई पाल्पा, बाग्लुङ र कास्की जिल्लासम्मका रहेको पीडितहरुले जनाएका छन् ।
यादवको ठगीविरुद्ध पीडितहरु संगठित भएर कानुनी उपचार खोज्ने भएका छन् ।
पत्रकार सम्मेलनमा पीडितहरूले यादव हाल दुबईमा रहेको जानकारी दिँदै उनलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । पीडितहरूले वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गर्न राज्य संयन्त्र कमजोर देखिएको टिप्पणी गर्दै दोषीलाई संरक्षण गर्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्न सरकारसँग माग गरेका छन् । समयमै कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । पीडितहरुले रुपन्देहीका ५ वटै क्षेत्रका उम्मेदवारहरुलाई ज्ञापनपत्र बुझाई यादवलाई पक्राउ गरी आफ्नो रकम फिर्ताको माग गर्ने जनाएका छन् ।




