२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वायु प्रदूषणको अवस्था कस्तो छ नेपालमा ?

वायु प्रदूषणको अवस्था कस्तो छ नेपालमा ?

वायु प्रदूषणको अवस्था कस्तो छ नेपालमा ?

वायु प्रदूषणको अवस्था कस्तो छ नेपालमा ?

वायु प्रदूषणको अवस्था कस्तो छ नेपालमा ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • निर्मल चौधरी
    इण्डियाको दिल्ली क्षेत्रमा आजकाल भयानक वायु प्रदूषणको चपेटामा परेको छ । आवश्यक भएमा मात्रै कक्षा सञ्चालन नभए स्कुलहरु सबै अनलाइन गरिएका छन् । सबै निर्माण कार्यहरु निषेध गरिएको छ । सबै मालवाहक ट्रकहरु दिल्ली छिर्न निषेधित छन् र जोड बिजोडको आधारमा सवारी साधन सञ्चालन गर्न निर्देशन गरिएका छ । घना तुवाँलोले गर्दा ट्रेन र हवाई यात्राहरु प्रभावित भएका छन् । मानिसहरुलाई आपतकालिन अवस्थामा बाहेक घरमै बस्न निर्देशन गरिएको छ । करिब ३ करोड जनसंख्या भएको दिल्लीमा भयावह तुवाँलोमा ब्यूँझिनु पर्ने र सुत्नु पर्ने अवस्था रहेको छ । विश्वकै शक्तिशाली अर्थतन्त्र बोकेको भारतले आफ्नै बासिन्दालाई स्वच्छ वायु सुनिश्चित गर्न सकेको छैन । दिल्लीको मूख्यमन्त्री सहभागी हुने कार्यक्रमहरुमा “ए क्यू आइ¸ ए क्यू आइ” भन्ने नारा लागिरहेको छ । मानिसहरुमा टाउको दुख्ने, आँखा र छाती पोल्ने र रसाउने, रुघाखोकी लाग्ने, घना तुवालोले गर्दा सडक दुर्घटनाहरु बढ्ने क्रम चलिरहेको छ । हाल राजधानी दिल्लीको वायु गुणस्तर सूचाङ्क (ए क्यू आइ) ३०० देखि ५०० बिचमा चलिरहेको छ, जुन विश्व स्वास्थ्य संगठनको स्वच्छ वायुको मापदण्डभन्दा ३० गुणाभन्दा धेरै हो । नेपालमा भित्रिने मनसून इण्डियाकै भूभाग हुँदै नेपाल आउने भएको प्रमाणको आधारमा इण्डियाको वायुमा रहेका सबै प्रदुषक तत्वहरु समेत नेपाल भित्रिरहेको छन् । इण्डियामा उत्सर्जन भएको सल्फेटका कणहरु नेपालको वायुमा पाइएको एउटा अध्ययनमा समेत देखिएको छ । नेपालमा पनि विभिन्न स्थानहरुमा सञ्चालित वायु गुणस्तर मापन केन्द्रहरुको तथ्याङ्क हेर्ने हो भने पनि दिल्लीको जस्तै अवस्था नेपालमा हुँदै गइरहेको छ ।


    विश्व बैंकले यसै वर्ष प्रकाशन गरेको वायु प्रदूषण सम्बन्धी एक प्रतिवेदन १३ मा नेपालमा विशेषत काठमाडौं उपत्यका र समग्र तराई क्षेत्रमा वायु गूणस्तर घट्दै गएको देखाएको छ । यस प्रतिवेदन बमोजिम नेपालका तराई क्षेत्रको पनि दक्षिणी क्षेत्र सबै प्रदुषित भएको विशेषत देखिए पनि काठमाडौं उपत्यका क्षेत्र, कपिलवस्तुको पूर्वी भागदेखि भैरहवा–बुटवल–परासी–सुस्ता क्षेत्र, वीरगञ्ज क्षेत्र, राजविराज र विराटनगर क्षेत्रहरु हदैसम्म वायु प्रदूषणको चपेटामा परेको देखिन्छ । फेरि यिनै क्षेत्रहरुमा देशकै उच्च जनघनत्व भएका क्षेत्रहरु रहेका छन् । सोही प्रतिवेदनले नेपालमा प्रत्यक्ष रुपमा वायु प्रदूषणले गर्दा वर्षेनी २६ हजार मानिस मृत्य भइरहेको र नेपालीहरुको औषत आयू करिब ३.५ वर्षले घटिरहेको जनाएको पनि हदैसम्म प्रदुषित क्षेत्रहरुमा रहेका बासिन्दाहरुको जीवन अझ धेरै वर्षहरुले घटिरहेको निश्चित छ । यसै त वायु प्रदूषणले गर्दा उच्च रक्तचाप, हृदयसम्बन्धी रोगहरु, फोक्सो संक्रमण र क्यान्सर, मधुमेह जस्ता रोगहरु लिएर बाँचिरहेकै छौं । नयाँ जन्मेका शिशुहरु न्यून तौल लिएर जन्मिरहेका छन् । न्यून वायु गुणस्तरमा हुर्किरहेका बोट बिरुवा होस् वा कुनै पनि जीवजन्तु, प्रदुषित वायुमा भविष्य बोकेका हाम्रा बालबालिका पनि सुरक्षित छैनन् । वातावरण स्वच्छता र वातावरणीय अवस्थाको सटिक दृश्य वायु गुणस्तर सूचाङ्कले दिन सक्ने भएकोले वायु गुणस्तरसम्बन्धी जानकारी हामी सबैले राख्नु एकदम जरुरी छ ।


    वायु गुणस्तर सूचाङ्क (एअर क्वालिटी इन्डेक्सः ए.क्यू.आइ) वायुमा भएका हानिकारक ग्यास र कणहरुको मात्रा र सोबाट मानव स्वास्थ्यमा पर्ने जोखिमको सूचक हो । यस मापनमा स्थानको वायुमा रहेका धुलोका कणहरु (पार्टिकुलेट म्याटरः पि.एम.२.५ र पि.एम.१०) र ग्यासहरुमा कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड र ओजोन मापन गरिन्छ । पि.एम. २.५ र पि.एम. १० हरु धुलो र धुँवाबाट उत्सर्जित कणहरु हुन् र यसमा भएको अंकले सो कणहरुको आकार जनाउँदछ । पि.एम.१० भन्नाले व्यास १० माइक्रोमिटर र सो भन्दा मूनीका सबै कण जनाउँदछ भने व्यास २.५ माइक्रोमिटर सम्मका सबै कणहरुलाई पि.एम.२.५ भनिन्छ । आकारको तुलना गर्ने हो भने हाम्रो कपालको मोटाई अर्थात् व्यास लगभग ७० माइक्रोमिटर हुन्छ । श्वाँस प्रश्वाँश गर्दा पि.एम.१० का कणहरु नाकभित्र पसेर संक्रमण गर्ने, नाकको छिद्र जाम गर्ने र पिनास बढाउने हुन्छन् भने पि.एम.२.५ का कणहरु श्वाँसनली पार गर्दै फोक्सो भित्र रगतसँग मिसिएर शरीरका अन्य भित्री भागमा पुग्न सक्छन् । हाम्रा मुख्य रक्तनली एवं सहायक रक्तनलीहरु बाहेक अन्य रक्तनलीहरुको व्यास २.५ माइक्रोमिटरभन्दा कम हुने भएकोले पि.एम.२.५ का कणहरु स–साना रक्तनलीहरुमा अड्किएर रक्त सञ्चारमा अवरोध गर्ने रक्तचाप बढाउने र शरीरमा अक्सिजन वितरणमा अवरोध गर्ने विकारहरुको निष्काशन बन्द गरेर अंग र प्रत्यंगको कामहरु बिगार्ने, स्फूर्ति घटाउने र अन्य रोगहरुको कारण बन्ने हुन्छ ।

    धुलोको कणहरुमा अन्य रसायन, जीवाणुलगायत भाइरसहरु समेत टाँसिएर रहन सक्ने भएकोले विशेषतः पि.एम.२.५ बाट शरीरमा संक्रमण फैलिने, रुघा खोकी लाग्ने, फोक्सोको क्यान्सर, रक्तनली बन्द गरेर मुटु किड्नी र मस्तिष्क जस्ता महत्वपूर्ण अंगहरुमा आघात पु¥याउने खालका हुन्छन् । यसको मूख्य स्रोतहरु खुला निर्माण कार्य धुँवा उद्योगका उत्सर्जन सवारी साधनहरुबाट हुने उत्सर्जन आदि हुन् । विकास निर्माण गर्दा माटो कटान र पटान गर्दा एवं सतह खुल्लै राख्दा उल्लेखनीय धुलोहरु हावामा उड्न पुग्छन् । काठ, दाउरा, पराल, कोइला लगायत अन्य इन्धनहरु बाल्दा वा जलाउँदा ब्लेक कार्बनहरु वायुमा मिसिन पुग्छन् । मौसमी रुपमा हुने वन डढेलो पनि कणीय उत्सर्जनको अर्को मूख्य कारक हो। हाल सन् २०२५ मा नेपालको वार्षिक औषत पि.एम.को मात्रा ८३ माइक्रोग्राम १ रहेको छ, जुन विश्व स्वास्थ्य संगठनको निर्देशन (५ माइक्रोग्राम) भन्दा १६.६ गुणा धेरै रहेको छ । विगत केही वर्षहरुमा प्रदूषणको आधारमा नेपाल संसारकै तेस्रो मुलुक रहेको पाइएको छ ।   


    कार्बन मोनोअक्साइड रंग रहित, गन्धरहित विषाक्त ग्याँस हो । शरीरमा यसको विष लाग्नुभन्दा पहिले यस ग्यासले मानिसमा अचेतना बढाइसकेको हुन्छ । कार्बन मोनोअक्साइडले रक्त कोषिकाहरुमा हुने अक्सिजन विस्थापित गरी अक्सिजन युक्त रक्तकोषिकाको सट्टा कार्बन मोनोअक्साइड युक्त रक्तकोषिका बनाउँछ र यसबाट अक्सिजन सोसन र संवाहनमा समस्या गर्छ । नियमित रुपमा चुरोट पिउनेहरुको शरीरमा कार्बन मोनोअक्साइड युक्त रक्तकोषिका ९% सम्म हुन सक्छ । यदि ३० प्रतिशतभन्दा धेरै रक्तकोषिकाहरु कार्बन डाइअक्साइड युक्त भएमा प्राय टाउको दुख्ने चक्कर लाग्ने, वाकवाकी लाग्ने, छाती दुख्ने र ७० प्रतिशतभन्दा अधिक हुन गएमा हृदयघात र मृत्य पनि हुने हुन्छ । यसको मुख्य स्रोतमा इन्धनको अपूर्ण जलन नै हो ।  अत्यधिक सवारी साधनहरु गुड्ने सडक क्षेत्र सवारी साधनहरु लाम भएर बस्ने ट्राफिक लाइट भएको सडक खण्डहरुमा यसको उत्सर्जन मात्रा अत्यधिक भई चालक र वरपर रहेका मानिसहरुमा सोचको कमी एवं निर्णय क्षमता घटाउने हुनाले लक्षणहरु प्रकट हुनु अगावै दुर्घटनाहरु पनि हुन जाने हुन्छ । कुनै पनि इन्जिनमा १ लिटर पेट्रोल खपत हुँदा सरदर २० देखी ५० ग्राम सम्म र डिजेलबाट ५–१५ ग्राम सम्म कार्बन मोनोअक्साइड उत्सर्जन हुन्छ । त्यसै गरी इन्धन जलाएर चल्ने उद्योगहरु (ब्वइलर भट्टी फर्नेस)मा काम गर्ने श्रमिकहरु कार्बन मोनोअक्साइडको अत्यधिक जोखिममा हुन्छन् भने अनियन्त्रित उत्सर्जनबाट नजिकमा रहेका आवाशिय क्षेत्रहरुमा समेत यसको मन्द र दीर्घकालिन प्रभाव परिरहेको हुन्छ । कार्बन मोनोअक्साइड २०० पाट्र्स पर मिलियन(पि.पि.एम.) (१० लाखको २०० भाग)को मात्राले मानिसमा निर्णय लिने क्षमतामा ह्रास गर्ने र १६०० पि.पि.एम. पुग्यो भने १ घण्टा भित्र मानिसको ज्यान जान सक्ने भएकोले अमेरिकाको व्यवसायिक सुरक्षा तथा स्वास्थ्य निकाय (ओशा)ले श्रम स्थलमा ८ घण्टाको अवधीमा ५० पि.पि.एम. भन्दा धेरै कार्बन मोनोअक्साइड हुनु हँुदैन भन्ने मापदण्ड राखेको छ । नेपालको राष्ट्रिय वायु गुणस्तर मापदण्ड, २०६९ मा ८ घण्टाको अवधिमा कार्बन मोनोअक्साइडको मात्रा १० हजार माइक्रोग्राम प्रति घन मिटर (०.०१ पि.पि.एम.) कायम गरेकोले यो मापदण्ड व्यवहारमा उतार्न कठिन छ । तर सवारी साधनहरुको लागि युरो ६ मापदण्ड लागू गरेको कार्य सर्हानीय छ । 


    नियमित रुपमा चुरोट पिउनेहरुको शरीरमा कार्बन मोनोअक्साइड युक्त रक्तकोषिका ९% सम्म हुन सक्छ । निकोटिन र कार्बन मोनोअक्साइड दुबै मिलेर मानिसको स्नायु प्रणाली सुस्त बनाउँछ र केही पलको लागि राहत महशुस भए जस्तो हुन्छ । साथै यसै बाट मुटुको चाल पनि सुस्ताउँछ भने शरीरको दिमाग लगायत अन्य अंग प्रत्यगंमा पुग्नु पर्ने अक्सिजन कार्बन मोनोअक्साइडले रोक लगाउने हुँदा यो ग्यासले सुस्त विचार ल्याउने र प्रत्येक कोषको उर्जा उत्पादन घटाउछ । रक्त कोषिकाहरुमा बस्न पुगेका कार्बन मोनोअक्साइडहरु शरीरबाट बाहिर निस्किन ४०-५० घण्टा लाग्ने हुन्छ । नेपालको राष्ट्रिय वायु गूणस्तर मापदण्ड¸ २०६९ मा ८ घण्टाको अवधीमा कार्बन मोनोअक्साइडको मात्रा १० हजार माइक्रोग्राम प्रति घन मिटर (०.०१ पि.पि.एम.) कायम गरेको छ जुन अमेरिकी व्यवसायिक सुरक्षा तथा स्वास्थ्य निकायले दिएको मापदण्ड भन्दा पनि कडा देखिन्छ ।


    दाउरा होस् वा कोइला वा डिजेल वा पेट्रोल सबै खालका इन्धन जल्नको लागि वायुमा भएको अक्सिजन पनि चाहिन्छ । हावामा अक्सिजनभन्दा धेरै नाइट्रोजन ग्यास हुने भएकोले भट्टी वा इञ्जिनभित्र अक्सिजनका साथै नाइट्रोजन ग्यास पनि पस्छ र उच्च तापक्रममा नाइट्रिक अक्साइड बनिरहेको हुन्छ । नाइट्रिक अक्साइड इन्जिन वा भट्टी बाहिर उत्सर्जन हुँदा वायुको अक्सिजनसँग प्रतिक्रिया गरेर नाइट्रोजन डाइअक्साइड बनाउँछ । सुनौलो र खैरो रंग हुने यस नाइट्रोजन डाइअक्साइडले नाक, घाँटी र आँखा पिरो गराउने र श्वाँसनली र छातीभित्र रहेको वाफ (पानी) सँग प्रतिक्रिया गरि अम्ल (एसिड) बनाउने र दीर्घकालिन रुपमा अस्थमा दम रोग गराउने, हृदय र रक्त प्रवाहसम्बन्धी रोगहरु र क्यान्सर गराउने विशेषता बोकेको हुन्छ । घामको उज्यालोमा वायुमा नाइट्रोजन डाइअक्साइडले ओजोन ग्यास पनि बनाउँछ । यसरी इन्धन जलेर वायुमा उत्सर्जन भएका नाइट्रोजन डाइअक्साइड, अक्सिजन र जल्न नसकेका हाइड्रो–कार्बन मिलेर परअक्जि–एसिटाइल–नाइट्रेट वा पि.ए.एन बनाउछ जुन एकदमै क्रियाशील हुन्छ । पि.ए.एन.सँग सम्पर्कमा आउने सबै पदार्थ वा शरीरको अंग–प्रत्यङ्गमा तुरुन्तै रसायनिक प्रतिक्रिया भएर क्षति पुग्ने हुन्छ । अझ नाइट्रोजन डाइअक्साइड, ओजोन र पि.ए.एन. मिश्रण हुँदा वायुमा सुनौलो–खैरो रंगको तुवालो बन्छ र सो तुवाँलो युक्त वायु, सास फेर्ने सबै प्राणीको लागि घातक हुन्छ । ओजोन ग्यास आफै पनि विषादी ग्याँस हो र यसलाई निसंक्रमणको लागि प्रयोग गर्ने गरेको हामी सबैलाई थाहा छ । भौगोलिक रुपमा बन्द रहेका उपत्यका एंवले हावा नचल्ने जस्ता स्थानहरुमा, अत्यधिक सवारी साधन चल्ने सडक खण्ड एवं वरपर र औद्योगिक क्षेत्रहरुमा नइट्रोजन डाअक्साइड, ओजोन, पि.ए.एन. र खैरो तुवाँलो बनिरहेको हुन्छ र यिनी सबैबाट हामी नकरात्मक रुपमा प्रभावित भइरहेका हुन्छौं । 


    नेपालमा राष्ट्रिय वायु गूणस्तर मापदण्ड, २०६९ ले नाइट्रोजन डाइअक्साइड २४ घण्टासम्म ८० माइक्रोग्राम प्रतिघन मिटर तोकेको छ, तर विश्व स्वास्थ्य संगठनअनुसार नाइट्रोजन डाइअक्साइड २४ घण्टाको समयमा २५ माइक्रोग्राम प्रति घन मिटर र वार्षिक सरदर १० माइक्रोग्राम प्रति घन मिटर कायम गर्नु पर्ने निर्देशिका जारी गरेको छ । नाइट्रोजन डाइअक्साइडको मात्रा १० माइक्रोग्राम मात्रै पनि जोखिमपूर्ण रहेको ठहर विश्व स्वास्थ्य संगठनले गरेको छ। ओजोन ग्याँसको लागी ८ घण्टाको अवधीमा १०० माइक्रोग्राम प्रति घन मिटर (०.००१ पि.पि.एम.) सम्म हुनुपर्ने भनी विश्व स्वास्थ्य संगठनले तोकेको छ भने नेपालको मापदण्डमा ओजोन १५७ माइक्रोग्राम प्रति घन मिटर तोकिएको छ ।


    अर्को मूख्य वायु प्रदूषक सल्फर डाअक्साइड ग्यास हो । जुन मूख्यत सल्फर युक्त इन्धनको जलनबाट उत्सर्जन हुन्छ । सल्फर डाइअक्साइड ग्यास रंगहीन भएता पनि यसको गन्ध सलाइको काँटी जल्दा निस्कने गन्ध जस्तो हुन्छ । पानीमा सजिलै घुल्ने भएकोले वायुमा हुने पानीका अणुहरु सँग क्रिया गरी सल्फ्यूरस एसिड बनाइरहेका हुन्छन् । साथै मानिसको आँखा नाक श्वासनली फोक्सो र रगतमा समेत पानीको मात्रा हुने भएकोले यस ग्याँसबाट पिरोपन महशुस गर्न सकिन्छ र यसले शरीरभित्र अम्ल बनाएर हानी पु¥याइरहेको हुन्छ । कुहिरो लागेको बेला र वर्षातको मौसममा वायुमा एसिडको मात्रा बढाउने सल्फर डाइअक्साइड नै प्रमुख कारक हुन्छ भने यसले पनि वायुमण्डलमा तुवाँलो विकास गर्दछ । स्टिल एवं धातु उद्योग र इट्टा उद्योगहरुमा प्राय कोइलामा आधारित भट्टी हुने भएकोले उद्योगहरु नै सल्फर डाइअक्साइडका मुख्य कारक हुन् । सन २०२४ को तथ्याङ्कअनुसार नेपालले १०.६५ लाख टनभन्दा धेरै कोइला आयात गरेको देखिन्छ । प्रति किलो कोइलामा लगभग ४० ग्राम सल्फर हुने भएकोले प्रति किलो कोइला जलेर निस्कने धुँवामा लगभग ८० ग्राम सल्फर डाइअक्साइड ग्यासको मात्रा हुने गर्दछ । प्रति घन मिटरको वायुमा ८० ग्राम सल्फर डाइअक्साइड मिसिंदा यसको मात्रा ८० पि.पि.एम. हुन जान्छ। सल्फर डाइअक्साइडको मात्रा ५ पि.पि.एम.मा श्वाँस लिन वाधा हुने, १० पि.पि.एम.मा हाच्छ्यूँ र खोकी लाग्ने र २० पि.पि.एम.मा मास्क लगाउनु पर्ने हुन्छ । एक घण्टाभन्दा धेरै अवधिमा यदि सल्फर डाइअक्साइड ५० देखि १०० पि.पि.एम. पुग्यो भने श्वासनलीमा बाधा पुगी मृत्य समेत गराउन सक्तछ । अमेरिकाको ओशा संस्थाले कार्यस्थलमा यसको मात्रा ८ घण्टाको सरदर ५ पि.पि.एम. सम्म हुनु पर्ने तोकेको छ भने विश्व स्वास्थ्य संगठनले २४ घण्टामा ४० माइक्रोग्राम प्रति घन मिटर (०.००००४ पि.पि.एम.) तोकेको छ । नेपालको राष्ट्रिय वायु गुणस्तरको मापदण्ड २०६९ ले सल्फर डाइअक्साइडको मात्रा २४ घण्टाको लागि ७० माइक्रोग्राम प्रति घन मिटर तोकेको छ ।
    यसरी वायुमा रहने वा उत्सर्जन गरिएका कण एवं ग्यासहरुको लागि सीमा वा मापदण्ड निर्धारण गरेको नीतिलाई अझ प्रभावकारी र व्यवहारिक बनाउनको लागि वायु गुणस्तर मापदण्ड प्रचलनमा आएको छ ।

    वायु गुणस्तर सूचाङ्कको लागि कण (पि.एम. २.५ र पि.एम. १०), कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड र ओजोन ग्यास गरी ६ वटा प्रदूषकहरुको मात्रा प्रतिमिनेट वा प्रतिघण्टा मापन गरेर प्रायः प्रतिघण्टादेखि वा बाह्रै महिनासम्मको औषत लिएर सो अवधिको लागि वायु गुणस्तर सूचाङ्क निकालिन्छ । स्वास्थ्य जोखिमको आधारमा वायु गुणस्तर सूचाङ्कलाई ६ वटा रंग सहितको वर्गहरुमा बाँडिएका हुन्छन् । ए.क्यू.आइ. शूण्यदेखि ५० सम्म स्वच्छ (हरियो), ५१ देखि १०० सम्म मध्यम (पहेलो) १०१ देखी १५० सम्म बालक, वृद्धा र रोगीहरुको लागि अस्वस्थयकर (सुन्तली) ५१ देखि २०० सम्म सबैको लागि अस्वस्थ्यकर (रातो) २०१ देखि ३०० सम्म हानिकारक (वैजनी) र ३०१ देखि ४०० सम्म विपद्जन्य (गाढा खैरो) र ४०१ भन्दा माथि अत्यन्त विपद्जन्य (गाढा खैरो) मानिन्छ । वायु गुणस्तर सूचाङ्क डिस्प्लेमार्फत् सार्वजनिक गर्दा सूचाङ्कका अंकहरु सम्बन्धित रंगहरुमा देखाइएका हुन्छन् । अन्तर्राष्ट्रिय रुपमा ध्यान दिने हो भने वायु गुणस्तर सूचाङ्कको लागि प्रदूषकहरुको मात्रा फरक हुन सक्छन् । पि.एम.२.५ को मात्रा चीनमा ३५ माइक्रोग्राम सम्म¸ अमेरिकामा ९ माइक्रोग्रामसम्म, इण्डियामा ३० माइक्रोग्रामसम्मको मात्राको आधारमा निसक्ने ए.क्यू.आइ. स्वच्छ मानिएको छ । नेपालमा पि.एम. २.५ को मात्रा २४ घण्टाको औषत ४० माइक्रोग्राम प्रति घन मिटर हुनुपर्ने मापदण्ड भएता पनि वायु गुणस्तर सूचाङ्कको हकमा अमेरिकाको आधार लिएको देखिन्छ । 


    हामी सजग हुनलाई नै वायु गूणस्तर सूचाङ्क अर्थात् ए.क्यू.आइ. व्यवहारमा आएको हो । सूचाङ्क बमोजिम हामी घर भित्रै बस्ने, बाहिर कति निस्कने वा कतिसम्म भौतिक एवं शारीरिक कृयाकलापहरु गर्ने, बालबालिका, वृद्ध एवं स्वास्थ्य जोखिममा रहेकाहरुको कृयाकलाप कतिसम्म सीमित गर्ने वा कस्तो वायु भएको बेला विपद्को रुपमा नै लिने, सो स्थानमा जाने कि नजाने, जाने भए कति समय भित्र निस्किने, जाँदा के कस्तो सावधानी लिएर जाने आदी जस्ता सुझाव रहेको बुझ्न सकिन्छ भने अर्कोतर्फ प्रदूषक तत्वहरुको स्रोत र वितरणअनुसार आवश्यक नियन्त्रण र नियमन कसरी गर्न सकिन्छ भन्ने मार्गदर्शन पनि वायु गूणस्तर सूचाङ्कले दिईरहेको हुन्छ । जस्तै कुनै स्थानको ए.क्यू.आइ.को मात्रा १३१ (सुन्तली रंग) र मूख्य कारक कार्बन मोनोअक्साइडको मात्रा ११.४ पि.पि.एम. देखियो भने यस अवस्थामा बालबालिका, वृद्धा वा शारीरिक रुपमा दुर्बलहरुलाई असर धेरै हुन सक्छ र सोहीअनुसार सावधानी अपनाउनु पर्दछ भन्ने जनाउँछ भने सो क्षेत्रको कार्बन मोनोअक्साइड नियन्त्रणको लागि धुँवा उत्सर्जन गर्ने सवारी–साधन, कोइलामा आधारित उद्योगहरु र आगलागीसम्बन्धी अन्य सबै घटनाहरु तत्कालै नियमन र नियन्त्रण गर्न जरुरी छ भन्ने जनाउँदछ । तर नेपालमा उच्च ए.क्यू.आइ.का मुख्य कारकमा प्रायः धुलोका कणहरु (पि.एम.२.५) नै रहेको देखिन्छ ।


    देशभरी आजसम्म कूल ३१ वटा वायु गुणस्तर मापन केन्द्रहरुको स्थापना भइसकेको छ । काठमाडौं उपत्यकामा ७ वटा गरेर बाग्मती प्रदेशमा कूल ११ वटा, सुदुर पश्चिममा आछाम, भिमदत्त र धनगढी गरेर ३ वटा, रारा र सुर्खेत गरेर कर्णालीमा २ वटा, नेपालगंज, घोराही, देउखुरी र लुम्बिनी गरेर लुम्बनी प्रदेशमा कूल ४ वटा, गण्डकी प्रदेशमा ४ वटा, मधेस प्रदेशमा जनकपुर र सिमरा गरेर २ वटा र कोशी प्रदेशमा ५ वटा वायु गुणस्तर मापन केन्द्रहरु जडान भएका छन् । यसमध्ये २३ वटा निष्कृय र मर्मतको पर्खाइमा रहेका देखिन्छन् ।

    लुम्बिनी प्रदेश भित्र देउखुरीको स्टेशन बाहेक अन्य सबै निष्कृय रहेका छन् । यसको अलावा निजीस्तरबाट वा स्वयंसेवाको रुपमा विभिन्न व्यक्ति एवं संघसस्थाहरुले पनि हलुका उपकरणहरु प्रयोग गरेर वायु गूणस्तर मापन गर्ने गरेको पनि देखिन्छ । तर ती पनि प्रभावकारी छैनन् र आधिकारिक मान्न सकिन्न ।  देश भित्र जडान भएका वायु गुणस्तर मापन केन्द्रहरुले मापन गरेका ए.क्यू.आइ.को माध्यमले उपलब्ध भएका विभिन्न शहर वा स्थानहरुको वायुको गुणस्तरबारे सर्वसाधरणमा जानकारी गर्नु गराउनु सरकारको कर्तव्य हो । सरकारले मुख्यतया काठमाडौं र केही बाहिरका स्थानहरुमा डिस्प्ले स्क्रिनहरु जडान गरेको भए पनि धेरै डिस्प्लेहरु निष्कृय रहेका छन् । ए.क्यू.आइ. सूचाङ्कले खासमा अति नै महत्वपूर्ण वातावरणीय ज्ञान र प्रमाणको रुपमा हेरिन जरुरी छ । 
    (लेखक वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ वातावरण निरीक्षक हुन् । )

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij