भैरहवा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा ४ हजार ४ सय ९७ जना निर्वाचन प्रहरी छनोट प्रक्रिया पूरा भएको छ ।
जिल्लामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गरिएको हो । निर्वाचनको सुरक्षा व्यवस्थापन थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन निर्वाचन प्रहरी भर्ना गरिएकोमा ६ हजार ८ सय १४ जनाले आवेदन भरेका थिए ।
नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत् ४० दिनको लागि निर्वाचन प्रहरी परिचालन गर्छ । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा निर्वाचन क्षेत्रमा तैनाथ गर्नका लागि नेपाल प्रहरीतर्फ ४ हजार १९ जना र सशस्त्र प्रहरीतर्फ ४ सय ७८ जना निर्वाचन प्रहरी भर्ना गर्दैछ । नेपाल प्रहरीतर्फ ६ हजार २ सय ४९ जना र सशस्त्र प्रहरीतर्फ ५ सय ६५ जनाको आवेदन परेकोमा उत्तीर्ण भइ ६ हजार ३२ जना अन्तर्वार्ताका लागि योग्य रहेका जिल्ला प्रहरी रुपन्देहीका प्रवक्ता डीएसपी गणेश सापकोटाले जानकारी दिए । आइतबार ३ सिफ्टमा १० वटा काउन्टरबाट अन्तर्वार्ता भई त्यसबाट योग्य भएकाको सोमबार नतिजा प्रकाशन हुन्छ । जसअनुसार आवश्यकता अनुसारको नियुक्ती गर्ने र केहीलाई वैकल्पिक रुपमा राख्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अन्तर्वार्ताका लागि सशस्त्र प्रहरीतर्फ ४ सय ६५ जना र नेपाल प्रहरीतर्फ ५ हजार ५ सय ६७ जना छनोट भएका थिए ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति रुपन्देहीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आहृवान गरेर छनोट गरेको हो ।
निर्वाचन प्रहरी भर्ना छनोटका लागि सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइएको थियो ।
निर्वाचन सुरक्षा व्यवस्थापनमा भएको जनशक्ति अपुग भएकोले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘सहयोगी सुरक्षा फौज’का रूपमा परिचालन गर्ने गरी निर्वाचन प्रहरी भर्ना गरिएको हो । यसरी भर्ना हुनेमध्ये प्रहरीमार्फत् खटिने जनशक्ति प्रहरीकै चेन अफ कमाण्ड र सशस्त्रअन्तर्गत खटिनेले सशस्त्रले चेन अफ कामाण्डमा रहनु पर्नेछ ।
यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाको दरले ४० दिनका लागि ३४ हजार ७७६ पारिश्रमिक प्रदान गरिन समितिले जनाएको छ ।
साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्चसमेत उपलब्ध हुन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीबाट ३ लाख ४६ हजार २ सय ३ जना पुरुष, ३ लाख ३६ हजार ३ सय ११ जना महिला र ९ जना अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जनालाई मतदाता रहेका छन् । जसका लागि ५ निर्वाचन क्षेत्रमा २ सय ९ वटा मतदान स्थल र ७ सय ३२ मतदान केन्द्र तय भएको छ ।




