प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवारबिच सार्वजनिक बहस हुनुपर्छ भन्ने बहस चल्नु सकारात्मक छ । मुलुकको नेतृत्व गर्ने व्यक्तिको योजना, नीति, विचार र कार्यक्रमका बारेमा आम नागरिकलाई जानकारी दिनु लोकतान्त्रिक व्यवस्थामा उचित काम हो । लोकतान्त्रिक व्यवस्थामा जवाफदेहिता र पारदर्शिता हुन्छ । यो प्रणाली खुला शासन प्रणाली हो । खुला शासन प्रणालीमा नेतृत्वको आकांक्षा राख्नेहरु बहस र छलफलमा खुला हुनुपर्छ ।
अहिले चर्चामा प्रधानमन्त्रीको प्रस्तावित तीन उम्मेदवार छन् । एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति बालेन्द्र साहलाई प्रधानमन्त्रीको घोषणा गर्दै ती दल चुनावी मैदानमा उत्रेका छन् । यी दल र उम्मेदवारप्रति आशा र आशंका दुवै छ । विकास, सुशासनका बारेमा नीति र कार्यक्रमको विषयमा बहसमा सहभागी भएर आशा राखेका नागरिकलाई अझैँ विश्वास दिलाउन सक्छन् । कतै आशंका भए निवारण गर्ने मौका हो ।
खुला छलफलको विषयमा सामाजिक सञ्जाल र आमसञ्चारको माध्यममा बहस भइरहेको बेला एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक बहस आवश्यक भएको भन्दै तयार रहेको प्रतिक्रिया दिएका छन् । ओली तयार रहेपछि रास्वपाका नेता बालेन्द्र साहले अस्वीकार गरेर सार्वजनिक ठाउँमा छलफल गर्न नसक्ने भन्ने उनीप्रति लगाइएको आरोपलाई पुष्टि गरिदिएका छन् । स्वस्थ र मर्यादित छलफल दलीय व्यवस्था, उम्मेदवार र मुलुककै लागि राम्रो विषय हो । दलहरु अहिले मुलुक बनाउने योजना, नीति र विचार लिएर अघि बढेका छन् । चुनावमा उनीहरुले भोट माग्दा मुलुक बनाउने संकल्प गरेका छन् । आफ्नो चुनावी एजेण्डाका बारेमा सार्वजनिक ठाउँमा बहस गर्दा उम्मेदवार स्वंयलाई फाइदा पुग्छ नै, नागरिकले पनि उम्मेदवार र दलप्रतिको बुझाइ प्रष्ट हुन्छ । यो उम्मेदवारका लागि राम्रो मौका हो । आखिर बालेन्द्र साह किन सार्वजनिक बहसमा सहभागी हुन चाहिरहेका छैनन् ? लोकतान्त्रिक व्यवस्थामा चुनावी मैदानमा उत्रेपछि सार्वजनिक बहसमा सहभागी हुन नखोज्नु अलोकतान्त्रिक चरित्र हो । लोकतान्त्रिक मुलुुकको नेतृत्व लिने व्यक्तिमा लोकतान्त्रिक चरित्र हुनुपर्छ । लोकतान्त्रिक चरित्र भएको व्यक्तिले मात्रै हाम्रो जस्तो उदार लोकतान्त्रिक मुलुकलाई बलियो नेतृत्व दिनसक्छ । अलोकतान्त्रिक चरित्र भएको व्यक्तिले लोकतान्त्रिक मुलुकको नेतृत्व गर्न सक्छ भनेर विश्वास गर्न सकिंदैन् ।
ओली सहभागी हुने सार्वजनिक बहसमा सहभागी नहुने भन्दै उनले कटाक्ष गर्दै भनेका छन्—तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो, बहस गर्न अस्वीकार गर्दै उनले लेखेका छन्, आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ । विषयवस्तुलाई अन्यत्र मोडेर कुर्तक गरेर बहसबाट पन्छिने विषयले बालेन्द्रको बलियो नेतृत्वको अपेक्षा राखेकाहरुलाई निराश बनाएको छ । त्यसो भए जेनजी आन्दोललाई क्रान्ति मान्नेहरुले त्यो आन्दोलनको स्वामित्व किन नलिएको ? अहिलेसम्म जेनजी आन्दोलनको स्वामित्व नलिन के ले छेकेको छ ? यी प्रश्नको पनि उत्तर आउनुपर्छ ।
प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार सबैलाई एउटै मञ्चमा ल्याउन पहल हुनुपर्छ । उनीहरु एउटै मञ्चमा बसेर विकास, सुशासन र लोकतन्त्रका बारेमा बहस गर्नुपर्छ । यस्तो बहसले हाम्रो लोकतन्त्रलाई संस्थागत गर्न बल पु¥याउँछ ।




