यसवर्ष धान उत्पादन चार प्रतिशतले घटेको छ । शहरी क्षेत्रमा भइरहेको आप्रवासन, खेतीयोग्य जमिनमा औद्योगिक तथा अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र शहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई अनिश्चतता, युवा जनशक्ति विदेश पलायनलगायत कारणले धान उत्पादनमा कमी आएको सरकारी अधिकारीहरुको भनाइ छ ।
कृषि क्षेत्रमा आशाभन्दा निराशा दिन प्रतिदिन बढेको छ । लागतअनुसार प्रतिफलको अभावमा कृषिमा लाग्नेहरु दिन प्रतिदिन घटेसँगै कृषि उत्पादनमा ओरालो लाग्नु अन्यथा होइन । पहिले कृषिमा लाग्ने ठूलो हिस्सा थियो । कृषिले धेरै गर्न नसके पनि निर्वाहमुखी कृषि प्रणालीलाई थेगेको थियो । अहिले कृषि क्षेत्रबाट हात झिकेर बढ्दो पलायनले मुलुकले मूल्य चुकाउनु परिरहेको छ । धान उत्पादनसँगै अन्य उत्पादनमा पनि वर्षेनी ओरालो लाग्ने जोखिम बढेको छ । नेपालको मुख्य बाली धान हो । मुलुुकको कुल ग्राहस्र्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत छ । यो वर्ष धान उत्पादन हुने ३ दशमलव ८ प्रतिशत जमिनमा धानखेती हुन नसकेर बाँझै रहेको थियो । हरेक वर्ष कृषि मन्त्रालयले प्रकाशन गर्ने कृषि डायरीमा करिब ३१ लाख हेक्टर जमिन खेतीयोग्य मानिएको छ । नेपालको छैठौँ कृषि गणनाले २५ लाख २५ हजार ६ सय हेक्टर जमिन खेतीयोग्य रहेको उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा १३ लाख ७६ हजार हेक्टर जमिनमा मात्रै धान खेती भएको अनुमान छ । गत वर्ष १४ लाख २० हजार ६ सय हेक्टरमा धान खेती भएको थियो । यो तथ्याङ्कले धानखेती हुने क्षेत्रफल घटेको देखाउँछ । क्षेत्रफल घटेसँगै उत्पादन समेत घटेको छ ।
पछिल्ला वर्ष कृषियोग्य जमिन घटिरहेको देखिन्छ । विंस. २०६८ को कृषि गणनामा २५ लाख ६ सय ३९ हेक्टर र २०७८ को कृषि गणनामा आइपुग्दा झण्डै तीन लाख हेक्टर घट्न गई २२ लाख १८ हजार ४ सय १० हेक्टर जमिन खेतीयोग्यमा खुम्चिएको छ । खेतीयोग्य जमिन बाँझिंदै जाने डरलाग्दो तथ्याङ्कले आगामी दिनमा मुलुकमा उत्पादन अझैं घट्ने र मुलुक खाद्य संकटको जोखिममा पर्ने देखिन्छ । नयाँ पुस्ता खेतीपातीबाट अलग रहँदै जाने, बढ्दो उत्पादन लागत घटाउने सरकारी प्रयास कामयावी नुहुँदा कृषि क्षेत्रमा देखिएको संकटको मार मुलुकले खेप्नुपर्ने छ । धान उत्पादनमा आएको गिरावटको संकेत हो, मुलुकमा कृषि क्षेत्रले संकट व्यहोर्दैछ ।
अब उत्पादन बढाउन अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि नबढ्ने हो भने आगामी दिनमा हामीले अनुमान गरेभन्दा धेरै संकटका दिन व्यहोर्दै छौँ ।




