तिलोत्तमा । तिलोत्तमा ६ स्थित डन मोडल एकेडेमीमा स्पोर्टस् मिट–२०८२ शुरु भएको छ । विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी र प्रिन्सिपल लगायतले कार्यक्रमको उद्घाटन गरेका छन् ।
स्पोर्टस् मिट उद्घाटन गर्दै विद्यालय सञ्चालक समिति अध्यक्ष यज्ञप्रसाद ज्ञवालीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका साथै उनीहरुको सर्वाङगीण विकासका लागि विद्यालयले बार्षिक कार्यतालिका अनुसार खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएर स्पोर्टस् मिटलाई निरन्तरता दिएको बताए । विद्यालयका प्राचार्य सुबोध भट्टराईले शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नहुने भन्दै विद्यार्थीको खेल प्रतिभा प्रस्फुटन , अनुशासन, सहकार्यको भावना विकास, नेतृत्व क्षमता विकास र आत्म विश्वास अभिबृद्धि गर्न स्पोर्टस् मिटले टेवा पुग्ने बताए । उनले प्रतियोगितामा जीत हार भन्दा सहभागिता महत्वपूर्ण हुने बताए ।
माघ १४ देखि २० गते सम्म सञ्चालन हुने स्पोर्टस् मिटमा विद्यार्थीलाई चार तहमा विभाजन गरी भलिबल, टग अफ वार, सट पुट,म्युजिकल चेयर,हाइजम्प, लङजम्प,टेबल टेनिस,चेस,क्रिकेट,फुटसल, दौड लगायतका प्रतियोगिता गराइने अतिरिक्त क्रियाकलाप संयोजक सुमन श्रेष्ठले जानकारी दिए । विद्यालयका सहायक प्राचार्य सन्तोष पौडेलले खेलकुदले विद्यार्थीको शारीरिक स्वास्थ्य,मानसिक स्वास्थ्य, अनुशासन, नेतृत्व क्षमता विकास, सहकार्य भावनाको विकास गर्ने बताए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष शिव कुमार पाठक, सदस्य यज्ञराज अर्याल लगायतले आफ्ना धारणा राखेका थिए ।




