काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बीमा कार्यक्रमका लागि महिनाको दुई अर्बभन्दा बढी रकम खर्च हुने स्थिति आएकाले भुक्तानी गर्न सक्ने अवस्था नरहेको बताएकी छन् ।
"खर्च असिमित हुँदै गयो । महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो । त्यो दिनसक्ने अवस्था छैन । त्यसकारण त्यहाँ कसरी हुन्छ, बीमालाई सुधार गर्नुपर्ने अवस्था छ । त्यो गर्दैछौँ," मन्त्री गौतमले भनिन् ।
बिहीबार गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री गौतमले चालु आ.व.मा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बीमाका लागि बजेट नै नभएको बताइन् ।
"बीमामा हामीले के गरेछौँ भने जति बजेट विनियोजन गरिएको थियो, त्यो बजेटभन्दा धेरै बढी बीमाको दाबी हुन थाल्यो," मन्त्री गौतमले भनिन्, "यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो । यो वर्षलाई बीमामा बजेट नै छैन ।"
असिमित खर्च हुँदै गएकाले बीमाको रिफर्म जरुरी रहेको मन्त्री गौतमको भनाइ छ । बीमालाई सुधार गर्न जरुरी रहेको बताउँदै उनले त्यसका लागि मन्त्रालयको काम गरिरहेको बताइन् ।
बीमाको रकम तत्काल भुक्तानी गराउन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ । बीमाको भुक्तानी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुने भनिए पनि संघ सरकारले मात्रै अहिलेसम्म हेरिरहेकाले बीमामा एकोहोरो बोझ परिरहेको उनको भनाइ छ ।
"बीमामा एकोहोरो बोझ परेको छ । बीमा कार्यक्रममा संघ र प्रदेश र स्थानीय सरकारको योगदान हुनुपर्छ भनेको छ अहिलेसम्म संघीय सरकारले मात्रै हेरिरहेको अवस्था छ । त्यहाँ समस्या परेको छ," उनले भनिन्, "आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ भनेर संविधानले तोकेको छ, ९८ किसिमको औषधि प्राथमिकता स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुले दिनुपर्छ ।"
मन्त्री गौतमले सुर्तीजन्य पदार्थमा उठेको रकममध्ये २५ प्रतिशत रकम प्राप्त गर्दा मात्रै पनि बीमाको आर्थिक संकट ठूलो हदसम्म अन्त्य हुने बताइन् । बीमा अहिलेकै स्वरुपमा नचल्ने भन्दै रिफर गरेर स्वास्थ्य संस्थामा आएका बिरामीलाई मात्रै बीमाबाट सेवा दिनुपर्ने उनको भनाइ छ ।




