आगामी फागुन २१ मा हुन गइरहेको संसदीय निर्वाचनका लागि सांसद सदस्यहरुको मनोनयन दर्ता सम्पन्न भइसकेको छ । यसपछि अहिले देशव्यापी चारैतिर चुनावी प्रचारप्रसार भइरहेको छ । सबै दलका नेता–कार्यकर्ता एवम् स्वतन्त्र सबैले आआफ्ना उम्मेदवारहरुलाई आ–आफ्नो चुनावी क्षेत्रमा त्यहाँका जनतासँग भेटघाट, परिचय अनि आ–आफ्ना धारणा व्यक्त गर्ने काम भइरहेको छ । यस्ता विगतका निर्वाचनहरुमा भन्दा अहिले अलि बढी चुनावी माहोल बेग्लै देखिंदैछ । खासगरी विगतमा भएको जेनजी आन्दोलनको राप–ताप अनि त्यसले उत्पन्न गरेको परिस्थिति अनुरुप देशका दलहरुले आ–आफ्ना विचार र धारणाहरु अघि सार्दै आएका छन् । हुनतः अहिलेसम्म कुनै पनि दलले चुनावी घोषणापत्र बाहिर ल्याइसकेका छैनन् । तै पनि केही दलहरुले भने तत्काल केही नारा अघि सारिसकेका छन् । त्यसअनुसार नेकपा एमालेले ‘भोट देश जलाउनेलाई होइन बचाउनेलाई’ त्यस्तै रास्वपाले ‘पुरानालाई होइन नयाँलाई भन्दै आएको छ ।’ कांग्रेस–नेकपाले भने त्यस्तो ठोस कुनै नारा अहिलेसम्म अघि सारेको छैन ।
पहिलो कुरा त यो संसदीय बुर्जुवा दलाल सामन्ती राज्य व्यवस्था हो । यसअन्तर्गत यस्ता जे सुकै नारा अघि सारेर चुनाव गरे पनि त्यहाँ केही हुनेवाला छ । चुनाव सम्पन्न अर्काे दिनदेखि ती सबै नारा कागजमा मात्रै सीमित हुन्छन् । लागू गर्ने कुरै आउँदैन । आजसम्मको विगत इतिहास त्यस्तै छ । सुरु–सुरुमा २०१५ सालको नेपाली कांग्रेसले यस्तै भन्ने गरेको थियोे । त्यस्तै २०४६ सालमा नेकपा एमालेले अनि २०६४ सालमा माओवादीले यस्तै नयाँ–नयाँ नारा अघि सारी चुनावमा आएको थियो । सुरु–सुरुमा केही गरेजस्तो पनि गरेको थियो । तर पछि क्रमशः जस्तो व्यवस्था त्यस्तै चरित्र देखाउँदै अन्ततः यो रुपमा अर्थात् सबै सामन्ती, दलाल र नोकरशाही बुर्जुवा, भ्रष्टाचारी, कमिशनखोर आदि बने । त्यसैले जबसम्म यो राज्य व्यवस्थाको यो अर्थात् सामन्ती दलाल र नोकरशाी बुर्जुवा चरित्रको पूर्ण रुपले बदलिन्न तबसम्म यस्ता जतिसुकै धेरै निर्वाचन गरे पनि नयाँ–पुराना सबैको चरित्र यस्तै आगो लगाउने, लुट्ने, चोर्ने, ठग्ने, भ्रष्टाचार आदि गर्ने हत्या, हिंसा मच्याउने हुन्छ । त्यसै वर्तमान र आगामी राजनीतिक निकास भनेको यस्ता सामन्ती दलाल बुर्जुवा निर्वाचन होइन आन्दोलन–संघर्ष र विद्रोह नै हो । त्यसका लागि चुनाव होइन बहिष्कार हो ।
अहिले केही दलहरुले नयाँ र पुराना बीचको प्रश्नलाई मुख्य विन्दु मानेर चुनावी नारा अघि सारिरहेका छन् । यसमा खासगरी घण्टी पार्टी अनि पछि पछि कांग्रेस र नेकपा देखिने गरेका छन् । नयाँ र पुरानो छुट्याउने मूल कसी के हो ? एउटा त उमेर होला अर्काे विचार सिद्धान्त र दृष्टिकोण होला ? पहिलो छुटयाउने कसी उमेर जन्म आदि होला अर्थात् वर्षले युवा अनि उनी प्रौढ र वृद्ध । आज यी दलहरुले यसमा जुन प्रश्न उठाउने गरेका छन् । उनीहरु यही जन्म र वर्षलाई नै मुख्य कसी बनाउने गरेका छन् । निश्चय नै नयाँ र पुराना अनि स्वास्थ्य र निरोगी मानवीय उमेरको दृष्टिकोणले फरक पर्दछ नै । तर नयाँ भनेर कुनै राजनीतिक विचार सिद्धान्त र दृष्टिकोण नै नभएका भए पनि त्यही पुरानै सामन्ती, दलाल नोकरशाही बुर्जुवा मक्किएको पुरानो विचारलाई नै आफ्नो गन्तव्य ठान्नेहरुलाई फेरि के को नयाँ भन्ने ? वर्षौदेखि यस्तै मक्किएको पुरानो विचार लिएकैले कांग्रेस–एमाले र माओवादीहरुको हालत यस्तै भएको हो । फेरि ठीक यस्तै व्यवस्था, यस्तै सांसद अनि यस्तै निर्वाचनअन्तर्गत जुन अहिले नयाँको कुरा गरिदै छ, यो बेकार छ । पुनः जनतालाई त्यसमा पनि अझ नयाँ युवा पिढीलाई भ्रम पार्ने र बेकुप बनाउने षड्यन्त्र हुँदैछ ।
अब भनौ नयाँका धेरै कुरा गर्ने घण्टी पार्टीको के नयाँ छ ? विचार सिद्धान्त अनि दृष्टिकोणमा नयाँ खोई ? त्यही सामन्ती, दलाल र बुर्जुवा चिन्तन साम्राज्यवाद र विस्तारवादको विरोध गरेको खोई उल्टै त्यसैका भरिया भई देश जलाउँदै र तोडफोड गर्र्दै हिंडने । नयाँ निर्माण गर्नभन्दा बढी तोडफोड र भत्काउँदै हिड्ने । खाली केही केही भड्किला नाराको भरमा कति दिन राजनीति गर्ने ? देशको राष्ट्रियता र स्वाभिमानको कुरै नगर्ने खाली साम्राज्यवादी एनजीओ र आइएनजीओमार्फत् डलरको खेती गरी जिऊ, घर, परिवार पाल्नेहरुले देश र जनताको के विकास गर्लान् ? ढिलो चाडो यिनीहरुमार्फत् यो देश युक्रेन, अफगानिस्तान वा सिक्किम त्यति मात्रै होइन, उस्तै परे देशकै अस्तित्व नै सकिने उत्तर चीन दक्षिण भारत । युक्रेनको जस्तो ४० प्रतिशत भू–भाग रसियन अनि अरु सबै अमेरिकी नेतृत्वको युक्रेन जस्तै नेपाल हुने त होइन ? सबै नेपाली सचेत बनौ । त्यसैले नयाँ भनेको उमेरको मात्रै होइन उन्नत विचार–सिद्धान्त र दृष्टिकोणले हुने हो । न यहाँ कुनै कांग्रेस–एमाले र माओवादीहरुकै यस्तो उन्नत विचार छ ? न अरु कुनैको । अझ घण्टी भनौदाहरुको त साम्राज्यवादी दलालीको मात्रै छ । विगतको जेनजीहरुको आन्दोलन र त्यसमा भएका हरेक घटनाक्रमले त यो देशको सार्वभौम सत्ता नै गुमिसकेको आभास देखिंदैछ । अबको एउटा मुख्य लडाइँ यो नै बनेको छ । एमालेको देश जलाउनेलाई होइन, बनाउनेलाई भन्ने नारा मात्रैले पुग्दैन । अब देश युक्रेन बनाउने कि नबनाउने वा देशको अस्तित्व नै गुमाउने कि नगुमाउने ? यसका लागि के गर्ने सोच्ने बेला आएको छ ।
माथि चर्चा भए जस्तै नेपालमा पनि युक्रेनी राष्ट्रपति जेलेनस्की जस्तै अमेरिकी पश्चिमा दलालको जन्म भइसकेको छ । कोही पत्रकारको नाममा भने केही गायक कलाकारको रुपमा । यी दुवैको हाउभाउ बोली चाली सबै जेलेनेस्कीको जस्तै छ । एउटा नेपाली जेलेनस्की सहकारी रकम ठगीको आरोपित भने अर्काे जेलेनस्की काठमाडौंको मेयर भई खाईपाई आएको जेनजीहरुको भगवान । त्यसले जे गर्दा पनि छुट, हाई हाई पूर्व मेचीदेखि महाकालीसम्म चारैतिर जयजयकार छ । उसलाई सिंहदरबार जलाउन पनि छुट । सरकार, सेना, पुलिस, अदालत, प्रशासन सबै उसैको पक्षमा छ । इशारा गरे पुग्छ । अशनको साढे जस्तै उसलाई जे गर्न र भन्न सबै छुट छ । आखिर यसका पछाडि के जादु छ ? केपी ओलीलाई हराएर यो देशको प्रधानमन्त्री बन्ने उसको रहर छ । बच्चा जन्मने कहिले हो कहिले न्वारन गर्ने अहिले भने जस्तै बालेन पनि अहिले नै प्रधानमन्त्री भइसकेको छ । तर पत्रकारहरुले सामूहिक डिवेट गरौ भन्दा केपी ओलीलाई जेनजीको नर संहारकारी हत्यारा बताउँदै त्यहाँबाट भागेको छ । यदि ओली त्यस्तो अपराधी हत्यारो नै हो भने किन फेरि यसरी खुलम्खुला चुनावमा उठ्न दिएको ? तिम्रै अनुमोदित सरकार छ । तिम्रै कारिन्दा गृहमन्त्री छ । तत्काल गिरफ्तार गरी ओलीलाई कारबाही गर्न किन नसकेको ? नत्र भने बाहिर बाहिर भुक्दै हिड्ने गाँसे कुकुरले कहिले पनि टोक्ने हिम्मत नै गर्दैन । यस्तो साम्राज्यवादी कलो खाएर पालेको कुकुरले पनि कहिले पनि मृग मार्न सक्दैन ।
हो हिजो पनि यस्तो साम्राज्यवादी कलो यहाँ धेरैले खाए, तर त्यो कलो खाए अनुसार काम नगरेकाले अहिले उनीहरुलाई हटाई र फेरि नयाँलाई सिगार्ने काम भइरहेको छ । कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री, मन्त्री, राजदूत सबैको बाँडफाँट अहिले नै भइसकेको छ । उधारो राष्ट्रपति पाउने आशामा गोरखामा बाबुरामले सांसद उम्मेदवार छोडी घण्टीलाई समर्थन गरिसकेका छन् । प्रधानमन्त्रीमा बालेन वा गगन, गृहमन्त्री पुनः रवि, अर्थमन्त्रीमा वाग्ले आदि सबैको पद विभाजन भइसकेको छ । मानौ अहिले नै घण्टी पार्टीको विजय र बालेन नेतृत्वको सरकार बनिसकेको छ । त्यही भएर यहाँका दलाल पुँजीपतिहरुले धमाधम घण्टी पार्टी र बालेनको दलाली र चाकडी गर्न थालिसकेका छन् । बालेनलाई ८, १० करोडको गाडी नै उपहार चढाईसके । करोडौं धनराशी अदालतमा धरौटी राखी रवि लामिछानेलाई जेलबाट छुटाइसकेका छन् ।
आखिर जता काफल पाक्यो उतै चरि नाच्यो भने जस्तै दलाल, पुँजीपति, भ्रष्टाचारी, कमिशन खोर, ठग, कालोबजारिया आदि सबै घण्टी पार्टीमै झुम्मिन थालिसकेका छन् । विचरा ! कांग्रेस, एमाले र माओवादीहरुको हरि बिजोक ! न अब यिनीहरुलाई साम्राज्यवादी र विस्तारवादीहरुले पत्याउँछन्, न देशका दलाल पुँजीपति, भ्रष्टाचारी र कमिशनखोर र भ्रष्ट कर्मचारीहरुले नै पत्याउँछन् । त्यही भएर अब यी पुराना भनिने कांग्रेस–एमाले र माओवादीहरुले आफू साम्राज्यवादी र विस्तारवादीहरुको गोटी आजसम्म बनेकोमा पश्चाताप गर्दै पुनः देश र जनताको लागि देशको राष्ट्रियता र स्वाभिमानको लागि जनता सामु माफी मागी जाँदा राम्रो हुनेछ ।
अब पनि जीवनको अन्तिम उत्तरार्ध खाली पद, प्रतिष्ठा र कुर्सीकै लागि मरिहत्ते गर्न पट्टी नलागी देश र जनताको हित, राष्ट्रियता र स्वाभिमानको पक्षमा एक भई जान कांग्रेस, एमाले र नेकपाका वृद्ध नेता देउवा, ओली, प्रचण्ड, माधव, झलनाथ आदि सबैलाई सुझाव छ । अहिले मुख्य चुनावी नारा देश खरानी बनाउने कि देश बनाउने मात्रै होइन । देशको राष्ट्रियता र स्वाभिमान बचाउने कि देशको अस्तित्व नै सखाप पार्ने राष्ट्रघातीहरुबाट देशलाई बचाउने पनि हो ।




