पाल्पा
राणाकालीन समयदेखि सञ्चालनमा रहेको पाल्पा अस्पतालमा भौतिक पूर्वाधार अभावको कारण सेवा प्रवाहमा कठिनाइ भएको छ । अस्पताल मापदण्डअनुसारको पूर्वाधार नहुँदा सेवा लिने बिरामी तथा सेवा दिने चिकित्सक स्वास्थ्यकर्मीका लागि उपचारमा कठिनाइ भएको छ । पाल्पा अस्पतालमा दैनिक करिब ६ सयसम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको संख्या दिनहुँ बढ्दै गए पनि अस्पतालको पुरानो भौतिक संरचना स्तरोन्नति नहुँदा सेवा प्रवाहमा दिनहुँ कठिनाइ बढ्दै गएको छ ।
राणाकालीन समयमा निर्माण गरिएको पाल्पा अस्पतालको भवन र कोठाहरू निकै जीर्ण भएका छन् । अस्पताल भवनको अधिकांश स्थान टाल टुल, गरेर दैनिक कामकाज चलेको छ । अस्पताल भवनको अधिकांश भाग भत्किएर पानी चुहिन्छ । पानी चुहिएको स्थानमा त्रिपाल तथा कार्पेट टाँसेर गुजारा चलाइएको छ । औषधि राख्ने फार्मेसी तथा स्टोरमा पानी चुहिने गरेको छ । औषधि स्टोरमा पानी चुहिएकै कारण कयौ औषधि बिग्रिएर फालिएको अवस्था देखिन्छ । अस्पतालमा मापदण्डअनुसारको भौतिक पूर्वाधार नहँुदा सबैपक्षलाई काम गर्न असहज भएको छ । अस्पतालमा सेवा सुधारसँगै बिरामी बढे पनि चिकित्सकले मापदण्डअनुसारको उपचार सेवा दिन सकेका छैनन् ।
जनताको आवश्यकता र मागको आधारमा अस्पताल व्यवस्थापन समिति तथा चिकित्सकले उपचारका सेवा तथा प्रकार बढाएपछि बिरामीको चाप धान्न चिकित्सकहरुलाई धौधौ भएको छ । अस्पतालको भवन मापदण्डअनुसार नभएको, बिरामी परीक्षण गर्ने कोठाहरु राम्रो र पर्याप्त नभएको, टिकट काट्ने काउण्टरदेखि उपकरण राख्ने स्थान अभाव भएको, बिरामी बस्ने तथा पालो कुर्ने स्थान समेत पर्याप्त नभएको, साँघुरो भवनको कारण उपचार गर्न पुगेका बिरामीहरु समेत उकुस मुकुसमा पर्ने गरेका छन् ।
अस्पतालमा भवन अभाव हुँदा नत बिरामीले मापदण्डअनुसारको सेवा पाएका छन्, नत चिकित्सकले मापदण्डअनुसार बिरामीको परीक्षण गर्न पाएका छन्, तत्काल भवन निर्माण भएका निजी क्षेत्रले दिने विशेषज्ञ सेवा समेत पाल्पा अस्पतालमा आउने र पाल्पा गुल्मी, अर्घाखाँची र स्याङ्जाका बिरामीले सहज रुपमा सेवा पाउने तानसेन नगरपालिका वडा नं. ६ का मनोहरलाल शाक्यले बताए ।
पछिल्लो सयम पाल्पा अस्पतालमा उपचार सेवा गुणस्तरीय र भरपर्दाे बन्दै गएको छ । अहिले पाल्पा अस्पतालले विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्दै आएको छ । पाल्पा अस्पतालले हाडजोर्नी, स्त्रि रोग, आँखा, दाँत तथा कल्चर ल्यावसहित विशेषज्ञ उपचार सेवा दिँदै आएको छ । अस्पतालका चिकित्सकहरु माइनर अपरेसन सेवा सञ्चालनमा जुटेका छन् । लामो सयमदेखि पाल्पा अस्पतालबाट सेवा लिँदै आए पनि चिकित्सकहरुलाई बिरामी चेक जाँच गर्ने पर्याप्त कोठा नहुँदा बिरामी र चिकित्सक दुबै पक्षलाई कठिनाइ भएको सर्वसाधारणको बुझाइ रहेको छ ।
पाल्पा अस्पतालको मुख्य समस्या भनेकै व्यवस्थित आधुनिक अस्पताल भवन नहुनु नै हो । एकै ठाउँमा पाँच छ जना चिकित्सक बसेर बिरामीको चेकजाँच गर्दा बिरामी र चिकित्सक दुबैलाई अफ्ठेरो परेको छ । चिकित्सकले बिरामीको पूर्ण अवस्था चेकजाँच गर्ने ठाउँको अभाव छ । अस्पतालमा भिडभाडकै कारण बिरामीले आफ्नो पूर्ण समस्या खुलाएर भन्न सक्दैन, कोही मानसिक बिरामी हुन्छ, तिनीहरुको लागि त झन पूर्वाधार अभावले उपचार सेवा दिन चिकित्सकहरुलाई समस्या परेको छ । चिकित्सकले अस्पतालमा आएका बिरामीलाई समय दिएर जाँच गर्न चाहन्छौँ, तर ठाउँकै अभावले त्यो सम्भव हुँदैन । गोपनीयता कायम गर्न नसक्दा उपचारमा समेत प्रभाव परेको पाल्पा अस्पतालका चिकित्सक विपिन पौडेलले बताए । पाल्पा अस्पतालमा १६ वटा विभाग र मेडिकल सुपरिटेण्डनसहित ६४ जना विषय विशेषज्ञ चिकित्सक सरकारी कर्मचारीको दरबन्दी रहेको छ । सरकारी दरबन्दीअनुसार एक जना मेडिकल सुपरिटेण्डन बाहेक अन्य विषय विशेषज्ञ चिकित्सकहरु दरबन्दी खाली रहेको छ । हाल करार, छात्रवृत्ति गरी ५ जना चिकित्सकले विशेषज्ञ सेवा दिएका छन् ।
अस्पताल व्यवस्थापन समितिले समय सुहाउँदो जनशक्ति र सेवा विस्तार गर्न चाहँदा पनि भवन अभावको कारण रोकिएको छ । विगतका वर्षहरुमा पाल्पा अस्पताललाई रिफर सेन्टरको रुपमा चिनिन्थ्यो । पछिल्लो समयमा ७० प्रतिशत बिमाका बिरामीको उपचार पाल्पा अस्पतालमै हुने गरेको छ । अस्पतालमा कार्यरत चिकित्सकहरू पनि पूर्वाधार अभावले उपचार सेवा दिन कठिन भएको बताउँछन् । ‘म मेडिकल सुपरिटेण्डन मात्र होइन, हाडजोर्नी विशेषज्ञ भएर पनि भवन अभावको कारण हाडजोर्नी विशेषज्ञ युनिट सञ्चालन गर्न सकेको छैन । अन्य विशेषज्ञ सेवा सञ्चालनको लागि पनि पूर्वाधार अभाव रहेको छ ।’–अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र पौडेलले भने ।
दैनिक ६ सयसम्म बिरामी आउने पाल्पा अस्पताल पुरानो राणाकालीन संरचनाले थेग्न सकेको छैन, लुम्बिनी प्रदेशका ११ वटै जिल्ला अस्पतालमा अप्रेसन सेवा सञ्चालन भए पनि पाल्पा अस्पतालमा भवन अभावकै कारण अप्रेसन सेवा सञ्चालन हुन सकेको छैन । पाल्पा अस्पतालमा आवश्यक भवन र कोठाको व्यवस्था नहुँदा दरबन्दीअनुसारको विशेषज्ञ सेवा समेत सञ्चालनमा कठिनाइ भएको छ । विशेषज्ञ सेवा नै सञ्चालन नभएको स्थानमा अन्य स्थानमा काम गरिरहेका विशेषज्ञ चिकित्सकहरु समेत पाल्पा अस्पतालमा काम गर्न आउन नखोज्ने अवस्था रहेको अस्पताल प्रशासन प्रमुख डोमराज अर्यालले बताए ।
पाल्पा अस्पताल विकास समितीले प्रदेश र केन्द्र सरकारसँग अब एउटै माग गरेको छ, हामीलाई ५० बेड मापदण्डको भवन दिए पुग्छ । अस्पतालको राणाकालिन भवनको छत चुहिन्छ, अधिकांश भवनका भागहरु भत्किएका छन् । अस्पतालको बिरामी जाँच्ने कोठादेखि औषधि भण्डारण गर्ने स्टोरसम्म भवनको छत भत्किएर पानी चुहिने गरेको छ । जसको कारण स्टोरमा राखिएका औषधिहरु बिग्रने गरेका छन् । पाल्पा अस्पतालले प्रदान गर्ने सबै खाले उपचार सेवा एउटै भवनबाट उपलब्ध गराउने व्यवस्थापन समितिले भवन निर्माणको लागि पहल गरेको छ ।
अस्पतालको ८ रोपनी जग्गामा एक्काइसौ शताब्दीको सुविधा सम्पन्न बहुतले, बहुउद्देश्यीय भवन निर्माणका लागि प्रदेश र केन्द्र सरकार कानुनी जटिला फुकाउन लागिपरेको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताए । लुम्बिनी प्रदेश सरकारबाट पहाडी क्षेत्रमा १२ रोपनी जग्गाबाट, ८ रोपनी क्षेत्रफलमा ५० बेडको अस्पताल निर्माण गर्न सकिने कानुन पास भएकोले पदेशबाट विनियोजन भएको १ करोड ५० लाख रुपैयाँबाट डीपीआर निर्माण गरी आगामी वर्षबाट अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण सुरु गर्न लागिपरेको अस्पताल विकास समितिका अध्यक्ष कर्माचार्यले बताए । यसअघि अस्पताल भवन निर्माणको लागि पटक–पटक करोडांै बजेट आए, तर कानुनी जटिलाको कारण जग्गा उपलब्ध नहुँदा बजेट फिर्ता जाने गरेको छ । अस्पताल व्यवस्थापन समितिले जनशक्ति र सेवा विस्तार गर्न चाहँदा पनि भवन अभावको कारण रोकिएको छ ।
राणाकालीन संरचनामै सीमित पाल्पा अस्पतालमा देखिएको यो अवस्था सुधार नहुँदासम्म सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य उपचार सेवा चुनौतीपूर्ण बन्दै गएको छ । लुम्बिनी प्रदेश सरकारले जग्गाको कानुनी अवस्था समाधान गरी, भवन निर्माण प्रक्रिया बढाएपछि मात्र पाल्पा अस्पताललाई दिगो रुपमा सञ्चालन गर्न सकिने छ ।




